वर्तमान राजनीतिक अवस्था र क्रान्तिकारी युवाहरुको दायित्व

वर्तमान राजनीतिक अवस्था र क्रान्तिकारी युवाहरुको दायित्व

नेपाली राजनीति दिन प्रतिदिन अत्यन्तै गम्भीर र चुनौतीपूर्ण बन्दै गईरहेको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवाल क्रमशः झन जटिल र संवेदनशील बन्दै गइरहेको छ । क्रान्तिको नेतृत्व गरेर आएका र नायक भनिएकाहरु अन्ततः क्रान्तिको खलनायक र प्रतिक्रान्तिको समेत नायकमा बदलिन पुगेका छन् । विदेशी प्रतिक्रियावादीहरुको दबदबा झनै हाबी बन्न पुगेको छ ।

मुलुकको वर्तमान र भविष्यको समेत सम्वाहक युवा पंक्ति विदेशिने क्रम निरन्तर नै छ । मुलुकका स्रोत र साधनहरु आफ्नो व्यक्तिगत स्वार्थ, सुख, सुविधा, आलिसान महलको निम्ति कौडीका भाउमा विक्री गर्ने काम भईरहेको छ । विदेशिएका युवाहरुबाट प्राप्त विप्रेषण (रेमिट्यान्स) ले आफ्नो आलिसान जिन्दगी जिइरहेका छन् । शोषक वर्गहरु दिन प्रतिदिन अधिक भन्दा अधिक रुपमा श्रमजिवी जनतालाई शोषण गर्ने नीति र कानून निर्माण गरि कार्यान्वयनको प्रक्रियामा लागिरहेका छन् भने मक्किएको प्रतिक्रियावादी राज्यसत्तालाई टेको लगाएर मजबुत पार्न मरिहत्ते गरेरहेका छन् । उर्जाशील र जिउँदो जाग्दो युवा पंक्तिलाई भ्रष्ट बनाएर मुलुकलाई अग्रगति दिनुको सट्टा पश्चगामीतिर लैजानमै लागिरहेका छन् ।

लुटको स्वर्गलाई निरन्तर बचाईराख्न अहोरात्र खटिईरहेका छन् । विदेशी प्रतिक्रियावादीहरु समेत नेपाललाई निरन्तर आफ्नो क्रिडास्थल बनाईरहनको लागि नेपाली अनुहारका दलालहरु मार्फत निरन्तरता दिने प्रक्रियामा तल्लिन छन् भने यहाँका दलालहरु एक आपसमा तछाडमछाड गरी अब्बल दर्जाको दलाल बन्न होडबाजी गरिरहेका छन् । रुपमा फरक देखिएता पनि सार एउटै भएका दलालहरु छन् । भागबण्डा गरि लुट्ने क्रम निरन्तर जारी छ । जनताको मुक्तिको नाममा जनतालाई दास बनाउने, विकासको नाममा मुलुकका स्रोत र साधनहरु कौडीको भाउमा विदेशीलाई सुम्पने, अनि कुरा जनताको र विकासको गर्ने यो कस्तो लाजमर्दो चरित्र छ नेपाली लेण्डुपेहरुको ।

साम्राज्यवाद र विस्तारवादले आफ्ना साखुल्ले दलालहरु पैदा गरी नेपाललाई खेलौनाको रुपमा प्रयोग गरी नै रहने धृष्टता गरिरहेका छन् । राष्ट्रका पहरेदार र संवाहक शक्ति मानिएका युवा पंक्ति अधिक मात्रामा विदेशिने क्रमले त झन स्थिति भयावह बन्दै गएको छ । झण्डै झण्डै करोडकै हाराहारीमा विभिन्न तरिकाले नेपाली नौजवान युवाहरु विदेशिएका छन् । श्रम, सिप, क्षमता र उर्जा यसरी बाहिरिएपछि कसरी स्वाधीन र समुन्नत मुलुक निर्माण सम्भव हुन्छ त ? निश्चय नै अत्यन्तै कहाली लाग्दो अवस्था समेत यसले सिर्जना गरेको छ, स्वदेशमा भविष्य नदेखेर भौंतारिन बाध्य पारिएका युवाहरुको सवालमा अब क्रान्तिकारी युवा पंक्तिले आशा जगाउनु पर्दछ । त्यस्ता युवा पंक्तिलाई स्वदेशमै रोजगारीको सिर्जना गराई समुन्नत मुलुक निर्माणको महान अभियानमा लामवद्ध गराउने आँट गर्नुपर्दछ । राष्ट्रको भविष्य निर्माणमा गम्भीर बन्नै पर्दछ । समाजमा रहेका सबै प्रकारका कुरीति, कुसंस्कार, अन्याय, अत्याचार, विभेदको अन्त्य गरी सुन्दर, स्वाधीन र समुन्नत मुलुक निर्माणको खातिर क्रान्तिकारी युवाहरुले पहल लिनै पर्दछ । यसको लागि दृढ ढंगले आँट र साहस गर्नै पर्ने हुन्छ ।

