यतिखेर नेपाल मण्डलको आधाआधि भागमा गाउँले तहको चुनावी मनसुनले वातावरण तातिएको छ । गत बैसाख ३१ गतेबाट सुरु भएको चुनावी मनसुन आगामी असोज पहिलो हप्तामा गएर समाप्त हुने कुरा सिँहदरबारका सरकारी मौसमविज्ञहरूले बताएका छन् । ‘अरूलाई अरूकै रन्को घरज्वाइँलाई खानकै रन्को’ भनेझैँ किसानलाई बर्सदिन खाने खेती गर्ने चटारोका बेला राजनीतिक दलहरूलाई चुनाउको चटारो परेको छ । खाई नखाई, भ्याई नभ्याई गरेर तँछाड मछाड गर्दै आआफ्ना विकासे कुम्ला कुटुरा बोकेर रैती मनुवाहरूका घरघरमा सत्ताधारी लाउकेहरू ठूलठूला लाउडिस्पिकरबाट जादूको छडिझैँ विकासे योजना बाँटिरहेका छन् । उनीहरूले बाँटेको जादूको छडिले चुनाउपछि यो नेपाल मण्डल संसारकै उच्चकोटीको हुने छ र यसले कुइरे खइरेहरूको मुलुकलाई पनि उछिनेर सबैभन्दा पहिला अर्को ग्रहमा यो मण्डलका मनुखेहरूलाई बसाइँ सराइँ गरेर लैजाने छ । संसारका ठूलठूला विद्धान, वैज्ञानिक, योजनाकार, समाजशास्त्री, दार्शनिकहरूलाई पनि उछिन्ने विद्वान नेता र दलहरू आजसम्म कता गएका थिए होला ? यो कैलुब्राहलाई बडो आश्चर्य लागेको छ । यिनका चुनावी विकसे कुम्ला कुटुरा फुकाएर हेरेको त बाफरे बाफरे बाफरे…, कति हो कति विकास त । नेपालका रैती मनुवाहरूले यस्तो विकासको भार थाम्नै नसक्ने खालको पो छ त ।
चुनाउमा विकासे दलहरूले रैतीहरूलाई बाँटेका विकासे पोका पन्तुरा हेर्ने हो भने आजसम्म रैतीहरूले जे जति दुःखसास्ती भोगे पनि अब भोग्नु नपर्ने भएको छ । यिनीहरूको विकासे पन्तुरा हेर्दा लाग्छ कि यिनीहरूले आजसम्म सत्ता चलाएकै छैनन् । मानौ अहिले सत्तामा भएका दलहरू पनि यिनीहरू होइनन् । यिनीहरूले सत्ता चलाएको भए त अहिले बाँटेका विकासे योजना किन लागू गरेनन् ? यत्रो विधि विकासे योजना निर्माण गरेका दलहरूको हातमा सरकार भैदिएको भए त यो मण्डलका रैती मनुवाहरू उहिल्यै अन्तरिक्षमा पुग्दा रहेछन् । यतिखेर चुनाउमा मेरो दललाई जिताउनुस् म झिलिमिली पार्छु भनेर पो भन्छन् त सबै लाउकेहरू । सरकारवादी लाउके दलहरूले चुनाउमा बाँटेका विकासे योजना यस्ता छन् –
चारतारे दल भन्छ– ‘राणा हटाउने चारतारे, पञ्चायत हटाउने चारतारे, राजा हटाउने चारतारे, गणतन्त्र ल्याउने चारतारे, संविधान लेख्ने चारतारे, चारतारेलाई भोट दिनुस विकास ल्याउँछ चारतारे ।’ राणा हटाएको दावी गर्ने चारतारे दलले २०१५ सालमा एकलौटी बहुमत ल्याएको थियो तर राणा हटाएर ल्याएको बहुदललाई राजाले ख्वाप्पै खाइदियो । राजतन्त्र हटाउन हुँदैन गणतन्त्र हाम्रो एजेण्डै होइन भन्ने चारतारेले कतिबेला राजतन्त्र हटाएछ कुन्नी । ०४७ सालको संविधान संसारकै उत्कृष्ट संविधान हो भनेर सेना पुलिस लगाएर गाउँगाउँमा रैती मनुवालाई गोली भुटुटुटु पार्ने चारतारेले गणतनत्र कतिबेला ल्याएछ ? यो कैलुब्राह त विलखबन्दमा पो प¥यो त । अहिले चुनावी प्रचारमा गरेको विकासे पुन्तुरो उतिवेलै लागू गरेको भए कस्ले छेकेको थियो र ? ०४७ सालदेखि अहिलेसम्म सत्तामा लगातार चारतारेकै हालहुकुम चलेको छ । देश विकास गरेर झिलिमिली पार्न कस्ले रोकेको थियो र ? तैपनि रैतीलाई भेडाबाख्राझैँ खरिद बिक्रि गर्न सफल भएकै छ ।
सूर्यछाप दल भन्छ– ‘भत्ता दिने सूर्यछाप, जग्गा दिने सूर्यछाप, सूर्यछापमा भोट दिनुस २४सै घण्टा घाम ल्याउँछ सूर्यछाप ।’ मानौ सूर्यछापले जित्यो भने अब नेपाल मण्डलमा घाम अस्ताउने नै छैन । चकाचौँध हुने छ । ०४७ यता चार पटक आफ्नै नेतृत्वको सरकार र अरू समयमा भागशान्ति मिलिजुली सरकार चलाएको सूर्यछापलाई पूर्वपश्चिम रेल गुडाउन, हावाबाट विजुली निकाल्न, देशमा ठूलठूला उद्योगधन्दा खोलेर विदेशीएका युवालाई देशमै अड्याएको भए हुन्थ्यो । बुढाबुढीलाई भत्ता दिएको पूmर्ती लाउने सूर्यछापले ती बुढाबुढीका सन्तानलाई विदेशिन रोकेको भए के हुन्थ्यो ? कूलमानले लोडसेडिङ हटाउँदा कमिसन खान रोकियो भनेर कर्मचारीलाई उकासेर हडताल गर्न लगाउने सूर्यछापले गर्ने झिलिमिली विकास कस्तो होला ? यो कैलुब्राह सोचमग्न छ ।
२०६३ पछि संसदवादी दलहरूको शरण परेर चारतारे र सूर्यछापको टाँग मुनी छिरेर लोकतन्त्रसँग पोइल गएको गोलघेरे दल भन्छ– ‘घरघरमा सिंहदरबार ल्याउने गोलघेरे, सङ्घीयता ल्याउने गोलघेरे, गोलघेरामा भोट हाल्नुस् सिङ्गापुर बनाउँछ गोलघेरे ।’ अब सिँहदरबार खोज्न खाडी मुलुक, मलेसिया कोरिया, जापान जानु नपर्ने भएको छ । सबै रैती मनुवाहरूको घरघरमा सिँहदरबार आएपछि त केको दुःख भयो र ? सिँहदरबार खाने, सिँहदरबार लाउने, सिँहदरबार ओड्ने, सुत्ने, बिच्छ्याउने, ओक्तोमुलो गर्ने, लालाबाला पढाउने सबै सिँहदरबारमा हुन्छ । क्या गजबको विकास । यस्तो भएपछि नेपाल मण्डल त सिङ्गापुर, स्वीट्जरल्याण्ड, नर्वे, बेलायत, अमेरिका, अस्ट्रेलिया केके हो केके ? सबै भन्दा राम्रो हुन्छ । यस्तो क्लीयर भिजन भएको यतिराम्रो योजना बनाउने दललाई छोडेर टुक्राटुक्रा हुँदै फुटाउने कस्ता नेता होलान् ? घरघरमा आएको सिँहदरबारले सबैका दुःख हरण हुनेछ । क्या बात गोलघेरे दल ।
सरकारवादी लाउके दलहरूका यस्ता काइदा काइदाका विकासे योजना देखेर यो कैलुब्राह पो अप्ठेरोमा परेर ट्वाँआँ…परेको छ । कस्लाई भोट दिने होला ?!….।
१० असार २०७४