काठमाडौ । भुकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउने योजना अनुसार चीनले अरनिको राजमार्ग स्तरोन्नतीसहितका परियोजनामा खर्च गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
अरनिको राजमार्ग स्तरोन्नती र रसुवागढीमा पक्की पुल निर्माणका लागि एक अर्व आरएमवी अर्थात करीव साढे १५ अर्व रुपैया खर्च गर्ने आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको अर्थसचिव शान्तराज सुवेदीले जानकारी दिए ।
भुकम्पपछिको पुननिर्माणका लागि चीनले घोषणा गरेको तीन अर्व आरएमवी मध्ये एक अर्व सन २०१६ मा खर्च भएको थियो भने सन २०१७ मा एक अर्व खर्च हुनेछ । बाँकी एक अर्व सन २०१८ मा खर्च गर्ने गरी अर्को समझदारी हुनेछ ।
उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छादार र चिनिया उपप्रधानमन्त्री वाङ याङ वीच दुई पक्षीय वार्तापछि उनीहरुकै उपस्थितिमा मंगलबार भएका तीन समझदारीपत्र मध्ये आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी एउटा हो ।
समझदारीपत्रमा दुवै मुलुकका अर्थसचिवले हस्ताक्षर गरेका छन् ।
पेट्रोलियम, ग्यास र खानीको अन्वेषणका लागि चीनले सर्वेक्षण गर्न दुई अर्व नेपाली रुपैया चिनिया सहयोग प्राप्त हुने अर्थसचिव सुवेदीले जानकारी दिए ।
हस्ताक्षर भएको तेस्रो समझदारीमा नेपालमा चिनिया लगानी अभिबृद्धि सम्बन्धी रहेको छ ।