यो हो क्युवाली क्रान्तिबाट लिनुपर्ने महत्वपूर्ण शिक्षा

यो हो क्युवाली क्रान्तिबाट लिनुपर्ने महत्वपूर्ण शिक्षा

 

संयुक्त राज्य अमेरिकाको नाकैमुनी रहेको क्युबामा सन् १९५९ जनवरी १ तािरखका दिन क्रान्ति सम्पन्न भएको थियो । क्युवाली क्रान्तिको नेतृत्व फिडेल क्यास्ट्रो र चे ग्वेभाराले गरेका थिए । फोकोवादमा आधारित सशस्त्र संघर्षद्वारा गाउँदेखि सहरिया सत्ता कब्जा गर्ने नीति अनुसार क्युवाली क्रान्तिको सफलताले विश्वमा दादागिरी मच्चाई रहेको अमेरिकी साम्राज्यवादलाई एक थप्पड दिएको थियो भने विश्वभरका सर्वहारा क्रान्तिकारीहरुका बिचमा क्रान्तिको आशावादमा रक्तसंचार गरेको थियो । संयुक्त राज्य अमेरिकाको नाकैमुनी रहेको क्युबामा सन् १९५९ जनवरी १ तािरखका दिन क्रान्ति सम्पन्न भएको थियो । क्युवाली क्रान्तिको नेतृत्व फिडेल क्यास्ट्रो र चे ग्वेभाराले गरेका थिए । फोकोवादमा आधारित सशस्त्र संघर्षद्वारा गाउँदेखि सहरिया सत्ता कब्जा गर्ने नीति अनुसार क्युवाली क्रान्तिको सफलताले विश्वमा दादागिरी मच्चाई रहेको अमेरिकी साम्राज्यवादलाई एक थप्पड दिएको थियो भने विश्वभरका सर्वहारा क्रान्तिकारीहरुका बिचमा क्रान्तिको आशावादमा रक्तसंचार गरेको थियो । 

क्युवा मध्य अमेरिकाको क्यारेवियन द्वीप समूह मध्येको एक ल्याटिन अमेरिकी राज्य हो । यो क्यारेवियन र उत्तर एटलान्टिक महासागरमा अवस्थित टापु राज्य हो । क्युवाको राजधानी हवाना हो । यसको क्षेत्रफल १,१०,८६० वर्गकिलोमिटर रहेको छ । क्युवा अमेरिकाको फ्लोरिडा राज्यभन्दा ८० किलोमिटर टाढा छ । सन् २००८ जुलाइमा भएको जनगणना अनुसार क्युवाको जनसंख्या १,१४,२३,९५२ रहेको छ । क्युवा सन् १९०२ मे २० मा स्पेनको उपनिवेशाबट स्वतन्त्र भएको थियो । 

