झर्रोटर्रो : नेकपा (साठी–चालिस)

झर्रोटर्रो : नेकपा (साठी–चालिस)

नेपाल मण्डलका ठूला भनिएका कम्युनिस्ट दलहरूले एउटै कम्युनिस्ट दल बनाउने निधो गरे । केही महिना अगाडि सम्पन्न भएको स्थानीय तहको चुनाउमा पहिलो दल बनेको नेकपा सूर्यछाप र तेस्रो बनेको नेकपा गोलघेरेका बिचमा दल एकता गर्ने सहमति भयो । उक्त सहमति ती दुबै दलका लाउकेहरू उखानप्रसाद र मिस्टर सुप्रिमोले गरे । स्थानीय चुनाउका मितिसम्म जारभतार जस्तो व्यवहार गरेका दलहरू एकाएक आकासै खसेजस्तो गरी मितेर सम्वन्धमा गाँसिए र दल एकता गर्ने निधोमा पुगे । दाइ काले म पनि काले, कालेकाले मिलेर खाऊँ भाले । यसलाई मिस्टर सुप्रिमोले निरन्तरतामा क्रमभङ्ग भनेर सुप्रिमोपथको परिभाषालले ड्याम्म लाहाछाप हाने । अगाडितिरको यात्रा भए पनि पछाडितिरको यात्रा भए पनि क्रमभङ्ग त भएकै हो । निरन्तर एउटै बाटोमा हिँड्ने उनको रुची नै हुँदैन र छैन । कहिले दायाँ कहिले बायाँ क्रमभङ्ग गरिहाल्छन् । यो उनको माक्र्सवादी प्रयोग हो । आफ्नो सो¥याक अनुसार क्रमभङ्ग गर्ने ।

हिज जनयुद्ध सुरु गर्नेबेला उनले नेकपा सूर्यछापलाई प्रतिक्रियावादी भनेर लाहाछाप लगा’थे । ऊ त्यसयता निरन्तर एउटै बाटोमा हिँडेको छ । अहिले पनि आफ्नो बाटोमा ऊ टसको मस छैन । तर मिस्टर सुप्रिमोले त्यतिबेला संसदलाई सुँगुरको खोर भने र संसदीय व्यवस्थालाई कुकुरको मासु बेच्ने काइदाको पसल भनेर त्यसबाट क्रमभङ्ग गर्दै जनयुद्धमा हाम्फाले । त्यसपछि क्रमभङ्ग गरेको ग¥यै गरेर दस बर्स जनयुद्ध चलाए । त्यहाँ पनि टाइम टाइममा क्रमभङ्ग गरिराखे । कसैलाई लिनप्याओवादी भनेर कसैलाई भारतीय दलाल भनेर कसैलाई उग्रवादी भनेर कारवाही गर्दै क्रमभङ्ग गरे । केन्दीय समितिमा बढुवा गर्ने पुरानो तरिकामा पनि क्रमभङ्ग गरेर नयाँ नयाँ तरिका लागू गरे । आफ्ना हनुमान हुने खालकालाई जिल्लातहबाटै चिलले चल्ला टिपेझैँ ट्याप्प ट्याप्प टिपेर माथि ल्याए, माथि भएकालाई तल झारे । यसरी क्रमभङ्ग गरिराखे । आफू गुजराती भैय्याको हिन्दूस्तानी मुलुकका ठूलाठूला सहरमा क्रमभङ्ग गर्दै बसे र यता जनयुद्धमा ठूलाठूला फौजी कारबाही गर्न अह«नखटन गरे । उतै बसेका बेला पञ्जाबी भैय्याले क्रमभङ्ग गर्दै नेतालाई समाउँदै भ्mयालखानामा कोच्दै गर्न थालेपछि मिस्टर सुप्रिमो थुरथुर काँप्दै कट्टुमा तुक्र्याउँदै क्रमभङ्ग गरे र आफ्नै मुलुकतिर छिरे । भित्र छिर्न मात्रै के पा’थे नारानहिटीका बाबुसावले क्रमभङ्ग गरेर ठोकी हाले । त्यसपछि फेरि पञ्जाबी भैय्यालाई बिन्तभाउ गर्दै आफैँले शत्रु भनेका चारतारे र सूर्यछापलाई पञ्जाबी भैय्याका मुकामतिर बोलाएर निरन्तरतामा क्रमभङ्ग गर्दै मितेरी गाँसे र छलाङ हाने ।

