ठमानसिंह तामाङ क्रान्तिकारी माओवादीबाट निष्काशित

ठमानसिंह तामाङ क्रान्तिकारी माओवादीबाट निष्काशित

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौंका जिल्ला सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका काठमाडौं जिल्ला संयोजक ठमानसिंह तामाङले पार्टीको नीति विपरीत सांगठानिक र आर्थिक अराजकता देखाएको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौं जिल्ला संगठन समितिले एउटा सार्वजनिक प्रेस वक्तव्य जारी गरी तामाङलाई पार्टीबाट निष्काशित गरेको जनाएको छ । 

तामाङले जिम्मेवार कमरेडहरुको हस्ताक्षर किर्ते गरी टुरिजम बैंकको ठमेल शाखाबाट रकम निकाली अपचलन गरेको, संगठनको नीति तथा अनुशासन विपरीत गुटबन्दी गर्दै हिडेको, स्पष्टीकरणका निम्ति जिल्ला पार्टी कार्यालयमा उपस्थितिका लागि ताकेता गर्दा पनि उपस्थित नभएको, पार्टी केन्द्रीय कार्यालयको तर्फबाट संचालित २५ हजारका ८ वटा कुपन प्याड नबुझाएको, सदस्यता नवीकरण गरेका कमरेडहरुको फारम नबुझाएको र छानविनबाट उक्त आरोपहरु पुष्टि भएकाले पार्टी र जवसका सम्पूर्ण जिम्मेवारीबाट तामाङलाई निष्काशित गरिएको व्यहोरा सो वक्तव्यमा उल्लेख गरिएको छ । 

पार्टीकी काठमाडौं जिल्ला संयोजक शारदा महतले २९ असारमा जारी गरेको वक्तव्यमा पार्टीबाट निष्काशित तामाङको कुनै पनि भ्रममा नपर्न पार्टीपंक्ति तथा जनसमुदायमा अनुरोध गरिएको छ ।