गान्तोक । भारतको सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले आफ्नो राज्यमा आउने खाद्यान्न रोक्ने भारतीयहरु लाई शत्रुको संज्ञा दिएका छन् ।
उनले ३२ वर्षदेखि आफ्नो सानो राज्यले अनेक दुःख भोग्दै आएको भन्दै उनले अहिले सिक्किको विकास देखेर ईष्र्या गर्नेहरु र खाद्यान्न र पेट्रोल रोक्नेहरु सिक्किमे जनताका दुश्मन भएको उनको भनाई थियो ।
राजधानी गान्तोकमा उनले भने, ‘जसले सिक्कमको उन्नति हेर्न सक्दैन, जसले हाम्रो चामल र पेट्रोल रोक्छ, जसले हामीले गरिखाएको हेर्न सक्दैन, उनीहरु हाम्रा मित्र होइनन्, शत्रु हुन । शत्रुलाई हामीले चिन्न सक्नुपर्छ ।’
गोर्खाल्यान्ड राज्यको माग गर्दै नेपाली भाषी भारतीयले जारी राखेको आन्दोलनका क्रममा सिलिगुडीमा दार्जिजिङ, सिक्कमलगायतका पहाडी क्षेत्रमा जाने सवारी साधनहरु तोडफोड गर्ने, चालकहरुलाई कुटपीट गर्ने तथा नाकाबन्दी गरेर सिक्किमसहितका पहाडी क्षेत्रमा जाने खाद्यान्न समेत रोक्ने कार्य भइरहेको छ ।
जसका कारण सो क्षेत्रमा एक महिनादेखि जारी आन्दोलनका कारण खाद्यान्न संकट बढ्दो छ । सिक्किममा कोही पनि एक अर्काको दुश्मन नरहेको स्पष्ट गर्दै भोटिया, लेप्चा र नेपालीबीच एकता भएको खण्डमा मात्रै सिक्किमको वास्तविक दुश्मन चिनिने उनको भनाई थियो ।
सबै सिक्किमे जनतालाई एक हुन तथा दुश्मनका विरुद्ध संघर्ष गर्न पनि उनले आग्रह गरेका छन् । पछिल्ला ३२ वर्षदेखि गोर्खाल्यान्ड आन्दोलनका कारण राष्ट्रिय राजमार्गमा सिक्किमबासीले दुःख पाउँदा पश्चिम बंगाल सरकार मुकदर्शक बनेको टिप्पणी गर्दै उनले बनर्जी सरकारको कडा आलोचना गरेका छन् ।
पछिल्लो पटक चुलिएको गोर्खाल्यान्ड आन्दोलनका क्रममा पश्चिम बंगालको सिलिगुडीबाट पहाडी क्षेत्रमा जाने सवारीमाथि अनावश्यक रोकतोक हुँदा समेत सरकारले कुनै कदम नचालिरहेको अवस्थामा चाम्लिङको पछिल्लो प्रतिक्रिया आएको हो ।