क्युवाको क्रान्ति (Cubian Revolution)सन् १९५९ मा सम्पन्न भएको क्रान्ति हो । विश्व कम्युनिस्ट आन्दोलनमा यस क्रान्तिलाई क्युवाली क्रान्ति भनिन्छ । क्युवाली क्रान्तिको नेतृत्व फिडेल क्यास्ट्रो र चे ग्वाभाराले संयुक्त रुपमा गरेका थिए । अमेरिकाको अत्यन्तै निकट रहेको यो क्रान्ति विश्वका लागि अत्यन्त महत्वपूर्ण घटना मानिन्छ । यो क्रान्तिको सुरु ८२ जना क्रान्तिकारीहरुले तानाशाह बाटिस्टाको सुसज्जित सेनासँग लड्न सुरु गरेर सफलता हासिल गरेको यो आफ्नै किसिमको रणनीतिमा सम्पन्न भएको क्रान्तिको रुपमा लिइन्छ । क्युवाली क्रान्ति सुरु गरिएको तीन वर्ष भित्रै सफल भएको थियो । यस क्रान्तिमा किसानहरुले महत्वपूर्ण भूमिका निभाएका थिए । स्मरण रहोस् सन् १९५६ मा मध्यल्याटिन अमेरिकी देश क्युवा तानाशाह बाटिस्टाको अमेरिकी समर्थित सरकारको कुशासन, जनघात, राष्ट्रघातका विरुद्ध यो क्रान्ति प्रारम्भ गरिएको थियो । विरोधिहरुलाई निर्मम दमन गरिने हुँदा बाटिस्टा तानाशाही सरकारप्रति जनता आक्रोसित थिए । यसै अवस्थामा अल्वाटोयाबोले सहयोग गरि गुरिल्ला प्रशिक्षण सुरु गरि क्रान्तिको योजना लागु गर्ने काम फिडेल क्यास्ट्रो र चेग्वभाराद्वारा भएको थियो । यी विद्रोही गुरिल्लाहरुलाई सरकारले पक्राउ गरेको थियो । तर जेलमुक्त भएपछि पुनः सक्रिय भै आन्दोलनलाई अगाडि बढाउन थालियो । यसै क्रममा सरकार र गुरिल्लाहरुबीच सन् १९५७ देखि देशका विभिन्न ठाउँमा मुडभेड सुरु भयो । एकपछि अर्को सफलता प्राप्त हुँदै गए । ग्रामीण इलाकाहरुमा आधार इलाकाहरु निर्माण गरेर  जनसत्ताहरु सञ्चालन गरियो । ग्रामीण इलाकाहरुबाट क्रान्तिकारी वैकल्पिक सरकार निर्माण गरेर मुलुकलाई जनसत्ताले चारैतिरबाट घेर्ने र सत्रुलाई गाउँबाट निकालेर सहरतिर खेद्ने अभियानलाई तीब्र रुपमा अगाडि बढाइयो । मुलुकका सम्पूर्ण गाउँहरु शत्रुबिहीन बनाउदै लगियो । 

गाउँबाट सहरतिर आधार इलाकाहरु निर्माण र त्यस पछि लाखौं युवाहरुलाई गुरिल्लामा भर्ती गराइयो । भीषण गुरिल्ला युद्ध सुरु गरि सन् १९५८ को अगस्ट देखि अन्तिम युद्ध सुरु गरियो । सन् १९५९ जनवरी १ तारिखका दिन राजधानी हवाना कब्जा गरेपछि क्युवाको क्रान्ति सफल भयो । र, त्यसपछि फिडेल क्यास्ट्रोको नेतृत्वमा जनवादी सरकार गठन गरियो । सम्पूर्ण बैंक र वित्तीय संस्थाहरू, जेल, ब्यारेक र एयरपोर्ट तुरुन्तै कब्जा गरियो । दलाल, नोकरशाह, पुँजीपति र सामन्त वर्गसँग रहेको जमिन र सम्पूर्ण सम्पत्ति जफत गरेर राष्ट्रियकरण गरियो । जनतालाई मुक्त गरेर मुलुकको मालिकमा परिणत गरियो । राजधानी क्युवामा कम्युनिस्ट पार्टीको लाल झण्डा फहराईयो । साथै क्रान्तिको विजयको झण्डा पनि सगौरव हवानामा फहराइयो । र कम्युनिस्ट लाल सत्ता कायम गरियो । हवानामाथि कब्जा क्युवाली क्रान्तिको अन्तिम विजय थियो । 

राजधानी हवाना कब्जा गर्नु भन्दा पहिले मुलुकका तीनवटा मुख्य सहर सान्ताक्लारा, क्यामागुये र सान्टियागो शहर समेत कब्जा गरिएको थियो । यसरी क्युवाली छापामारहरुले सम्पूर्ण देशलाई मुक्त गरेका थिए । र क्युवाली क्रान्ति सफल भएको घोषणा गरिएको थियो । अनि क्रान्ति सफल भयो र क्युवाली जनताको मुक्तिको चाहना, स्वतन्त्रता र समानता प्राप्त गर्ने चाहना । क्युवाली जनताको यो सफलताले देशभरी उत्साह र उग्र उत्तेजनाको लहर फैलिनु स्वाभाविक थियो, त्यो भयो त्यहाँ ।  यति महान क्युवाली क्रान्तिलाई तीन वर्षकै बिचमा सफलतामा पु¥याउन नेतृत्व गर्ने फिडेल क्यास्ट्रो र चे ग्वेभाराहरु को थिए ? यो साहसी, निडर, देश, जनता र क्रान्तिप्रति प्रतिबद्ध, लडाकू व्यक्तिहरु को थिए ? तिनीहरुलाई चिन्न र जान्न आवश्यक छ र उनीहरुबाट पनि महत्वपूर्ण शिक्षा ग्रहण गर्न जरुरी छ । उनीहरुका बारेमा यहाँ छोटो चर्चा गर्न आवश्यक हुन्छ नै । 

