एजेन्सी । भारतमा यो वर्षमात्रै स्वाइन फ्लुका कारण १ हजार ९४ जनाको मृत्यु भएको तथ्यांक बाहिर आएको छ ।
सन् २०१७ को जनवरीदेखि अगस्टसम्ममा स्वाइन फ्लुका कारण यतिधेरै मानिसले ज्यान गुमाएका अधिकारीहरुले जनाएका छन् ।
संक्रमित भएका मध्ये पछिल्ला तीन सातामा मात्रै भारतमा ३ सय ४२ जनाको मृत्यु भएको जनाइएको छ । यो संख्या तीन साताको अवधिमा मृत्यु हुनेको उच्च तथ्यांक हो ।
भारतमा यो वर्षमात्रै स्वाइन फ्लुबाट २२ हजार १ सय ८६ जना संक्रमित भएको बताइएको छ । यो संख्या गत वर्षको यही अवधिमा स्वाइन फ्लुले मृत्यु भएको भन्दा चार गुणा बढी हो ।
स्वाइन फ्लुका कारण भारतको पश्चिमी राज्य महाराष्ट्र सबैभन्दा बढी प्रभावित बनेको छ । महाराष्ट्रमा मात्रै स्वाइनफ्लुले ४ सय ३७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी गुजरातमा २ सय ९७ जनाको मृत्यु भएको भारतको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
दुई वर्षअघि भारतमा स्वाइनफ्लुको महामारी फैलिएको थियो । जसमा करिब १ हजार ९ सयको मृत्यु भएको थियो । गत वर्षपनि स्वाइन फ्लुका कारण २ सय ६५ जनाको मृत्यु भएको थियो भने १ हजार ७ सय ८६ संक्रमणका घटना फेला परेका थिए ।
सन् २००९–१० मा स्वाइन फ्लु महामारीका रुपमा फैलिदा कम्तिमा ५० हजार प्रभावित भएका थिए भने २ हजार ७ सयभन्दा बढीको मृत्यु भएको थियो ।