अनुशासनबद्ध पार्टी निर्माणमा जोड लगाउ

अनुशासनबद्ध पार्टी निर्माणमा जोड लगाउ

१. विषय प्रवेश
साम्राज्यवादी पुँजीवादी वा सामन्तवादी राज्य सत्ता भएका हरेक देशहरुमा राज्य र जनताका बिचमा ठूलो अन्तरविरोध भईराखेको छ । किनकी ति देशहरुको राज्य सत्ता एकाध मुठ्ठीभर व्यक्तिहरुका हातमा निहीत छ । उनीहरुले तयार पार्ने नीति, योजना, कार्यक्रम समाजका एकाध व्यक्तिहरुको पक्षमा हुन्छ भने उनीहरुले बनाउने संविधान नियम, कानुन पनि त्यही एउटा सानो संख्यामा रहेको वर्गका पक्षमा हुन्छ । जसले गर्दा आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक लगायत विविध विषयहरु तिनै शोषक वर्गको पक्षमा वा हितमा प्रयोग हुनेगरी तयार पारिन्छ । समाजमा रहेको ठूलो हिस्सा जनताहरु राज्य र राज्यद्वारा संरक्षित शोषक वर्गद्वारा प्रताडित बन्दै आएका छन् । जसका कारण समाज दुई वर्गमा विभाजित बन्दै आएको छ ।

जनताको ठूलो हिस्सा उत्पीडनमा भएर पनि एकताबद्ध हुन नसक्दा र सहिबाटो पहिल्याउन नसक्दा उत्पीडक वर्गले आफ्नो शासनसत्ता टिकाउनर उत्पीडनको कार्यलाई प्रयोग गरीराख्न सफल रहदै आएको छन् । यद्यपी जुन जुन देशहरुमा माक्र्सवादहरुको वैज्ञानिक सिद्धान्तको आधारमा कम्युनिष्ट पार्टीको स्थापना गरेर उत्पीडनमा परेका मजदुर, किसान, महिला लगायत सबैलाई आश्वस्त र विश्वस्त बनाउनको साथै जनसंघर्ष, छापामार संघर्ष हुदै सशस्त्र जनविद्रोह जस्ता संघर्षका उच्चतम रुपका माध्यमबाट शोषक वर्गको शासनमाथि धावा मात्र बोलेनन् बरु त्यसलाई बल पूर्वक फ्याकेर त्यसको ठाउँमा सर्वहारा वर्गको नेतृत्वमा कहि नयाँजनवादी त कँही समाजवादी सत्ता स्थापना गरेर फरक तवरबाट सञ्चालनमा आएका उदाहरणहरु आज हाम्रा अगाडि नभएका होइनन् । रुस र चीन जस्ता विश्वका ठूला देशहरु मात्र होइन पूर्वी जर्मन, उत्तर कोरिया, भियतनाम, क्यूबा लगायत विश्वका दर्जनौ देशहरुले त्यो अविभारा पूरा गरेर देखाए । यद्यपि लडाईको निरन्तरतामा सर्वहारा वर्गले पुनः हार व्येहोर्न बाध्य भएका पनि छन् । सर्वहारा वर्गले हारेता पनि मालेमावादको मार्गदर्शन सिद्धान्त तथा ति देशहरुमा सर्वहारा वर्गले पूरा गरेका ऐतिहासिक कार्यहरु आजका उत्पीडित वर्गका लागि त्यति नै मार्ग दर्शक बनिरहेका छन् । यतिबेलाको समस्या भनेको मालेमावादका आधारभूत सिद्धान्तको आत्मसातीकरण विगतका सर्वहारा वर्गीय क्रान्तिको स्प्रिटलाई बुझ्ने र व्यवहारमा लागु गर्ने कुराका बिचको अभाव खड्किएको अवस्था हो ।

पूँजीवादी वर्गले सर्वहारा वर्ग अथवा उत्पीडनमा परेको वर्गलाई छक्याउन, झुक्याउन र आफ्नो वर्गको शासन सत्ता टिकाउन नयाँ–नयाँ तरिकाहरु अगाडि ल्याउने गरेको छ । त्यसको पछिल्लो कडी भनेको कथित निर्वाचनका माध्यमबाट प्रतिनिधि छान्ने र आफ्नो वर्गको सत्तालाई सुदृढ गर्दै जाने । राज्य सत्ताको वागडोर प्रयोग गरेर साम, दाम, दण्ड, भेद सबै प्रकारका हथकण्डाहरु प्रयोग गर्ने, जनतालाई भ्रमित बनाउने, स्वाभिमानलाई किन्ने, विक्रि गर्न बाध्य पार्ने र आफ्नै वर्गका दलालहरुलाईजिताएर प्रजातन्त्रका नाममा, लोकतन्त्रका नाममा ४ वर्ष वा ५ वर्ष सम्म निर्विवाद रुपमा बहुसंख्यक जनतालाई शोषण, दमन र उत्पीडन गर्ने । यो अत्यन्तै खतरनाक खेल हो । तर उत्पीडित वर्ग सबै भन्दा बढी यसैमा भ्रमित छ ।

