कालो दिनको स्मरणमा अरुण पूर्वका ९ जिल्ला बन्दले जनजीवन प्रभावित

कालो दिनको स्मरणमा अरुण पूर्वका ९ जिल्ला बन्दले जनजीवन प्रभावित

धरान । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आह्वान गरेको वन्दका कारण अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

बन्दका कारण पूर्वका ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, सुनसरी, मोरङ, तेहथुम, धनकुटा र संखुवासभामा यातायात र बजार पसल ठप्प रहेका छन् ।

प्रेस, कूटनीतिक नियोगका गाडी, दमकल र एम्वुलेन्सबाहेक कुनै पनि सवारी साधन चलेका छैनन् । बजार, पसल, शैक्षिक संस्था र कलकारखाना पनि बन्द छन् ।

साउन २२ गतेलाई कालो दिन मान्दै आएको राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज ९ जिल्ला बन्द आह्वान गरेको हो । बन्दलाई लिम्बुवान क्रान्तिकारी पार्टीले पनि ऐक्यवद्धता जनाएको छ ।

वि.सं. १८३१ साल साउन २२ गते कै दिन लिम्बुवानको तत्कालीन गोर्खासँग भएको नुनपानी सन्धीले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै साउन २२ लाई परिषदले कालो दिनको रुपमा मनाउँदै आएको छ ।