फिडेल क्यास्ट्रो (Fidel Castro) क्युवाली क्रान्तिका महानायक समाजवादी नेता क्युवाको क्रान्ति पछिको जनवादी गणतन्त्र क्युवाको पहिलो राष्ट्रपति भएका थिए । उनको जन्म सन् १९२६ अगस्ट १३ तारिखका दिन Biran Holguim Province Cuba मा भएको थियो । सन् १९४८ मा Mitra Diaz Balart सँग विवाह भएको थियो । उनले हवाना विश्वविद्यालयमा कानुनको अध्ययन गर्दा खेरी नै वामपन्थी विचारबाट प्रेरित भई क्रान्ति र विद्रोहको राजनीति सुरु गरेका थिए । २० मार्च १९५६ मा अमेरिकाको पिठ्यु बाटिस्टाले क्युवाको सत्ता कब्जा गरेपछि यसका विरुद्ध विद्रोह र क्रान्ति सुरु गरि सन् १९५९ मा क्रान्ति सम्पन्न गरेका थिए । चे ग्वेभाराको सहयोगीका रुपमा र क्रान्तिका योद्धाका  रुपमा  उनी क्रान्ति सम्पन्न भएपछि क्युवाको पहिलो राष्ट्रपति र प्रधानमन्त्री समेत भएका थिए । अमेरिकाको व्यापक दबाब र नाकाबन्दी रहेको अवस्थामा पनि आफ्नो मुलुकको रक्षा गरि समाजवादको निर्माण गर्ने काममा क्यास्ट्रोले जीवनभर संघर्ष गरेका थिए । 

लामो विरामीपछि २००६ को जुलाईदेखि उनले आफ्नो कार्यभार आफ्ना भाई राहुल क्यास्ट्रोलाई हस्तान्तरण गरेका थिए । अमेरिकी साम्राज्यवादका सामु कहिल्यै नझुकेका क्युवाली क्रान्तिका नायक र समाजवादका निर्माणकर्ता फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा सन् २०१६ नोभेम्बर २५ का दिन मृत्यु भएको थियो । 

क्युवाली क्रान्तिका अर्का वीर योद्धा अर्जेन्टिनामा जन्मेका र क्युवाली क्रान्तिका नेता तथा जनवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ भनी आजीवन क्रान्तिमा नै समर्पित हुने महान् क्रान्तिकारी विचारक र सिद्धान्तकार व्यक्तित्व अर्नेस्टो चे ग्वभारा हुन् । उनको जन्म सन् १९२८ जुन १४ तारिखका दिन शेसारियो अर्जेन्टिनामा भएको हो । 
छापामार रणनीतिका उत्प्रेरक तथा विश्वका महान क्रान्तिकारी चे ग्वेभाराले ल्याटिन अमेरिकी मुलुकमा छापामार युद्धद्वारा साम्यवादी क्रान्ति सम्पन्न गर्ने नवीनतम धारा सुरु गरेका थिए । उनले युद्ध र  क्रान्तिका लागि वस्तुगत परिस्थिति निर्माण नभइसकेको अवस्थामा पनि छापामार युद्धद्वारा साम्यवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने सिद्धान्त प्रतिपादन गर्नुका साथै क्युवामा क्रान्ति सफल गरी समाजवादी राज्य स्थापना गर्ने काममा क्युवाली क्रान्तिकारीहरुलाई साथ दिएका थिए । क्रान्तिको सफलतापछि क्युवाली सरकारले उनलाई नागरिकता प्रदान गरेको थियो र शिक्षा मन्त्री समेत नियुक्त गरेको थियो । तर विश्व क्रान्तिको सपना बोकेका चे ग्वेभाराले क्युवाको नागरिकता र शिक्षामन्त्रीको पद त्यागेर विश्व क्रान्तिलाई अगाडि बढाउने महान उद्देश्यका साथ उनले बोलिभियामा छापामार युद्ध सुरु गरेका थिए । तर अमेरिकी गुप्तचर विभाग CIA का गुप्तचरहरुद्वारा त्यहाँका क्रान्ति विरोधीहरुसँग सम्पर्क कायम गरी सन् १९६७ अक्टुबर ९ तारिखका दिन बोलिभियाको जंगलमा चे ग्वेभाराको हत्या गरिएकोथियो ।           

