काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी भएका छन् ।

सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार प्रदेश सदस्यहरुमा मिश्रित परिणाम आएपनि केन्द्रिय पदाधिकारीमा आचार्य प्यानलका सबै निर्वाचित भएका छन् ।

प्रेस सेन्टर र प्रेस युनियनसहितका पत्रकारको गठबन्धनबाट अध्यक्षमा निर्वाचित आचार्यले प्रेस चौतारीका तीर्थ कोइरालालाई एक सय पाँच मत अन्तरले हराएका छन् । आचार्यले ७३२ मत पाए भने कोइरालाले ६२७ मत ल्याएका छन् ।

अध्यक्ष पदका अर्का उम्मेदवार उजिर मगरले ५४, इन्द्रबहादुर राउतले २० र भावना विद्रोहीले ६ मत पाएका छन् ।

खुला उपाध्यक्षमा युनियनका विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन् ।

महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित भए ।

यसैगरी लेखा समिति संयोजकमा रोशन पुरी विजयी भएका छन् । लेखा समिति सदस्यहरुमा मिरा राजभण्डारी र भुपेन्द्र आचार्य विजयी भए ।

आचार्य नेतृत्वको प्यानल विजयी भएपछि अहिले खुला केन्द्रीय सदस्यहरुको मतगणना जारी छ ।

प्रदेश सदस्यहरुमा भने प्रदेश नम्बर १ बाट सटेन्द्र जबेगु र उद्धव तिमिल्सिना, प्रदेश नम्बर २ बाट देवराम यादव र शैलेन्द्र झा, प्रदेश नम्बर ३ बाट द्वारिका काफ्ले, र कृष्ण गिरी, प्रदेश नम्बर ४ बाट रामकृष्ण ज्ञवाली र नवीन कुइँकेल विजयी बनेका छन् ।

यसैगरी प्रदेश नम्बर ५ बाट बसन्त गिरी र पुरुषोत्तम सुवेदी, प्रदेश नम्बर ६ बाट कलेन्द्र सेजवाल र पूर्ण प्रसाद चौलागाईं, प्रदेश नम्बर ७ बाट मीन बम विजयी भएका छन् भने उत्तर विष्ट, र श्याम भट्टको समान ४५–४५ मत आएको छ ।

यस्तै उपत्यकाबाट लेखनाथ न्यौपाने र गोविन्द चौलागाईं, प्रतिष्ठान तर्फ टिकाराम प्रधान र यम बिरही निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर