एजेन्सी । जापान र अमेरिकाले उत्तर कोरियाले पुनः ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि त्यसबारे छलफल गर्न सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् ।
उत्तर कोरियाले मंगलवार बिहानै परीक्षण गरेको क्षेप्यास्त्र जापानी आकाश भएर समुद्रमा खसेको थियो ।
उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणबारे छलफल गर्नका लागि मंगलबार नै सुरक्षा परिषदको बैठक बस्ने बताइएको छ ।
जापान र अमेरिकाका साथै दक्षिण कोरिया, अष्ट्रेलिया र बेलायतले पछिल्लो क्षेप्यास्त्र परीक्षणको निन्दा गरेका छन् ।
जापानको उत्तरी हकाइदो टापुको करिब ३ हजार किलोमिटरसम्म उत्तर कोरियाली क्षेप्यास्त्र पुगेको थियो ।
उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सजग गराउने साइरन बजेको थियो भने मानिसहरुलाई भुईतला वा पक्की घरमा लुक्न आग्रह गरिएको थियो ।
जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाद्वारा गरिएको पछिल्लो क्षेप्यास्त्र परीक्षण ‘अभूतपूर्व, गम्भीर र देशका लागि खतरा’ भएको प्रतिक्रिया दिएका छन् ।
उत्तर कोरियाले पछिल्लो समय लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आएपनि पछिल्ला ८ वर्षभित्र जापानी आकाशमा पुगेको यो पहिलो घटना हो ।
प्योङयाङले हालैमात्रै अमेरिकी मूल भूभागसम्म मार हान्न सक्ने एउटा अन्तरमहादेशीय क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको थियो ।






























