असार २, २०७४ । नेपाल र चीनका स्थानीय अधिकारीहरुको एक बैठक पछिको सहमतिमा अनुसार बिहीबारदेखि किनमेलका लागि कोरला नाका खुला गरिएको छ । नाका खुलेपछि नेपालतर्फका व्यापारी चीनतर्फको भूभागमा लागेको मेलामा पुगेर सामान खरिद गर्न थालेका छन् ।
स्थानीय जनप्रतिनिधि, समाजसेवी, प्रशासनिक व्यक्ति र चिनियाँतर्फका स्थानीय अधिकारीको सहमतिमा १० दिनका लागि नाका खुलाइएको हो । यसका लोमान्थाङका स्थानीय समाजसेवीले पहल गरेका हुन् । बर्सेनि दुईपटक उपल्लो मुस्ताङवासीलाई सामान खरिद गर्न नाका खुलाउने गरिएको छ ।
यसै मौका छोपी पोखरा, बेनी, बागलुङ, जोमसोमका व्यापारीले चीनबाट सामान खरिद गरेर ल्याउने गरेका छन् । नेपालले पनि यही अवसरमा केही घरेलु उत्पादन निर्यात गर्दै आएको छ । कोरला नाका सदरमुकाम जोमसोमदेखि १ सय १० किमि उत्तरमा पर्छ । उपल्लो मुस्ताङवासीलाई पोखराबाट सामान लान टाढा पर्ने भएकाले चीनतर्फको बजारबाट आवश्यक सामान खरिद गर्दै आएका छन् । वर्षा र हिउँदयाम दुईपटक नाका खुलाएर मेला लगाउने गरिएको छ । मेला लाग्ने स्थान कोरला सिमानाबाट १० किमि चीनतर्फको भागमा पर्छ ।
नाका खुलेपछि पोखरा, जोमसोम, लोमान्थाङबाट व्यापारीहरू पुगेको सीमावर्ती गाउँ छोन्हुपका कर्मा सन्तुक गुरुङले जानकारी दिए । ‘व्यापार गर्नेदेखि घरमा चाहिने आवश्यक सामान यही मेलामा खरिद गर्न आएका छन्,’ उनले भने, ‘हामी उपल्लो मुस्ताङवासीका लागि २ र ४ महिनालाई पुग्ने सामान यही मेलामा खरिद गर्छौं ।’ मेलामा खाद्यान्नदेखि लत्ताकपडा र निर्माणका सबै सामग्री पाइने उनले बताए ।
नाकाको सुरक्षा, भन्सारको सेवालाई चुस्त बनाउन बिहीबार नै लोमान्थाङमा सरकारका कार्यालय प्रमुखको बैठक बसेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण खडका, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख वैकुण्ठ न्यौपाने, भन्सार प्रमुख शुक्रदर्शन ढुंगाना, घरेलु तथा साना उद्योगका प्रमुख नागेन्द्र नेपाललगायतका सरकारी अधिकारीले मेला अवधिभर आयात निर्यातलाई सहज बनाउने निर्णय गरेका छन् । नाका खुलेपछि नेपाल सरकारले कोरलाबाट भन्सार कर उठाउन थालेको छ । अन्य दिनहरूमा नाका बन्द हुने भएकाले निष्क्रिय बनेको भन्सार कार्यालय बिहीबारबाट सक्रिय बनेको हो ।
नेपालको सिमानाबाट ३० किमि चीनतर्फ पर्ने ढुंग्वासेन बजारबाट चिनियाँ व्यापारीले नेपाल नजिकैको चौरमा सामान ल्याएर राखेका छन् । यही मेलामा राखिएका सामान नेपालीले खरिद गर्ने गर्छन् ।






























