प्रचण्डको “पार्टी विघटन गर्ने” चर्चाबारे

प्रचण्डको “पार्टी विघटन गर्ने” चर्चाबारे

केही दिन पहिले नेकपा (माके) को एउटा शिर्ष तहको बैठकका सन्दर्भमा त्यस पार्टीका अध्यक्ष प्रचण्डले आफ्नै पार्टी विघटन गर्नुपर्ने कुरा उठाएपछि यस विषयले केही दिन चर्चा पायो । प्रस्तुत लेखमा यसै विषयसँग सम्बन्धित रहेर केही थप चर्चा गर्ने प्रयत्न गरिने छ ।

“हजारीलाल”को चर्चा

झण्डै बर्ष दिन जति भयो होला, प्रचण्ड कै विशेष पहलमा क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई सांगठनिक रुपमा नै समाप्त पार्ने अभियान सुरु गरियो । यो अभियानको नाम राखियो, “माओवादी जति सबैलाई अब एउटै पार्टीमा समावेश गराउने” । माओवादी आन्दोलनले उठाएका सबै क्रान्तिकारी एजेण्डालाई परित्याग गरेर वर्गीय र राष्ट्रिय आत्मसमर्पण गरिसकेका प्रचण्डले आह्वान गरेको यो अभियानमा पहिलेको माओवादी आन्दोलनमा चर्चामा आएका धेरै पात्रहरु जोडिन पुगे । ती सबै समाहित भएको पार्टीको नामाकरण गरियो, नेकपा (माओवादी केन्द्र) (यस पछि संक्षिप्तमा नेकपा (माके) भनिने छ) । कुनै विचार वा राजनीतिक लाइनका आधारमा नभएर नितान्त आफू आफ्नै स्वार्थलाई केन्द्रमा राखेर गरिएको यो एकीकरणमा”सबै गुटहरुले आ–आफ्नो गुट र आ–आफ्नै स्वार्थ पुरा गर्न बल गर्नु स्वभाविक थियो । कम्युनिष्ट पार्टीको कुनै भेला जस्तो नभएर कुम्भमेला जस्तो देखिने त्यस जमघटले हजार जनाको केन्द्रीय समिति बनाएपछि, त्यसै केन्द्रीय समितिमा राखिएका एकजनाले त्यसको नाम “हजारिलाल” राख्दै आफु त्यस “हजारीलाल”बाट अलग भएको लेख नै लेखेर त्यसबाट अलग भए । त्यसपछि व्यांग्यात्मक रुपमा यसलाई “हजारीलाल” भन्न थालियो । पछि त्यसमा केन्द्रीय सदस्य थपिँदै गए, हजारीलाई साँढे दुई हजारीलाल बन्न पुग्यो । पछिल्लो चरणमा चर्चामा आए अनुसार त्यसको संख्या अहिले चार हजार पुगेको छ ।