२. वर्ग अन्तरविरोधको समाधान –वर्ग संघर्ष
पूँजीपति वर्ग अथवा त्यसका दलालहरुको हातमा राज्य सत्ताको वागडोर रहदासम्म नत शोषण, दमन र उत्पीडन समाप्त हुन्छ नत समाजमा शान्ति कायम हुन सक्छ । यो त युगौं देखि समाधान नभएको विषय वस्तु हो । जुन–जुन देशहरुमा क्रान्ति, विद्रोह वा संघर्षहरु अगाडि बढे ति देशहरुमा खास गरी सर्वहारा वर्गका हातमा सत्ता आएपछि शोषण, दमन र उत्पीडनको अन्त्य पनि भयो र देशको चौतर्फी विकास पनि भयो । जुन देशहरुका राज्य सत्ताका स्वरुप वदलिएनन् त्याहा त्यो सम्भव भएन । आज विश्वका सयौं देशहरुमा कुनै न कुनै प्रकारका संघर्षहरु भै राखेका छन् । जहाँ मालेमावादको मार्ग निर्देशक सिद्धान्तका आधारमा सच्चा कम्युनिष्ट पार्टीहरु गठन गरेर समाजमा रहेका ठूलो हिस्साका जनताका अधिकारलाई सुनिश्चित गर्ने गरी आन्दोलन संगठित हुन नसक्दा विभिन्न प्रकारका नाम गरेका आतंकवादी संगठनको सञ्जालका नामबाट विविध प्रकारका घटनाहरु घटिरहेका छन् ।ति संगठनहरुको नत कुनै उद्देश्य छ नत कुनै नीति नै । नत वर्गको पहिचान छ नत कामकारबाहीको तालमेल छ । मात्र इमान्दार जनता आतंकित, त्रसित र भ्रमित मात्र छ । असामान्य र असन्तुष्टिको चर्को आवाज त सुन्नमा आउछन् । तर समस्याको जरो के हो भन्नेमा सबै अनविज्ञ नै छन् । यसो हुनुको मुख्य कारण भनेको एक त मालेमावादको मार्गदर्शक सिद्धान्तका आधारमा चल्ने नीति, योजना, कार्यक्रम र पार्टी मुख्यतः कम्युनिष्ट पार्टी नहुनु हो । केवल आर्थिक उपार्जनलाई केन्द्रविन्दू बनाएर, असन्तुष्टिलाई जथाभावी प्रयोग गर्नुले अन्तहीन संघर्ष चलिरहेका छन् । वास्तवमा यो वर्ग संघर्षको निमित्त वर्गीय मुक्तिका निमित्त घातक नै सावित हुँदै आएको छ ।

विश्वमा देखापरेको अन्तरविरोधको वैज्ञानिक तवरबाट समाधान भनेको मालेमावादको मार्ग दर्शक सिद्धान्तका आधारमा अथवा त्यसको वैचारिक जगमा टेकेर गरिने वर्ग संघर्ष नै एक मात्र सही विकल्प हो । तर यसलाई व्यवहारमा परिणत गर्न वस्तुगत पक्षको अनुकुलता र आत्मगत पक्षको तयारीको आवश्यकता पर्दछ । क्रान्तिका लागि विश्व भरिको वस्तुगत अवस्था अनुकुल बन्दै गएको छ । तर मालेमावादका आधारभूत सिद्धान्त गहिरोसँग आत्मसात गर्दै सिद्धान्तलाई व्यवहारमा उतार्ने आँट र हिम्मत भएको इमान्दार नेताहरुको अभाव खड्किएको छ । जसले गर्दा वर्ग संघर्ष कमजोर र उद्देश्य विहीन, विचार विहीन प्रकारका आतंकवादी घटनाहरुले प्रश्रय पाईरहेका छन् ।सर्वहारा वर्ग अथवा उत्पीडनमा परेको वर्ग वैचारिक नेतृत्वको अभावमा अलमलमा परिरहेकाछ । त्यसको अर्को पाटो पनि छ, त्यो के हो भने साम्राज्यवाद, पूँजीवाद तथा त्यसका दलाल शक्तिहरुले शोषण गरेर जम्मा गरेको कालो धन लगानी गरेर विश्व स्तरमा प्रचारका साम्रागीहरुको एउटा जालो बनाएका छन् । त्यसको माध्यमबाट आतंकवादी संगठनको बढाई चढाई प्रचार गर्ने गर्छन भने सर्वहारा वर्गको विचार त्यसको सच्चा नेतृत्व र सर्वहारा वर्गको विचार बोकेको कम्युनिष्ट पार्टीले संचालन गरेको वर्ग संघर्षलाई पूरै बेवास्ता गर्छन यात विकृत तवरबाट प्रचार गरेर व्यापक मात्रमा भ्रम दिने काम गर्दछन ।

