एजेन्सी । पाकिस्तानमा २५ वर्षपछि पहिलो पटक हिन्दू नेता केन्द्रीय मन्त्रिपरिषदमा सामेल गरिएका छन् ।
सिन्ध प्रान्तबाट प्रतिनिधित्व गर्ने डा.दर्शन लाललाई नयाँ अन्तरिम प्रधानमन्त्री शाहिद खकान अब्बासीले आफ्नो परिषदमा राज्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
अब्बासीले शुक्रबार पद तथा गोपनियताको शपथ लिएका थिए । नयाँ प्रधानमन्त्री अब्बासीले क्याबिनेटमा ६ जना नयाँ अनुहारलाई सामेल गरेका छन् । उनीहरु पूर्व प्रधानमन्त्री नवाज सरिफको मन्त्रिपरिषदमा थिएनन् । जसमा दर्शन लाल समेत सामेल छन् ।
डा.दर्शन लाललाई पाकिस्तानका चार प्रान्त खैंबर पख्तन्ख्वा, पञ्जाब, सिन्ध र बलुचिस्तानबीचको समन्वयको जिम्मेवारी समेत दिइएको छ ।
सन् २०१३ मा उनले दोस्रो पटक नवाज सरिफको नेतृत्वमा रहेको पाकिस्तान मुस्लिम लीग–नवाज पार्टीको टिकटबाट अल्पसंख्यक कोटाबाट सांसद चुनिएका थिए ।
६५ वर्षीय डा.दर्शन सिन्ध प्रान्तको घोटकी जिल्लाको मीरपुर मथेलो सहरका स्थायी बासिन्दा हुन् ।
पाकिस्तानको नयाँ क्याबिनेटको गठन सन् २०१८ मा हुने आम निर्वाचनलाई ध्यानमा दिएर गरिएको छ । क्याबिनेटमा मन्त्रिको संख्या करिब दुई गुणा गरिएको छ ।