
जनकपुर । तराई मधेसमा मंगलबारदेखि छठपर्व सुरु हुँदैछ । हिन्दू र मुस्लिमहरु दुवै धर्मावलम्वीहरुले यो पर्व मनाउने गर्दछन् । छठ पूजा निजिकिदै गर्दा पवित्र नदी तथा तलाउका घाटहरुलाई आकर्षक रुपले सजिसजाउ बनाउने कार्यलाई तिब्रता दिइएको छ । घर नजिकैको पोखरी, नदी किनार सफा गरी झकिझाउ बनाइएका छन् ।




छठ पर्वको पूर्वसन्ध्यामा पूजा सामग्रीहरुको बिक्री ह्वातै बढेको छ । यस लौकिक पर्वमा केला, नरिवल, ऊखु, सुन्तला, निवुवा, वेसार, चामल र गहुँको आँटा तथा गुंडबाट निर्मित ठकुवा, भुसुवा, पिरुकिया, गुणालगायतका पारम्परिक परिकारहरु प्रसादको रुपमा चढाइन्छ । पूजा सामग्रीहरु स्थानीय स्तरमा निर्मित माटाको भाडो तथा बाँसको टोकरी, कनसुपती आदिमा राखेर पूजा स्थलसम्म पु¥याइने हुँदा यी सामानहरुको बिक्री अत्यधिक बढेको छ । माटाका भाडा कुडा निर्माण गर्ने कुमाल तथा बाँसका सर समान बनाउने डुमहरु अचेल व्यस्त बनेका छन् । छठ महापर्वमा केराको प्रयोग अत्यधिक मात्रामा हुने गर्दछ । केरा, नरिवल लगायतका पूजा सामग्रीको आपूर्ति पूर्वी नेपालको भन्टावारीसंगै भारतको असाम, पटना, मोकामा, हांजीपुर तथा बिरपुरलगायतका सहर हुने गरेको छ ।
मंगलवार नुहाएर खाएसँगै चार दिवसीय छठ महापर्व विधिवत सुरु हुन्छ । शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठम्हापर्व सम्पन्न हुन्छ । व्रतालुहरुले मंगलबार पवित्र जलाशयहरुमा नुहाएर चोखो खानेकुरा खाने गर्छन् । जसलाई नहाय खाय भनिन्छ । पर्वको दोश्रो दिन बुधवार व्रतालुहरुले दिनभरि उपवास बसी राती गुलीयो पूडी, खीर, नून नहालेको तरकारी खाने गर्छन् । जसलाई स्थानीय भाषामा ‘षडना’ भनिन्छ । षडना पछि निराहार व्रत बस्ने व्रतालुहरुले विहीबार संझुका अघर््य अर्थात् सन्ध्याकालीन सूर्य पूजा गर्छन् र शुक्रबार विहान सूर्योदयसंगै विहानको अर्घ दिएपछि यो पर्वको समापन गरिने प्रचलन रहीआएको छ ।
तराई मधेसका विराटनगर, इटहरी, सप्तरीको राजविराज, लहान, जनकपुर, विरगंज, नेपालगंज लगायतका स्थानमा छठपर्वको रौनक बढेको छ ।