चे ग्वभाराले जनताबीच रहेर छापामार युद्ध संचालन गर्ने जनयुद्धको तरिका भन्दा भिन्न प्रशिक्षित छापामारहरुबाट क्रान्ति सम्पन्न गर्नु पर्दछ र एउटा मुलुकमा मात्र क्रान्ति सीमित नराखी विश्वका विभिन्न मुलुकहरुमा फैलाउँदै जानुपर्छ भनी सिद्धान्त र व्यवहारलाई अनुवाद गरेकाले उनलाई महान् क्रान्तिकारीको रुपमा लिइन्छ । उनको विचारलाई सन् १९६७ मा सेन्टियागो सम्मेलनले स्वीकार गरे पछि क्रान्तिकारी कम्युनिस्टहरुको यो सैद्धान्तिक रणनीतिक सिद्धान्त पनि बनेको छ । 

कुशाग्र बुद्धिका धनी चेले चिकित्साशास्त्र अध्ययन गरेर डाक्टर बनेका थिए । पुँजीवाद समाप्त भई साम्यवाद स्थापना हुने कुरामा विश्वस्त थिए अर्नेस्टो चे ग्वेभारा । उनको विचारमा जनताको सेनाले प्रतिक्रियावादी सरकारको नियमित सेनालाई हराउन सक्छ र क्रान्तिका लागि परिस्थितिको आवश्यकता पर्दैन भन्ने विचार थियो । युद्धबाट नै परिस्थिति उत्पन्न हुन जान्छ र क्रान्तिको आधारक्षेत्र दक्षिण अमेरिकामा ग्रामीण क्षेत्र हुनु पर्छ, छापामार सेनालाई विद्रोहको पाठ सिकाउनु पर्छ, जब छापामार सेना पर्यावरणको अंश बन्न पुग्दछ, त्यस अवस्थामा आधार इलाकामा सक्रियता बढाउनु पर्दछ भन्ने उनको छापामार रणनीति रहेको थियो । 

चेले सिद्धान्तका बारेमा स्पष्ट गर्दै प्रत्येक परिवर्तनको गर्भबाट सिद्धान्तले जन्म लिन्छ भन्दै माक्र्सवादी–लेनिनवादी सिद्धान्तको अनुशरण गर्ने कुरालाई चेले अस्वीकार गरेको पाइन्छ । उनीमा नवमाक्र्सवादीहरुको प्रभाव परेको देखिन्छ । आफ्नै परिस्थिति र परिवर्तनसँग सिद्धान्त स्वयंले जन्म लिने उनको धारणा रहेको पाइन्छ । त्यसैले उनले जडसुत्रवादको सट्टा सिर्जनशीलतालाई जोड दिने गरेका थिए । 

