रसुवा । रसुवाका पहिरो पीडितलाई चीन सरकारले सहयोग गरेको छ । चीनले सीमावर्ती रसुवा जिल्लाका पहिरो पीडितलाई केरुङ फ्रन्टियर इन्सपेक्सन स्टेसनका कर्णेल गाओ हुईहुई नेतृत्वको टोलीले जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत् सहयोग सामग्री हस्तान्तरण गरेको छ ।
पहिरोका कारण विस्थापित हुन पुगेका पीडितहरुलाई आवश्यक पर्ने चामल, चिनी, तेल र अन्य खाद्य सामाग्री चिनियाँ टोलीले प्रमुख जिल्ला अधिकारी एवं समिति अध्यक्ष चोमेन्द्र न्यौपानेलाई हस्तान्तरण गरेको समाचार स्रोतले जनाएको छ । मंगलबार सदरमुकाम धुन्चेमा एक कार्यक्रमबीच चिनियाँ टोलीले राहत सामग्री नेपाली पक्षको जिम्मा लगाएको छ । चिनियाँ पक्षले ४७ कार्टुन खानेतेल, बदाम, पाउडर दूध, चिनी र प्याकिङ मासु प्रदान गरेको छ ।
चीन सरकारले प्रदान गरेको सहयोग छिटै ती पीडित समक्ष पु¥याउने प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताएका छन् । अविरल वर्षाका कारण आइतबार राति पहिरो जाँदा रसुवाको दुई बस्ती जिल्लाको उत्तरगया गाउँपालिका–४ पैरेवेशीका २७ परिवार र कालिका गाउँपालिका–२ घुम्ती बजारका दुई परिवार विस्थापित हुन पुगेका थिए ।
विस्थापित भएका उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । कालिकाका दुई परिवार नेपाल सरकारले निर्माण गरेको सामुहिक आवासमा गएर बसेका छन् भने पैरेवेशीका २७ परिवारलाई त्रिसुली थ्रि ए जलविद्युत आयोजनाको हबमा राखिएको छ ।
विस्थापित भएका पहिरो पीडितलाई खानेपानी, खाद्यान्न तथा शौचालयको अभाव भएको छ । पहिरोले घर पुरिएपछि घरभित्र रहेका अन्नवाली समेत नष्ट भएको छ । पीडितलाई खाद्यान्न, औषधी, लत्ताकपडा लगायतका अतिआवश्यक सामाग्री अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय लागिपरेको प्रजिअ न्यौपानेले बताए ।





























