३५ जिल्लाको ३३४ स्थानीय तहका लागि दोस्रो चरणको मतदान सुरु

३५ जिल्लाको ३३४ स्थानीय तहका लागि दोस्रो चरणको मतदान सुरु

काठमाडौं । वर्षाको बिचमा परेको दोस्रो चरणको निर्वाचन अन्तर्गत मतदान गर्ने दिन आज विहान सातै बजेदेखि ३५ जिल्लाको ३३४ स्थानीय तहमा मतदान सुरु भएको छ । असारे झरी परिरहेको प्रतिकूल मौसमका बाबजुद मतदाताहरु मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन् ।

वर्षा मौसमका कारण अधिकांश जिल्लामा बिहानैदेखि पानी परिरहेको भएपनि मतदाताहरु मतदान केन्द्रमा बिहानैदेखि भेला भएर मतदान गरिरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ ।

आज भएको निर्वाचनमा ६२ हजार उम्मेदवार चुनावी मैदानमामा उत्रिएका छन् । प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा ६४ लाख ३२ हजार ७६५ मतदाता रहेका छन् ।

निर्वाचनबाट बिराटनगर महानगरपालिकाका साथै ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा गरी १५ हजार ३५ प्रतिनिधि चयन हुनेछन् ।

आयोगका अनुसार ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उनीहरु मध्ये ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । आयोगले निर्वाचनका लागि ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरेको छ ।