नेकपा (माके)बारे नयाँ मूल्यांकन

हालै दुई चरणमा गरेर गराइएको निर्वाचनमा प्रमुख भूमिका प्रचण्ड कै नेतृत्वमा भएको सरकारले खेलेको थियो । आफ्नै हातमा डाडु पन्यु लिएर गरिएको यो निर्वाचनमा नेकपा (माके)को जुन अवस्था देखा प¥यो, त्यसले ठुलो पार्टी बनाएर राइँदाइँ गर्ने सपना बोकेर एकीकरणमा सामेल भएकाहरुलाई चिसो पानी खन्याए सरह हुनु स्वभाविक थियो । हारबाट निरास भएर अरु नै ठूला पार्टी खोज्नेतिर लागेका नेता र कार्यकर्ताहरुलाई आश्वस्त पार्न राजनीतिक विश्लेषण प्रस्तुत गरे । चुनाव जितेर एमाले पहिलो पार्टी र नेपाली कांग्रेस दोस्रो पार्टी भए पनि आखिर जित लोकतान्त्रिक गणतन्त्रकै भएको हुनाले यो जित नेकपा (माके) को पनि भएको कुरा प्रष्ट पारे । तर, तुरुन्तै र हाताहाती फाइदाका लागि माकेमा सामेल भएकाहरुका लागि यो तर्कले त्यति प्रभाव पार्न सकेन । वर्गदृष्टिमा प्रकाशित व्यांग्य लेखले प्रचण्डका भनाईलाई रोचक ढंगले प्रस्तुत गरेको छ, “हामीले माओवादी मान्यता स्थापित पनि ग¥यौं, विस्थापित पनि ग¥यौं । मान्छेले माओवादीले ध्वस्त मात्रै गर्छ भन्थे, हामीले अहिलेसम्म आउँदा बरु आफैंलाई ध्वस्त पा¥यौं तर संसदवादलाई बलियो बनायौं ।….चारतारे र सूर्य छापले गर्न नसक्या काम मैले गरेर देखाइद्या छु ।..काम हाम्ले गर्ने, एजेण्डा हाम्रो हुने चुनाउ अर्काले जित्ने के भयो यस्तो ? हाम्रो पार्टीमा गुट धेरै भएर चुनाउ हारियो, अब मेरो मात्रै गुट हुनु पर्छ । अब पार्टी सार्टी भंग गर्न मन लाग्या छ । माक्र्स एंगेल्सले पनि यसै भन्या थे । सबैका गुट भत्काएर मेरो मात्र सानो गुट बनाएपछि पार्टी बन्छ ।”(हेर्नुहोस्–कैलु ब्राहको व्यंग लेख, वर्गदृष्टि २०७४ साउन ९ गते ।)

उपरोक्त व्यांग्य लेख सत्यतामा आधारित देखिन्छ । पहिलो कुरा पश्चगामी वर्तमान् संसदीय प्रणालीमा आधारित लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउनमा र त्यसलाई लागू गर्नका लागि आयोजित स्थानीय तहको निर्वाचन गराउने काममा प्रचण्डले आफ्नो सबैभन्दा बढी भूमिका रहेको दावी गर्दै छन् । त्यही नै उनी र उनको पार्टी प्रतिकृयावादी पार्टीको कित्तामा पुगेको राम्रो परिचय पनि हो । दलाल, नोकरशाही पुँजीपति वर्गको पार्टी नेपाली काँग्रेससँगको दीर्घकालीन मोर्चा निर्माण गर्ने कामले यसलाई थप पुष्टि गरेको छ । अब नेकपा (माके) दलाल र नोकरशाही पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टीमा रुपान्तरण हुन पुगेको छ । समग्र पक्षको संश्लेषणका आधारमा नेकपा (क्रान्तिकारी माओवादी) नेका, एमाले जस्तै प्रतिकृयावादी वर्गको पार्टी हो भन्ने निष्कर्षमा पुगेको छ । पृष्ठभूमिका हिसावले नेका, एमाले र माकेमा अन्तर देखिन्छ । तर यतिखेर ती तिनैवटा पार्टीका बीचमा तात्विक अन्तर छैन । आधारभूत रुपमा ती पार्टीहरुका बीचमा खासै अन्तर छैन । तिनीहरुले नेपाली राजनीतिको प्रतिकृयावादी कित्ताको प्रतिनिधित्व गर्दछन् ।