क्युवाली क्रान्ति सम्पन्न भएको आज ५८ वर्ष पुरा भइसकेको छ । अनेक नाकाबन्दी, धम्कीका बाबजुद अमेरिकाको नाकैमुनि रहेर उसलाई थर्काएर अडिग रहने ल्याटिन अमेरिकी मुलुक क्युवाले आफूलाई विश्वमै अनुपम उदाहरण दिन सफल भएको छ । फिडेल क्यास्ट्रो अमेरिकी साम्राज्यवादका सामु कहिल्यै पनि झुकेनन् । उल्टै शीर ठाडो राखेर गौरवपूर्ण जीवन बिताएर आफूलाई एउटा उदाहरण प्रस्तुत गर्न सफल मात्र भएनन् विश्वका क्रान्तिकारीहरुलाई महत्वपूर्ण शिक्षा प्रदान गरेर यस धर्तीबाट विदा भएका छन् क्युवाली क्रान्तिका महानायक फिडेल क्यास्ट्रो । 

अमेरिकी साम्राज्यवादले फिडेल क्यास्ट्रोलाई हत्या गर्न उनको जीवनभर अनेक षडयन्त्र रच्यो । उसले CIA को हजारौं CIDहरुलाई क्युवामा खटाएर क्याष्ट्रोलाई हत्या गर्न सयौं षडयन्त्रका तानावानाहरु बुनिरह्यो । खरबौँ डलर खर्च गर्‍यो तर यसमा अमेरिकी साम्राज्यवाद असफल भयो । फिडेल क्यास्ट्रोले विजय प्राप्त गरेर अमेरिकालाई निकम्मा सावित गराई छाडे । जसका कारण उनी अमर बनेका छन् । 

स्मरण रहोस्, आज अमेरिकी साम्राज्यवादबाट रत्तिभर नडराउने विश्वमा क्युवा र उत्तर कोरिया गरी यी दुईवटा समाजवादी राष्ट्रहरुमात्र नमूना बनेका छन् । अतः हामी नेपालका क्रान्तिकारी कम्युनिस्टहरुले क्युवाली क्रान्ति र फिडेल क्यास्ट्रो तथा चे ग्वेभाराको क्रान्तिकारी जीवनबाट के पाठ सिक्ने र के शिक्षा लिन सक्छौं तथा यी शिक्षाहरुलाई नेपाली क्रान्तिका लागि उपयोग गर्न सक्छौं ? यो ज्यादै महत्वको सवाल हो । 

आज महान रुसी अक्टुबर क्रान्ति सम्पन्न गरिएको सय वर्ष पुरा हुदैछ र संसारभरका क्रान्तिकारी सर्वहाराहरुले अक्टुबर क्रान्तिको शतवार्षिकी धुमधामका साथ मनाउन गइरहेका छन् । महान अक्टुबर क्रान्ति सम्पन्न भएको यस १०० वर्षका बिचमा क्रान्तिकारीहरुले क्रान्तिकारी पार्टी निर्माणमा के कस्तो अनुभव बटुलेका छन् त ? यसबाट के शिक्षा लिने र आ–आफ्ना देशको क्रान्तिका लागि उपयोग गर्ने प्रश्नहरु पनि उठान भइरहेका छन् । यो सँग विश्वभरका क्रान्तिकारी सर्वहाराहरुले क्युवाली क्रान्तिको शिक्षालाई पनि जोड्न जरुरी छ ।

महान् अक्टुबर क्रान्तिबाट निर्माण गरिएको सोभियत सत्तामाथि प्रतिक्रान्ति भएर त्यहाँ पुँजीवादी शासन चलिरहेको छ । सन् १९४९ मा सम्पन्न गरिएको महान् चिनिया नयाँ जनवादी क्रान्ति र त्यसपछि निर्माण गरिएको समाजवादी व्यवस्थामा पनि प्रति क्रान्ति भयो र चीनमा पुँजीवादको विकास भइरहेको छ । यी परिघटनाहरुले विश्व कम्युनिस्ट आन्दोलनलाई र विश्वसमाजवादी व्यवस्थालाई रक्षात्मक स्थितिमा पुर्‍याइदिएको छ । र विश्वको क्रान्तिकारी धारा भन्दा संशोधनवादी धारा हाबी भइरहेको अवस्थामा क्युवामा भने आजको २१ औं शताब्दीको विशेषतासहितको समाजवादी राज्यव्यवस्थालाई टिकाएर कुशलतापूर्वक संचालन गरिरहेको यो परिपेक्षमा हामी क्रान्तिकारीले गौरव गर्न जरुरी छ । र यसबाट नयाँ पाठ सिक्न जरुरी छ ।

