एजेन्सी । चीनले भारतलाई डोकलाम क्षेत्रबाट सैनिक नहटाएमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।
दिल्लीस्थित चीनका एक वरिष्ठ कूटनीतिज्ञ लिउ जिनसोङले भारतीय सैनिक डोकलाम इलाकामा अवैध रुपमा सीमा पार गरेको भन्दै तत्काल सेना फिर्ता गर्न चेतावनी दिएका हुन् ।
चिनियाँ विदेश मन्त्रालयले डोकलाम क्षेत्रमा उत्पन्न विवादलाई लिएर १५ पृष्ठ लामो विस्तृत दस्तावेज जारी गरेको एक दिनपछि चीनले निकै कडा शब्दमा भुटान, चीन र भारतको त्रिदेशीय सीमा क्षेत्रमा भारतीय सैनिक प्रवेशको विरोध जनाएको हो ।
चिनियाँ दस्तावेजमा भनिएको छ, ‘१६ जुन, २०१७ मा चीनले डोङ लाङ्ग (डोकलाम) इलाकामा सडक बनाइरहेको थियो । १८ जुनमा २ सय ७० भन्दा बढी भारतीय सैनिक हतियारसहित दुई बुल्डोजरसहित डोकलाम सीमा पार गरेर आए । भारतीय सैनिकले सडक बनाउने काममा बाधा खडा गर्ने उद्देश्यले चिनियाँ इलाकामा १ सय मिटरभित्र सम्म घुसे । एक समय त्यहाँ भारतीय सैनिकको संख्या ४ सय सम्म पुग्यो ।’
चीनले अहिले पनि सो क्षेत्रमा ४० भारतीय सैनिक अवैध रुपमा बसिरहेको जनाएको छ । भारतले सो विवादित क्षेत्रमा चीनले बनाएको सडक निर्माणको कामलाई रोक्न सेना पठाउनुपरेको जनाएको छ ।
यसैबीच चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चिनियाँ रक्षा मन्त्रालयले भारतसँग सो क्षेत्रबाट सेना फिर्ता बोलाउन आग्रह गरेको छ । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता रेन गोकियाङले सीमा क्षेत्रमा शान्ति कायम गर्नका लागि भारतले सेना फिर्ता गर्नुको विकल्प नरहेको बताएका छन् ।