माके रहनुको औचित्यमा प्रश्न

माथि नेका, एमाले र माकेले मूलतः नेपाली राजनीतिको एउटै धारको प्रतिनिधित्व गर्दछन् भन्ने कुरा बताइसकिएको छ । जब उनीहरुले एकै किसिमका वर्गहरुको प्रतिनिधित्व गर्दछन्, एउटै राजनीति र विचारको प्रतिनिधित्व गर्दछन् भने उनीहरुले आफ्नो नाम जेसुकै राखे पनि तिनीहरु दलाल, नोकरशाही पँुजीपति वर्गकै प्रतिनिधित्व गर्दछन् । समान वर्गका बीच पनि अन्तर्विरोध हुन्छन् । कहिले काहीँ त ती लडाईं र एकअर्कालाई समाप्त पार्ने स्तरसम्म पनि पुग्दछन् । यहाँ उल्लेखनीय कुरा के छ भने प्रथम र द्वितीय विश्वयुद्ध साम्राज्यवाद र साम्राज्यवाद कै बीचमा भएको थियो । समान वर्गहरुको प्रतिनिधित्व गर्ने पार्टी जहाँसुकै दुईवटा भएको पाइन्छ । नेपाल पनि त्यसको अपवाद हुन सक्दैन । यदि नेका वा एमाले आफ्नो वर्गीय, राजनीतिक जिम्मेवारी पुरा गर्न नसकेको वा त्यसका निमित्त पूर्णरुपमा असक्षम सावित भएको भए र त्योभन्दा बढी भ्रम पार्न माके सफल भएको भए, उपरोक्त दुई पार्टीमध्ये कुनै एउटा ठाउँमा केको लागि सुरक्षित हुन सक्दथ्यो । तर, परिस्थितिले के देखाएको छ भने नेपालमा अहिले त्यो अवस्था आएको छैन । यस स्थितिमा माकेको त्यहाँ पस्ने ठाउँ नै देखिँदैन । आखिर माकेले पनि नेका र एमाले कै काम गर्ने भएकाले नेका र एमाले नै काफी छन् माकेको आवश्यकता नै किन प¥यो र ?

नेकपा (माके) को विघटन

जति बेला नेकपा (माके) ले नयाँ जनवादी क्रान्तिको कार्यदिशा छाडेर संसदीय व्यवस्थालाई आत्मसात गर्न पुग्यो, त्यतिबेलै देखि यसको कम्युनिष्ट आन्दोलनबाट बिघटन भै सकेको थियो । यसको दक्षिणपन्थी नवसंशोधनवादी पार्टीका रुपमा पुनर्गठन भएको थियो । पश्चगामी संविधान निर्माण र त्यसलाई लागू गर्नमा प्रमुख भूमिका खेल्ने काम गरेपछि र पुनः प्रचण्डले भारतीय विस्तारवादसँग आत्मसमर्पण गरेर नेकासँग गठबन्धन गर्दै प्रमको रुपमा भारतीय प्रमसँग २५ बुँदे राष्ट्रघाती सहमति गरिसकेपछि यसको प्रतिकृयावादीकरणको प्रकृया पनि पुरा भयो ।

नेकपा (माके)का अध्यक्ष प्रचण्ड आफैंले यसको विघटनको कुरा गरिरहँदा यो प्रसंग यतिखेर उठेको हो । जहाँसम्म यो पार्टीको विघटनको प्रचण्डले उठाएको प्रसंग छ, यसका दुईवटा कारण हुन सक्छन् ः पहिलो, गुटै गुटको मिलावटबाट बनेको नेकपा (माके) भित्र गुटहरुले अनियन्त्रित रुपमा चलखेल गर्न थालेपछि अन्य गुटका नेता कार्यकर्ताको भय दोहन गरेर आफ्नो काबुमा राख्ने आफ्नो गुट संचालन गर्ने योजना । नेकपा (माके) धरासायी हुने र एक प्रकारको विघटनमा पुग्ने निश्चित भएपछि र त्यसलाई रोक्न नसक्ने अवस्था भएपछि त्यो अवस्था आउनुभन्दा पहिले नै सचेत रुपमा नै यसलाई विघटन गरेको घोषणा नै गरिदिने । जे सुकै भए पनि नेकपा (माके) अब बिघटन हुने कुराको संकेत सर्वत्र देख्न सकिन्छ ।
२० श्रावण ०७४