काठमाडौं, ३० । काभ्रेमा स्वाइन फ्लुबाट एक जनाको मृत्यु भएको छ । पनौती–७ की ४० वर्षीय चाँदनी नेवाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अस्पतालको इन्टर्नल मेडिसिनका प्रमुख डा. राम गुरुङले स्वाइन फ्लुबाट विरामीको मृत्यु भएको पुष्टी गरे ।
रुघाखोकी र ज्वरो आएपछि भदौ २४ गते उनी अस्पताल भर्ना भएकी थिइन् । डा. गुरुङका अनुसार, नेवाको स्वास्थ्यस्थिति नाजुक भएका कारण सिधै सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरिएको थियो । शंका लागेर प्रयोगशाला परीक्षण गर्दा स्वाइन फ्लु भएको पुष्टी भएको गुरुङले जानकारी दिए ।
स्वाइन फ्लुका कारण मृत्यु भएको काभ्रेमा यो दोस्रो घटना हो । जिल्ला स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. अर्जुन सापकोटाका अनुसार, पहिलोपटक जिल्लामा पाँचखाल १२ की ठूली दनुवारको मृत्यु भएको थियो ।
खोक्दा, हाच्छ्यिु गर्दा हावाको माध्ययमबाट सर्ने यो रोगमा रुघाखोकीको जस्तै लक्षण देखिन्छन् । उनले सामान्य रुघाखोकी भनेर हेल्चेक्र्याइँ नगरी स्वास्थ्यसंस्थामा स्वास्थ्य परीक्षण गर्न सल्लाह दिए । उनले रोग फैलन नदिन सतर्कता अपनाइसकेको जानकारी दिए ।