
एजेन्सी । दक्षिणी चीनमा शक्तिशाली समुद्री आँधीका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ भने सयौं मानिस घाइते भएको अधिकारीहरुले जनाएका छन् ।
हाटो नामक आँधी बुधवार दिउँसो ग्वाङडुङ प्रान्तको जुखाइ सहरमा प्रवेश गरेको थियो । बर्षासहितको सो शक्तिशाली आँधीमा परी ठूलो क्षति भएको हो ।
हंगकंगले आँधीसम्बन्धी जोखिमलाई सबैभन्दा उच्च अर्थात् १० औं तहमा पुर्याएको छ । आँधीका कारण सो क्षेत्र नजिकै पर्ने मकाउमा आवतजावत ठप्प भएको छ ।
आँधीका कारण बिजुली आपूर्ति पनि बन्द भएको बताइएको छ । चिनियाँ सञ्चारमाध्यहरुले मुख्य भूभागबाट २७ हजार मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको जनाएका छन् ।
अधिकारीहरुले बाढीपहिरो लगायत प्रकोप आउन सक्ने भन्दै सजग रहन निर्देशन दिएका छन् । हंगकंगको मौसमसम्बन्धी निकायले आँधी प्रतिघण्टा १७५ किलोमिटरको गतिमा रहेको जनाएको छ ।
आँधीका कारण मकाउमा आठजनाको र चिनियाँ मुख्य भूभागमा चार जनाको मृत्यु भएको हो । आँधीले बुधवार विद्यालय, उद्योग, रेल तथा हवाई सेवा समेत ठप्प बनेका थिए ।