सत्ता नल्याइकन हतियार नबिसाउने भन्दै जनयुद्ध लडेका मिस्टर सुप्रिमोले सातसमुन्द्र पारीका खैरे कुइरेलाई बोलाएर जमुसेलाई उनैका जिम्मा लाइदिए । ब्यारेकमा बसेका जमुसेलाई सरकारी ढुकुटीबाट पैसा झिकाएर ठुसठुसी गन्हाउने गरी डकार्न लगाएर क्रमभङ्ग गरे । कमाण्डरलाई पैसाले किनेर उनीहरूलाई दलाली र तस्करी गर्न सिकाएर क्रमभङ्ग गरे । अहिले आएर जनयुद्धलाई टुकुचामा सेलाएर बुर्जुवा संविधान बनाउँदै क्रमभङ्ग गरेर जनवादको घोषणा गरे । अबको क्रमभङ्गले त दस बर्समा साम्यवादै ल्याउने उनको घोषणा छ ।
यतिखेर नेकपा सूर्यछाप र नेकपा गोलघेरका बिचमा एकताको न्वारान गरेर नेकपा (साठी–चालिस) मा क्रमभङ्ग भएको छ । एकतामा आएको अर्को गोरखाली डाक्सावको दल नयाँशक्तिले भागबण्डा नमिलेपछि फेरि क्रमभङ्ग गर्दै ठुस्किएर अलग बाटो तताए । यसले सुप्रिमोलाई हाइसन्च भयो । उनलाई चालिसे भाग पक्का भयो । अब यो साठी–चालिस मिस्टर सुप्रिमो र उखानप्रसादको अस्तित्व रहँदासम्म लागू हुने छ । जसरी चारतारे दलमा यो नियम लागू छ ।

अब सुप्रिमो र उखानप्रसाद एउटै भएपछि दल त एउटै भैगयो । गुट भने स्थायी रूपले आआफ्नै हुने छन् । तिनै गुटमा साठी–चालिसे बिलोको नीति लागू हुने छ । अहिले यो नियम चुनाउको सिट बाँडफाँडमा लागू हुने छ । पछि सरकार बनाउँदा, दलका अधिवेसनमा नेता छान्दा यहि सूत्र अनुसार छानिने छन् । सुप्रिमो गुटले चालिसे बिलो र उखानप्रसाद गुटले साठीको बिलो सदासर्वदा पाउने छन् । त्यसैले यो दलको नाम पनि एकतापछि नेकपा साठी–चालिस हुने छ । यसरी हरेक क्षेत्रमा साठी–चालिसको बिलो छुट्याएपछि आआफ्ना गुटतर्फका उपगुटमा बिलो छुट्याउँदै जानुपर्ने छ । उता उखानेतिरका उपगुटमा इलामे पूर्व प्रम, रौतहटे पूर्व प्रम, प्युठाने उपप्रम आदि उपगुटतर्फ साठीको बिलो बाँडिने छ भने यता सुप्रिमोतिरका काजीसाप, लिनप्याओवादी, नयाँ शक्तिवाला, मधेशी, जनजाति आदि इत्यादि उपगुटमा चालिसको बिलो बाँडिने छ । यसरी नेपाल मण्डलमा जनवाद र समाजवाद पूरा हुने छ र मिस्टर सुप्रिमोले नेपालगञ्जबाट घोषणा गरेको साम्यवादतिर क्रमभङ्ग हुने छ । यो हो अहिलेको नयाँ र विकसित एवम् पृथ्वी मण्डलकै उच्च ठाउँबाट उदाएको माक्र्सवाद । माक्र्सले पृथ्वी मण्डलमै समाजवाद आएपछि साम्यवादमा पुग्ने कुरो गरेका थिए । त्यो बासी र जड्वत सिद्धान्त भएकाले उनले भनेको साम्यवाद नआउने कुरा पक्का छ । त्यसैले साम्यवाद पनि नयाँ प्रकारको हुने भएको छ । यो हो सुप्रिमोपथको नयाँ आविष्कार । एउटै मुलुकको पनि एउटै दलको पनि निश्चित लाउकेहरूका घरमा आउने साम्यवाद ।

यसरी क्रमभङ्ग हुँदै छलाङ मारेर आएको साम्यवादले पुराना विचार विस्थापन गरेर अब सुप्रिमोवादमा पुग्ने छ । माक्र्सवादका तीन सङ्घटक अङ्ग जस्तै सुप्रिमोवादका पनि छन् । सुप्रिमोवादको दर्शन भनेको छलाङको दर्शन हो । यसले जतातिर पनि छलाङ हान्न सिकाउँछ । क्रान्तिकारी धारबाट प्रतिक्रियावादी धारमा छलाङ । वामबाट दक्षिणमा छलाङ । दक्षिणबाट पश्चिममा छलाङ । त्यसपछि साम्राज्यवाद र विस्तारवादको टाङ मुनि छलाङ । यो हो सुप्रिमो दर्शन । त्यस्तै राजनीतिक अर्थशास्त्रको छेत्रमा सुप्रिमोपथले गरेको विकास दलाली अर्थशास्त्र हो भने समाजवादको क्षेत्रमा गरेको विकास भनेको एउटै देशको एउटै दलको निश्चि लाउकेहरूका घरघरमा आउने साम्यवाद । उनले अब नेपाल मण्डलमा दस बर्समै साम्यवाद आउने घोषणा गरिसकेका छन् । जय सुप्रिमोवाद ।
२९ असोज २०७४

kailubraha73@gmail.com