रुस, चीन लगायतका समाजवादी राज्यसत्ता संचालन गरिरहेका देशहरुमा प्रतिक्रान्ति भएर पुँजीवादको पुनःस्थापना भएर विश्वकम्युनिस्ट आन्दोलन र विश्व समाजवादी शिविरले गम्भीर धक्का खाएर रक्षात्मक अवस्थामा पुगिरहेको बेला अर्थात् अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलन समेत दक्षिणपन्थी अवसरवादको शिकार बनिरहेको बेला अमेरिकी साम्राज्यवादको नाकै मुनी कडारुपमा खडा भएर क्युवाली क्रान्ति सम्पन्न गर्ने ती महान क्रान्तिकारी योद्धा क्यास्ट्रो र चेबाट गहन शिक्षा लिएर क्रान्तिकारीहरुले जीवन–व्यवहारमा उतार्न जरुरी छ । नेपालका क्रान्तिकारी सर्वहाराहरुले अरु कसैभन्दा बढी शिक्षा लिन जरुरी छ ।

दुवैबाट सिक्नु पर्ने मुख्य कुरा भनेको त्याग, तपस्या, बलिदान, वीरता, साहस, धैर्यता, निस्वार्थीपन नै हुन् । अर्को कुरा शत्रुका सामु कहिल्यै नझुक्ने, निडरता पनि हो । यसका साथै उनीहरुबाट सिक्नु पर्ने र क्रान्तिकारीहरुले अनुशरण गर्नै पर्ने कुरा के हो भने देश, जनता र क्रान्तिप्रतिको दृढता र वचनबद्धता नै हो । चेबाट सिक्नु पर्ने अर्को महत्वपूर्ण कुरा अन्तर्राष्ट्रियतावादी विश्वदृष्टिकोण हो । जो उनी अर्जेटिनाको नागरिक भएर क्युवामा गएर क्रान्ति सफल पार्न जीवन अर्पण गरे । क्युवाली क्रान्तिले सफलता प्राप्त गरे पश्चात क्युवाले प्रदान गरेका सम्पूर्ण मान सम्मान र सुविधाहरु त्यागेर विश्व क्रान्तिलाई अगाडि बढाउने उद्देश्यले उनी बोलिभियामा पुगेर छापामार युद्ध संचालन गरेर युद्ध लड्दा लड्दै जुन ज्यान अर्पण गरे यो सबै क्रान्तिकारीहरुका लागि महत्वपूर्ण प्रेरणाको श्रोत हो ।

नेपालको सन्दर्भमा कुरा गर्नु पर्दा झापा विद्रोहका सहिदहरुको ब्याज खादै र महान दश वर्षे जनयुद्धका हजारौं सहिदहरुको ब्याज खादै एकातिर कम्युनिस्ट पार्टीको झण्डा हल्लाउँदै हिँड्ने र अर्कोतिर प्रतिक्रियावादी सत्तामा पुगेर नेपाली जनतामाथि निर्मम शोषण र उत्पीडन मच्चाइरहेका नक्कली कम्युनिस्ट नामधारीहरुलाई राम्ररी चिन्नका लागि पनि फिडेल क्यास्ट्रो र चे ग्वेभाराको क्रान्तिकारी जीवन र आदर्शबाट पाठ सिक्न जरुरी छ । 

कम्युनिस्टहरुले आँट गरे के गर्न सकिन्न र भन्ने उदाहरण क्युवाली क्रान्तिले प्रस्तुत गरेको छ । जस्तो कि ८२ जनाले सुरु गरेको क्रान्तिको यात्राले ३ वर्ष भित्रै अमेरिकाको नाकमुनी रहेको क्युवामा क्रान्ति सम्पन्न गरेर दुनियालाई देखाइदियो । यो क्युवाली क्रान्तिबाट प्राप्त गर्ने सबैभन्दा ठूलो शिक्षा हो ।