वर्ग विरोधीहरुले सर्वहारा वर्गको पक्षमा केही गरी दिन्छन कि भनेर आशा, अपेक्षा होइन । उनीहरुको धर्म भनेको आफ्नो वर्गको रक्षा गर्नु नै हो । यही कुरालाई मानेर सर्वहारा वर्गले आफ्नो वर्ग सत्ता प्राप्त गर्न कुनै न कुनै तवरबाट वर्ग संघर्षलाई अगाडि बढाउनै पर्दछ । तबमात्र मालेमावादको रक्षा, प्रयोग र विकास गर्न सकिन्छ । आफ्नो वर्गको रक्षागर्न सकिन्छ । यो नै सर्वहारा वर्गको एक मात्र बाटो हो ।

३. वर्ग संघर्ष अगाडि बढाउन चुस्त प्रकारको पार्टी
आज सम्मको विश्व इतिहासमा पूँजीवादी विचार होस या मालेमावादी सर्वहारा वर्गीय विचार होस् । त्यसलाई व्यवहारतः कार्यन्वयनमा लैजान एउटा अनुशासित पार्टीको आवश्यकता पर्दछ । किनकी विचारलाई व्यवहारमा कार्यन्वयन गर्ने औजार भनेकै पार्टी हो । पार्टीले समाजमा छरिएर रहेका मानिसहरुलाई विचारका आधारमा एउटै सुत्रमा बाँध्छ । विश्वका जुनसुकै देशहरु किन नहोस् त्यसका आफ्नै सामाजिक परिवेशहरु छन् र एउटै देश भित्र पनि फरक फरक प्रकारका सामाजिक परिवेशहरु, साँस्कृतिक मूल्य मान्यताहरु, समाजलाई बुझ्ने आ–आफ्नै मूल्य मान्यता, दृष्ट्रिकोणहरु हुने गर्दछन् । त्यसमा पनि पूँजीवादी विचारका आधारमा निर्मित पार्टीहरु र सर्वहारा वर्गीय मालेमावादी सिद्धान्तका आधारमा निर्मित पार्टीहरुका बिचमा पार्टी संचालन विधि, पद्धति, समाजलाई हेर्ने विश्व दृष्टिकोणमा समेत ठूलो अन्तर रहदै आएको छ । पूँजीवादी पार्टीहरुमा अनुशासका दृष्टिले जति खुकुलो हुन्छ कम्युनिस्ट पार्टी त्यसमा पनि सच्चा कम्युनिस्ट पार्टीमा कडा हुन्छ । खुकुलो र कडा भन्ने विषय पनि कुन हेराईबाट भन्ने प्रश्न उठ्छ । त्यसलाई स्पष्टताका साथ भन्न सकिन्छ त्यो भनेको पूँजीवादी हेराईबाट नै हो । मालेमावादको मार्गदर्शक सिद्धान्तलाई आत्मसात गर्ने हेराईबाट हेर्ने र त्यसलाई व्यवहारमा लागु गर्ने हो भने सर्वहारा वर्गीय अनुशासन कडा होइन सरल नै महशुस हुन्छ ।

हाम्रा दिल दिमागमा पूँजीवादी विकृत मानसिकताको प्रभाव मात्र होइन । कथित कम्युनिस्टका नाममा पूँजीवादी बाटो समातेका संशोधनवादी गुट, उपगुटले पारेको झनै विकृत प्रकारको प्रभावले नराम्रो सँग हाम्रा दिल दिमागहरु प्रभावित भएका छन् । न्युन चेतना र छिपछिपे ज्ञानका कारण हाम्रोे समाजका अधिकांश मानिसहरु सारलाई होइन रुपलाई, दीर्घकालीन फाईदालाई होइन तत्कालीन फाइदालाई, दुःख कष्टलाई होइन सुविधालाई, सामूहिक हित होइन व्यक्तिगत हितलाई प्राथामिकता दिने जस्ता विषयहरुले हरेकका मानसपटलमा घर गर्नुले पूँजीवादी मूल्य, मान्यता र सर्वहारा वर्गीय मूल्य मान्यताका बिचमा भेद छुट्याउन गाह्रो परेको छ । समाजका सचेत भनिएका व्यक्तिहरुको त्यो बुझाई र व्यवहारका कारण सर्वसाधरण जनता मुख्यतः सर्वहारा वर्गका मूल प्रतिनिधि मजदुर, किसानहरु अलमलमा परेका छन् ।

