प्रचण्डको ‘सेन्टिमेन्टल ब्ल्याकमेलिङ’ धन्दा

विनोद सहयात्री

प्रकाशित मिति : २०७४ जेष्ठ २९

पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द) तीव्र प्रतिक्रियावादीकरणको दिशामा उन्मुख रहेको छ । विचार, राजनीति, चिन्तन, प्रवृत्ति, जीवनशैली, कार्यशैली सबै हिसाबले उ प्रतिक्रियावादी कित्तामा उभिदै गएको छ । रुप पक्षमा माओवादी आवरण भए पनि सारतः माकेलाई कांग्रेस, एमाले र राप्रपाको चिन्तन र प्रवृत्ति, आचारव्यवहार भन्दा फरक छुट्याउन नसकिने भएर गएको छ । प्रतिक्रियावादी संसदीय व्यवस्थाको आहालमा चुर्लुम्म डुब्न पुगेको माकेभित्र अहिले यही बुर्जुवा प्रवृत्ति, स्वभाव र शैलीको बोलवाला बढेर गएको छ । परिणामतः माकेका अध्यक्ष दाहाललाई ‘क्रान्ति’को कुरा एक ‘भुलभुलैया’ लाग्न थालेको छ ।

सर्वहारावर्गको अधिनायकत्व, वर्गसंघर्ष, निरन्तर क्रान्ति, बल प्रयोगको अनिवार्यता जस्ता मालेमावादका आधारभूत प्रस्तावनालाई अंगीकार तथा आत्मसात् नगर्ने पार्टी कम्युनिष्ट पार्टी हुन सक्दैन र त्यो माओवादी पनि हुन सक्दैन । यस आधारमा हेर्दा नेकपा (माओवादी केन्द्र)लाई ‘माओवादी’ पार्टी मान्न सकिन्न । किनकि, उसले उल्लेखित प्रस्तावनालाई घुमाउरो पाराले आफ्नो दस्ताबेजबाट नै हटाइसकेको छ । र, उसको जीवन व्यवहारले पनि त्यही पुष्टि गरिरहेको छ । माओवादीको नाममा उसले इतिहासको ब्याज खाइरहेको छ । र, इमान्दार र क्रान्तिकारी माओवादी नेता कार्यकर्ताहरुलाई ‘भुलभुलैया”मा पारिरहेको छ । प्रक्रियावादी सत्ता स्वार्थका निम्ति प्रचण्डलगायत केही मुठ्ठिभर छट्टुहरुले ‘माओवादी’, महान दशवर्षे जनयुद्ध, त्यसको आधार र आयामलाई दुरुपयोग गरिरहेका छन् र बद्नाम बनाइरहेका छन् । विडम्बना ! यति हुँदा पनि माओवादी जनयुद्धको प्रक्रियाबाट आएका केही इमान्दार र क्रान्तिकारी नेता कार्यकर्ताहरुले प्रचण्ड र प्रचण्ड प्रवृत्तिप्रतिको मोह र भ्रम तोड्न सकेका छैनन् ।

नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने अठोटका साथ संगठित गरिएको थियो माओवादी आन्दोलन र त्यही उद्देश्य प्राप्तिका लागि गरिएको थियो तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा दशवर्ष लामो जनयुद्ध । तर प्रचण्डहरुकै विचलन, धोका र गद्दारीका कारण नयाँ जनवादी क्रान्तिमाथि प्रतिक्रान्ति हावी हुन पुग्यो । निर्णायक चरणमा पुगेको नयाँ जनवादी क्रान्ति प्रचण्डहरुकै कारण अहिले रक्षात्मक अवस्थामा धकेलिन पुग्यो । आफ्नो विचलन, विघटन र विसर्जनको ढाकछोप गर्न प्रचण्डहरु अहिले मिथ्यांकहरु प्रस्तुत गर्दै नेपालमा नयाँ जनवादी क्रान्ति पूरा भएको भ्रमपूर्ण व्याख्या गर्दै हिडेका छन् । र, नयाँ जनवादी क्रान्तिका पक्षधर वास्तविक माओवादी र कम्युनिष्ट क्रान्तिकारीहरुका विरुद्ध उनीहरुले अनेकौं जाल, झेल, षड्यन्त्रका हतियारहरु प्रयोग गरिरहेका छन् र आमूल परिवर्तनका पक्षधर जनपंक्ति र राजनीतिक नेता कार्यकर्ता पंक्तिमा भ्रमको खेती गरिरहेका छन् । आफ्नो अस्तित्वमाथिको खतरा उनीहरुले जनवादी क्रान्तिका पक्षधरहरु सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुबाट देखिरहेका छन् । तसर्थ, उनीहरु नयाँ जनवादी क्रान्तिको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको नेकपा (क्रान्तिकारी माओवादी) र यसको नेतृत्वपंक्ति र कार्यकर्तापंक्तिका विरुद्ध निरन्तर धावा बोलिरहेका छन् । र, “माओवादी एकता”को जालमा पार्न सकिने विश्लेषणका साथ ‘सेन्टिमेन्टल ब्ल्याकमेलिङ’को धन्दा चलाइरहेका छन् । नक्कली माओवादीहरुको एकताको जालमा सक्कली माओवादीहरुलाई पारेर नामेट पार्न पाए आफ्नो अस्तित्वको रक्षा हुने देखेका उनीहरुले “माओवादी भावना”को कुरा गरेर कथित एकताको नाममा मालेमावादी विचार, सिद्धान्त, उद्देश्य र आदर्शबाट च्युत गरेर दक्षिणपन्थी अवसरवादी र संशोधनवादी बनाउन लागिपरेका छन् । यो उनीहरुलाइ वैदेशिक प्रतिक्रियावाद (भारतीय विस्तारवाद)ले दिएको जिम्मेवारी पनि हुन सक्छ ।

तर सत्य के हो भने वास्तविक कम्युनिष्ट क्रान्तिकारीहरु र माओवादीहरु अब प्रचण्ड र माकेको भ्रमबाट विस्तारै मुक्त हुँदैछन् र क्रान्तिकारी ध्रुवीकरणको प्रक्रियाले गति लिदै गएको छ । माकेमा जति प्रक्रियावादीकरणको प्रक्रियाले तीव्रता पाउँछ, त्यति नै क्रान्तिकारी ध्रुवीकरणको प्रक्रियाले पनि तीव्रता पाउँछ । यो द्वन्द्ववादको नियम नै हो । माकेलाई प्रतिक्रियावादी शक्ति करार नगरेसम्म नेपालमा नयाँ जनवादी क्रान्तिको अबरुद्ध प्रक्रियाले गति लिने देखिन्न ।