
एजेन्सी । अमेरिकाले सिरियामाथि पुनःआक्रमण गर्ने चेतावनी दिएको छ । ह्वाइटहाउसले सोमवार अवेर राति विज्ञप्ति निकालेर यस्तो चेतावनी दिएको हो ।
उक्त विज्ञप्तिमा चेतावनीलाई गम्भीर रुपमा नलिएमा त्यसको घातक परिणाम राष्ट्रपति बसर अल असदको सरकारले व्यहोर्नु पर्ने कुरा उल्लेख गरिएको छ ।
रसायनिक हतियारको प्रयोग हुन लागेको आशंकामा असदको नाममा अमेरिकाले चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
साथै उक्त विज्ञप्तिमा रसायनिक हतियारको प्रयोग र गतिविधिको विस्तृत विवरण उल्लेख नगरिएको पनि सञ्चार माध्यमले जनाएको छ ।
यस नयाँ चेतावनीले अमेरिका र रसिया बीचको तनाव अझै बढ्न सक्ने विश्लेषकहरुको भनाइ छ । रसियाले सन् २०१५ देखि सिरियाली सरकारलाई सहयोग गर्दै आइरहेको छ ।
सिरियामाथि अमेरिकी तत्कालिन आक्रमणको विरोध गर्दै रसियाले अमेरिकाले अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको आरोप लगाएको थियो ।
गत अप्रिल महिनामा रसायनिक हतियार प्रयोगको आरोपमा अमेरिकाले सिरियामाथि आक्रमण गरेको थियो तर सिरियाली सरकारले रसायनिक हतियार प्रयोगको नभएको भन्दै कडा प्रतिवाद गरेको थियो ।






