हाम्रो जस्तो अविकसित, अशिक्षित अवस्थाबाट गुज्रेको समाजका जनताको आम चेतना यसै पनि कमजोर छ । खास गरी २००७ साल देखि ०६३÷०६३ साल सम्मका जनआन्दोलनहरु ०२८ साल मुख्यत ०५२ साल देखि ०६३ सम्मको दश वर्षको जनयुद्धले विकास गरेको जनचेतना विषेश उल्लेखनीय नरहेको होइन । तर पनि वर्ग संघर्षको नेतृत्व गरेका प्रमुख नेताहरु प्रचण्ड र बाबुराम भट्टराईमा पैदा भएको वैचारिक विचलन विगतमा क्रान्तिमा होमिएका कयौं नेता, कार्यकर्ता समेत एक पछि अर्को विचलित हुनुले समग्र कम्युनिष्ट आन्दोलनलाई मात्र कमजोर बनाएन स्वयम कम्युनिस्ट पार्टीको सर्वहारा वर्गीय अनुशासन र इमान्दारितालाई समेत कमजोर बनायो । अनुशासन सर्वहारा वर्गीय आदर्श, त्यसका मूल्य मान्यता ओझेलमा पदै गए । गद्धारीको बाटो समातेको संशोधनवादी चंगुलबाट सर्वहारा वर्गीय विचारलाई बचाउन त हामी सफल भयौं तर गैर सर्वहारा वर्गीय पद, प्रतिष्ठा जस्ता चिन्तन प्रवृतिलाई तोड्न र सर्वहारा वर्गीय चिन्तन पद्धतीलाई अंगाल्न अझै सफल भएनौं । जसले गर्दा आफ्नो वर्ग, वर्गीय धरातल, वर्गीय अनुशासन, आफैले गरेको निर्णयको कार्यन्वयनको महत्व, वैचारिक रुपमा सही र गलतको भिन्नता, आजको वस्तुगत आवश्यकता र सर्वहारा वर्गीय आजको कार्यभारलाई सुक्ष्म तवरबाट खुट्याउने क्षमता समेत गुमाउदै गयौं । जसले गर्दा सर्वहारा वर्गको पार्टी अनुशासन अत्यन्तै फितलो बन्न पुग्यो । पार्टीको आम नीति, निर्णय र योजना, कार्यक्रम ओझेलमा पर्ने र आफूलाई लागेका कुरा फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेर रमाउने प्रवृति हाबी बन्न पुग्यो । जसले गर्दा हाम्रा वर्ग वैरीहरु रमाउने, खुशी हुने र सर्वहारा वर्ग अलमलमा पर्ने, कमजोर बन्दै जाने अवस्थाबनेको छ । यसलाई क्रान्तिकारी पार्टीले समयमा सच्याउन आवश्यक छ । सर्वहारा वर्गको वैचारिक हतियार मालेमावादको रक्षा सँगै त्यसको प्रयोग र विकासका निमित्त सर्वहारा वर्गको दोस्रो हतियार भनेको उच्च वैज्ञानिक चेतना सहित वैचारिक एक रुपता भएको अनुशासनबद्द पार्टी हो । नेकपा(क्रान्तिकारी माओवादी)लाई त्यो स्तरमा विकास गर्न यति वेला सबैले आफ्नो पद, प्रतिष्ठा र मनोगत आकाक्षाको एक पटक बलिदान गर्न आवश्यक छ । त्यो आँट र हिम्मत गर्न आवश्यक छ ।

४. अन्त्यमा
मालेमावादको उच्च वैचारिक सिद्धान्तका आधारमा वर्गदुस्मनका सबैखाले किल्लाहरु तोड्नका निमित्त उच्च सहासका पार्टी निर्माण प्रक्रियामा एक पटक जुटौं । प्रतिक्रियावादी वर्ग तथा त्यसैको जुठोपुरो खाएर हुर्केर बढेका संशोधनवादी गद्धारहरुको भविष्य भनेको अधोगतितिर ओरालो लागेको भविष्य हो । सर्वहारा वर्गका इमान्दार तर वैचारिक स्तर कमजोर भएकाहरुको स्तरको विकास गरौं । जानी जानी छिपेर बसेकाहरुको गलत सोचका विरुद्ध संघर्ष गरौं र एउटा सच्चा कम्युनिस्ट पार्टीको निर्माणमा जोड लगाऔं । परिवर्तन सम्भव छ, अनिवार्य छ । निकट भविष्यमा परिवर्तन सम्भव पनि छ । यसैलाई आधार मानेर अगाडि वढौं । यही नै आजको आवश्यकता हो ।