साँच्चै राष्ट्रघाती र जनघातीहरुका विरुद्ध अब क्रान्तिकारी नेपाली युवाहरुले धावा बोल्नै पर्दछ । नेपाली लेण्डुपेहरुका विरुद्ध आम युवापंक्तिलाई गोलबन्द गरी दलाल, तस्कर, भ्रष्ट शासकहरुका विरुद्ध निर्मम प्रहार गर्नैपर्दछ । अब नेपाली क्रान्तिकारी युवाहरुले सबै प्रकारका विकृति, विसंगति, अन्याय, अत्याचारको अन्त्य गरी मजदुर, किसान, उत्पीडित, उपेक्षित जनताको अधिकार सहितको राज्य सत्ताको निर्माणको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने आँट र साहस गर्नुपर्दछ । जसको निम्ति विचार, राजनीतिमा स्पष्ट, सर्वहारा वर्गप्रति प्रतिबद्ध पार्टी र क्रान्ति प्रति इमान्दार र समर्पित क्रान्तिकारी स्पेरिट सहित निरन्तर संघर्षमा अघि बढ्नु पर्दछ ।

सहि विचार र कार्यदिशा भएको पार्टीले मात्र त्यसको नेतृत्व गर्न सक्ने भएकोले मोहन वैद्य ‘किरण’ नेतृत्वको ने.क.पा. (क्रान्तिकारी माओवादी) पार्टीको झण्डामुनी आम परिवर्तनकामी, सच्चा देशभक्त, जनगणतन्त्रवादी नेपाली युवापंक्तिलाई संगठित र एकताबद्ध गरि अघि बढ्नु अपरिहार्य बनेको छ । अब क्रान्तिकारी युवाहरुले त्यो पहलकदमी लिने आँट गर्नै पर्दछ । क्रान्तिका तीन (३) जादुगरी हतियार पार्टी, मोर्चा र सेनाको अपरिहार्यतालाई समेत गम्भीर ढंगले बोध गर्नुपर्दछ । तेजिलो, गतिशील, सिर्जनशील र अध्यनशीलताको साथै ठोस परिस्थितिको ठोस विश्लेषण गरी निरन्तर अघि बढ्ने आँट गर्दैे आवश्यकतामा क्रान्तिकारी युवाहरु ‘डाइनामाइट’ समेत बन्नुपर्दछ भन्ने आमुल परिवर्तनको दिशामा श्रमजीवि, शोषित, उत्पीडितहरुलाई एकताबद्ध र संगठित गरी क्रान्तिको प्रक्रियामा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्दछ ।

जनताका घरबस्ती टोलमा पुगी पार्टीका नीति, कार्यक्रम र योजनाहरुलाई प्रष्ट पार्नुपर्दछ । मजदुर, किसान, उत्पीडित, उपेक्षित पंक्तिको मुटुको ढुकढुकी र आँखाको नानी बन्ने आँट पर्दछ भने सामन्त, दलाल, तस्कर, भ्रष्ट, राष्ट्रघाती र जनघातीहरुका विरुद्ध ‘एटम बम’ बन्ने आँट समेत गर्नु पर्दछ । सिङ्गो मुलुकको भार थेग्ने र आउँदो पुस्ताको भविष्य निर्माण गर्ने कुरामा फलामे खम्बा बन्ने प्रण गर्नुपर्दछ । इतिहासको गहन जिम्मेवारीलाई आत्मसाथ गर्दै सारसंग्रहवाद, अकर्मण्यतावाद, आत्मसमर्पणवाद, संर्कीर्णतावाद लगायत माक्र्सवाद विरोधी गतिविधिहरुका विरुद्ध निर्मम संघर्षमा होमिदै पुरानोलाई ध्वंस गरी नयाँ इतिहास निर्माणमा लाग्ने ढृढ अठोटका साथ जस्तासुकै आँधी, हुरी, तुफानी, हुण्डरी, ज्वारभाटा र सुनामीका विरुद्ध डटेर सामना गर्दै गन्तव्य तर्फ निरन्तर अघि बढ्नु पर्दछ ।

सशस्त्र जनविद्रोह मार्फत नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरि समाजवाद हुँदै साम्यवाद सम्म पुग्ने लक्ष्यलाई दिल दिमागमा सेट गरी निरन्तर क्रान्तिको यात्रालाई अघि बढाउनु नेपाली क्रान्तिकारी युवाहरुको इतिहासको गहन जिम्मेवारी समेत बन्न पुगेको छ । नेपालमा क्रान्ति अपरिहार्य छ र सम्भव छ । जसको निम्ति क्रान्तिकारी युवाहरुले पहलकदमी लिने आँट गर्नुपर्दछ । अन्ततः यो क्रान्तिकारी युवाहरुको दायित्व समेत बन्न पुगेको छ ।