माक्र्सवादीहरुले मिडियाको वर्ग–चरित्रमा विश्वास गर्दछन् । वर्ग विषमतामा आधारित समाजमा हरेक चिज वर्गीय भएजस्तै मिडिया पनि वर्गीय पक्षधर हुन्छ । समाजमा मूलतः शोषक र शोषित, उत्पीडक र उत्पीडित, हुने खाने र हुँदा खाने, श्रमचोर र श्रमजीवि अर्थात् पुँजीवादी र समाजवादी सोच, चिन्तन र स्वार्थ बोक्ने वर्ग हुन्छन् । नेपाली समाज पनि यसबाट अलग छैन । यहाँ मूलतः दलाल तथा नोकरशाही पुँजीवादी वर्ग र उपेक्षित उत्पीडित श्रमजीवि शोषित वर्ग छ । यी दुई विपरीत वर्गका बीच समाजमा निरन्तर संघर्ष चलिरहन्छ । जसलाई वर्गसंघर्ष भनिन्छ । वर्गसंघर्षलाई नै समाजको चालक शक्ति मानिन्छ । समाजमा वर्ग रहेसम्म विभिन्न रुपमा वर्गसंघर्ष निरन्तर चलिरहन्छ । यो नै समाज विकासको अनिवार्य नियम हो । जुन कुरा मिडियाको हकमा पनि लागू हुन्छ ।
नेपालमा हजारौंको संख्यामा छापा, अनलाइन, टेलिभिजन, रेडियो लगायतका मिडिया संचालित अवस्थामा छन् । ती मध्ये एकाध मिडियाहरुको मात्र मिडिया बजारमा एकाधिकार स्थापित छ । विग मिडिया हाउसहरु कर्पोरेट हाउसहरुको क्लचमा छन्, अर्थात् दलाल तथा नोकरशाही पुँजीपति वर्गको हातमा । ती मिडियाहरुले विभिन्न रुप र रंगमा त्यही वर्गको स्वार्थ रक्षाको वकालत गरिरहेको हुन्छ, गरिरहेको छ । मूलधारका भनिएका विग मिडिया हाउसहरुले आफ्नो वर्गको राजनीतिक प्रतिनिधि पार्टी वा व्यक्तिको पक्षमा वकालत गरिरहेको हुन्छ विभिन्न शैलीको प्रयोग गरेर । वर्गसंघर्षकै बीचबाट मिडियाको पनि विकास भएको हुँदा मिडिया राजनीति निरपेक्ष हुँदैन र हुन सक्दैन । यस अर्थमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पनि सापेक्षिक हुन जान्छ । जसको अभ्यास नेपाली पत्रकारितामा पनि देख्न सकिन्छ । मिडियाका कन्टेन्टहरु योजनावद्ध सेट गरिएका हुन्छन् । त्यो उनीहरुको वर्ग स्वार्थबाट अभिप्रेरित हुने गरेको देखिन्छ । नेपालको विग मिडियाका कन्टेन्टहरु किन सत्ता र शक्तिको वरिपरि गोलचक्कर मारिरहन्छ ? किन ठूला भनिएका राजनीतिक पार्टी र उनीहरुको राजनीति वरिपरि घुमिरहन्छ ? श्रमजीवि, शोषित, उत्पीडित र उपेक्षित वर्गको हित रक्षा किन ती मिडियाहरुको कन्टेन्टमा हुँदैन ? यो वर्ग चरित्रकै स्वभाविक अभिव्यक्ति हो ।
पछिल्लो समयमा नेपालको मूलधारका भनिने विग मिडियाहरुले श्रमजीवि, शोषित, उत्पीडित तथा उपेक्षित वर्गको साँचो अर्थमा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)लाई पूरै वेवास्ता गरेको छ । त्यो पार्टीका ‘न्यूज र भ्यूज’लाई त्यस्ता मिडियाहरुमा ‘ब्ल्याक आउट’ नै गरिएको छ । उनीहरुलाई थाहा छ क्रान्तिकारी माओवादीका विचार र समाचारहरुलाई ती मिडियाहरुमा स्थान दिनु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु हो । उनीहरुलाई राम्रोसँग थाहा छ– नेपालको राजनीतिमा विचारधारात्मक तथा राजनीतिक हिसाबले क्रान्तिकारी धारको नेतृत्व गर्ने शक्ति भनेको क्रान्तिकारी माओवादी नै हो । ऊ नेपालमा दलाल तथा नोकरशाही पुँजीवादमा आधारित वर्तमान संसदीय राज्यव्यवस्थाको अन्त्य गरी त्यसको ठाउँमा जनताको जनवादी राज्यव्यवस्थाको स्थापना गर्न चाहन्छ । त्यसैले पछिल्ला केही वर्षहरुयता उनीहरुले क्रान्तिकारी माओवादीका न्यूज र भ्युजलाई कुनै स्थान दिएका छैनन् । जुन ती मिडियाको वर्ग चरित्रको स्वभाविक अभिव्यक्ति पनि हो । तसर्थ, नेपाली सर्वहारावर्गको अग्रदस्ताको रुपमा रहेको नेकपा (क्रान्तिकारी माओवादी)सँग पार्टीका न्यूज र भ्यूजलाई जनतासम्म पु¥याउन आफ्नै लगानीमा संचालित मिडियाहरुको आवश्यकता पर्न गएको हो ।
सूचना प्रविधिका पछिल्ला आयामहरुको कुशलतापूर्वक उच्चतम प्रयोग गरी प्रभावकारी रुपमा जनपक्षीय मिडियाहरुको सञ्चालनमा जोड दिनुपर्ने देखिन्छ । सामाजिक सञ्जालदेखि छापा, अनलाइन, रेडियो हुँदै टेलिभिजनसम्मको जनपक्षीय मिडिया नेटवर्क र त्यसको श्रमजीवि, शोषित, उत्पीडित उपेक्षित वर्गको राजनीतिक स्वार्थ रक्षार्थ प्रभावकारी परिचालन नेपाली नयाँ जनवादी क्रान्तिको लागि अत्यावश्यक साधन बन्न गएको छ । कम्युनिष्ट क्रान्तिकारीहरुले यसको गहिरो बोध गर्न जरुरी छ । अर्कोकुरा, अहिले सूचना प्रविधिको अभूतपूर्व विकास भएको छ । सामाजिक सञ्जालका साथै अनलाइन, रेडियो, छापा, टेलिभिजनको बढोत्तरी भइरहेको छ । नेपालमा भएका मिडियाहरुको वर्गीकरण गरी दलाल तथा नोकरशाही पुँजीपति वर्गले चलाएको मिडिया, राष्ट्रिय पुँजीपति वर्गले चलाएको मिडिया र साना लगनाीमा संचालित मिडियाहरु छुट्याउनु पर्दछ । राष्ट्रिय पुँजीपतिवर्गको र साना लगानीका मिडियाहरुसँग सम्पर्क र सम्बन्ध बढाउँदै दलाल मिडियाहरुसँग त्यही किसिमको रुख अपनाउन जरुरी छ । क्रान्तिकारीहरुले मिडियाहरुलाई हेर्ने निरपेक्ष दृष्टिकोण सच्याउन आवश्यक छ । र, श्रमजीवि पत्रकारहरुसँग आत्मियतापूर्ण सम्बन्धको विकासमा ध्यान दिन जरुरी छ ।