काठमाडौं । २५ असारदेखि जारी नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक शुक्रबार साँझ सम्पन्न भएको छ । पार्टी अध्यक्ष मोहन वैद्य‘किरण’ले प्रस्तुत गरेको ‘नेपाली समाजको स्वरुप र पार्टीको आम कार्यदिशा’, राजनैतिक प्रतिवेदन र कार्यालय सदस्य रामसिंह श्रीसले प्रस्तुत गरेको ‘पार्टीको विधान’माथि व्यापक छलफल चलाई आवश्यक सुझाव सल्लाह सहित पारित गरिएको छ । प्रस्तुत दस्तावेजमाथि सबै केन्द्रीय सदस्यहरुले आ–आफ्ना धारणा राखेका थिए । धारणा राख्ने सबै केन्द्रीय सदस्यहरुले दस्तावेजले क्रान्तिकारी स्प्रिट बोकेको भन्दै दृढ सहमति व्यक्त गरेको पार्टी कार्यालय सचिव कृष्णभक्त महर्जन‘कगेन्द्र’ले जानकारी दिए ।
अर्ध–सामन्ती, अर्ध तथा नवऔपनिवेशिक रहेकोले नयाँ जनवादी क्रान्ति नै नेपाली समाजको मूल चिरित्र र प्रवृत्ति रहेको निष्कर्ष बैठकले निकालेको छ । ‘नेपाली समाजको स्वरुप र पार्टीको आम कार्यदिशा’ शीर्षकको दस्तावेजमा नेपाली समाजको मसिनोगरी विश्लेषण गरिएको छ । तथ्य र तर्कपूर्ण विश्लेषण गरिएको यो दस्तावेजलाई नयाँ जनवादी क्रान्तिको लागि कोसेढुंगा सावित हुने केन्द्रीय सदस्यहरुले दावी गरेका छन् ।
राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिने दस्तावेजमा छलफल केन्द्रीत गरिएको उक्त बैठकले पार्टीको राष्ट्रिय सम्मेलन आगामी असोजमा गर्ने निर्णय गरेको छ । बैठकले असोज २१ गते पोखरा, चितवन र बुटवलमध्ये एक ठाउँमा सम्मेलन गर्ने निर्णय गरेको स्रोतले बतायो । सम्मेलनलाई लक्षित गरी नवीकरण गर्न बाँकी पार्टी सदस्यहरुको नवीकरण साउन १५ सम्म गरिसक्नुपर्ने पनि निर्णय गरेको छ ।
बैठकले पुरानो प्रतिक्रियावादी राज्यसँग संघर्ष गर्न तथा वर्गसंघर्षको उठान गर्न पार्टी र यस मातहतका सबै जवस, मोर्चाहरुको सांगठानिक संरचनाहरुलाई प्रादेशिक संरचनामा लैजाने निर्णय पनि गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।
बैठकले लिएका निर्णयहरुलाई अझ ठोस बनाउन पार्टी सचिवालयको बैठक शनिबार बस्ने र त्यसले सम्मेलन, संगठन र संघर्षसम्बन्धी योजनाहरुलाई ठोस रुपमा ल्याउने पनि ती केन्द्रीय सदस्यले बताए ।