चिर प्रतिद्वन्द्वी मेसी र बुफोनलाई हराउँदै रोनाल्डो युएफा वर्ष खेलाडी

चिर प्रतिद्वन्द्वी मेसी र बुफोनलाई हराउँदै रोनाल्डो युएफा वर्ष खेलाडी

काठमाडौं । रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो लियोनल मेसी र जियानलुइजी बुफोनलाई पछि पार्दै युएफा वर्ष खेलाडीको अवार्ड जित्न सफल भएका छन् ।

रोनाल्डोको उत्कृष्ट प्रदर्शनसँगै रियलले लगातार दुई वर्ष च्याम्पियन्स लिगको उपाधी जितेको थियो । प्रतियोगितामा १२ गोल गर्दै उनी सर्वाधिक गोलकर्ता समेत बनेका थिए ।

उनले ला लिगामा भने ४६ खेलमा ४२ गोल गरेका थिए । यो उपाधीसँगै रोनाल्डोले तीन पटक युएफा वर्ष खेलाडीको उपाधी जितेका छन् । उनका प्रतिद्वन्दी लियोनल मेसीले भने दुई पटक युएफा वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

च्याम्पियन्स लिग र युरोपा लिगका ८० जना प्रशिक्षक र ५५ जना पत्रकारको समूहको मुल्यांकनबाट रोनाल्डो वर्ष खेलाडी भएका हुन् । रोनाल्डोले ४८२ प्वाइन्ट्स, मेसीले १४१ प्वाइन्ट्स र बुफोनले १०९ प्वाइन्ट्स प्राप्त गरेका छन् ।

बुफोनले वर्ष खेलाडीको अवार्ड नजिते पनि वर्षको उत्कृष्ट गोल रक्षकको अवार्ड हात पारेका छन् ।

त्यस्तै रियल मड्रिडका डिफेन्डर सर्जिओ रामोसले उत्कृष्ट डिफेन्डरको उपाधी हात पारे भने रियलकै अर्का खेलाडी लुका मोड्रिकले उत्कृष्ट मिडफिल्डरको उपाधी हात पारे । रोनाल्डोले यो वर्षको उत्कृष्ट फर्वाडको उपाधी पनि हात पारेका छन् ।

त्यस्तै महिलातर्फको वर्ष खेलाडी भने बार्सिलोनाकी लिके मार्तेन्सले जितेकी छन् ।