बर्मझिया

बर्मझिया

घरी–घरी पटक–पटक
बग्न त रतग पानीसरि बगिरहेकै छ
के पहाड के मधेस चारैतिर
नयाँ दशकको हत्याराले नयाँ युगका राता रक्तबीजहरु छरिरहेकै छ
अभावको कालो बजारमा महंगीको हाहाकार बढेर
सबै थोक दुर्लभ बने पनि
गल्ली–गल्ली सडक–सडक
र, गाउँ बस्तीभरि
गोलीले ढलेर मान्छेको ज्यान भने झनै सस्तो भइरहेकै छ
तर तिम्रो काखमा त्यै एउटा ज्यान ढल्दा घाम पनि अकाशमा मधुर भएको छ ।
बर्मझिया, तिम्रो प्रत्येक थोपा रगत ब्यूँझेर
आज बैरीलाई क्रूर कालकुट भएको छ ।
एउटै रगतको साइनो रहेछ आखिर
मेची र महाकालीका साँधहरुमा
एउटै वर्गको नाता रहेछ आखिर
कमला र भेरीका छालहरुमा
एउटै धर्मको उपासना रहेछ आखिर
झापा र धनुषाका बलिदानहरुमा
एउटै कर्मको आराधना रहेछ आखिर
गोर्खा र रोल्पाका अनुष्ठानहरुमा
निरन्तर चलिरहेको रक्तिम युद्धमा
मिसिसिपीदेखि भोल्गासम्म एउटै रंग छ
निरन्तर फैलिरहेको वर्गीय युद्धमा
लिमादेखि मनिलासम्म एउटै तरंग छ
यतिखेर तिम्रो काख पूर्वमा रगतपच्छे हुँदा
पश्चिममा रुकुम पनि प्रतिशोधले चुर भएको छ
बर्मझिया तिम्रो प्रत्येक थोपा रगत ब्युँझेर
आज बैरीलाई क्रूर कालकुट भएको छ ।

माटोमा भिजेका तिम्रै रगतका टाटाहरुले
जनअदालतको खुला इजलासमा
बर्बर हत्याको किटानी जाहेरी दिइरहेछन्
उदास नहरको संतप्त किनारमा
शोकमग्न उम्रेका सिसौंका बोटहरुले
तिम्रै ज्यानमुद्दाको सरजमिन गरिरहेछन्
मकैका घारीले बारीबाट
आक्रोशित मुद्रामा तिम्रै हत्याको साँक्षी बकिरहेछन्
प्रत्यक्षदर्शी पटुवाका झाडीले
फरार अपराधीहरुका बर्बर अनुहारहरु सम्झदै
गिरफ्तारीको हुलिया काटिरहेछन्
शोकविह्वल छन् सबै गाउँ
भावविह्वल छन् सबै ठाउँ
तै पनि शान्त र सहज भएर
अशान्त जीवनको सागरमा
निरन्तर चलिरहेछ मुक्तियात्राको नाउ
आफ्ना शोकाकुल घडीलाई नयाँ शक्तिमा फेरेर
फेरि पनि दृढ र कर्मशील मनस्थिति लिएर
साँझबिहान पँधेराहरुले
गाइरहेछन् ‘पेरुमा लालझण्डा’का गीतहरु
सबेरै झिसमिसेमा उठेर चराहरुले
घन्काइरहेछन् कलरव स्वरमा संघर्षका नाराहरु
रुष्ठ हावाले सतर्क भएर
दुश्मनका गुप्त पदचापहरु पछाइरहेछ
फेरि उस्तै संघर्षशील भएका छन् सबै ठाउँ
एउटा ‘मास्टर साहेव’लाई मारेर
जनपाठशालाहरु नै बन्द गर्न खोज्ने जल्लादहरुको मृगतृष्णा
एउटा जनयोद्धालाई हत्या गरेर
मुक्तियुद्ध नै रोक्न खोज्ने मोशादहरुको कपोलकल्पना
यतिखेर चकनाचूर भएर
निष्फल बनेका छन् बैरीहरुका सबै दाउ
मातृभूमिका महान् सन्ततिहरुको मृत्युञ्जयी बलिदानले अभिभूत भएर
यसबेला सिंगो राष्ट्र नै एउटै जुलुश भएको छ
बर्मझिया, तिम्रो प्रत्येक थोपा रगत ब्युँझेर
आज बैरीलाई क्रूर कालकुट भएको छ
तिम्रो सम्मानमा गौरवले झुकेर उठ्दै
सारा देश नै अरिङ्गालको गोलोझै एकजुट भएको छ ।