अरब राष्ट्रको निर्णयपछि कतारले भन्यो, ‘राजनीतिक सम्बन्ध विच्छेदको कुनै औचित्य छैन’

अरब राष्ट्रको निर्णयपछि कतारले भन्यो, ‘राजनीतिक सम्बन्ध विच्छेदको कुनै औचित्य छैन’

एजेन्सी– साउदी अरब र इजिप्टसहित विभिन्न ६ वटा अरब राष्ट्रले अर्को अरब राष्ट्र कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेका छन् ।

कतारले यस क्षेत्रको क्षेत्रीय स्थिरतामा असर पारेको र चरमपन्थी समूहलाई आर्थिक सहायता दिएर संरक्षण गरेको आरोप लगाउदै ६ वटा देशहरुले कूटनीतिक सम्बन्ध अन्त्य गरेका हुन् ।

कतारमाथि यी राष्ट्रले चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) र अल कायदालाई आर्थिक सहयोग गरेको आरोप लगाएका छन् ।

साउदी अरबको राष्ट्रिय समाचार एजेन्सी एसपीएले रियादले कतारसँगको स्थलगत, हवाई, सामुद्रिक सीमा बन्द गरेको जनाएको छ । अमेरिका नजिकका शक्तिशाली अरब राष्ट्रहरुको यो कदमले खाडी राष्ट्रबीच ठूलो विभाजन हुने देखिएको छ ।

खाडी राष्ट्र र छिमेकी इरानबीच बढ्दो तनावबीच यस्तो निर्णय आएको हो । साउदीले कतारमाथि बहराईनको पूर्वी इलाकामा इरान समर्थित आतंकवादी समूहलाई सहयोग गरेको आरोप लगाएको छ । दुई मुस्लिम राष्ट्र साउदी र इरानबीच लामो समयदेखि तनाव रहँदै आएको छ ।

यमनमा जारी द्वन्द्वमा सामेल हुथी विद्रोहीलाई इरानले नै आर्थिक र हतियार सहयोग दिने गरेको साउदीको आरोप छ । सो समूहविरुद्ध साउदी नेतृत्वको गठबन्धनले यमनमा कारबाही जारी राखेको छ ।

तेलको धनी सानो राष्ट्र कतारले भने कूटनीतिक सम्बन्ध विच्छेदको निर्णय औचित्यहीन र सत्यतथ्यमा आधारित नरहेको बताएको छ । कतारले साउदी अरब, इजिप्ट, संयुक्त अरब इमिरेड्स (युएई), बहराइन, यमन र लिबियाको निर्णय कुनै वैध औचित्यमा आधारित नरहेको स्पष्ट पारेको छ ।

साउदीले सोमबार बिहान सरकारी सञ्चारमाध्यम मार्फत राष्ट्रिय सुरक्षाका लागि केही कदम चालिरहेको जनाएको थियो । सो समाचार एजेन्सीमार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा कतारमाथि आतंकवादी र साम्प्रदायिक समूहलाई सहयोग गरेर अरब क्षेत्रमा अस्थिरता पैदा गर्ने लक्ष्य राखेको आरोप लगाइएको छ ।

आफ्नो देशसँगको कूटनीतिक सम्बन्ध तोडेपछि प्रतिक्रिया दिदै कतारले यो आफ्नो देशको सम्प्रभुतामाथिको उल्लंघन भएको बताउँदै आफ्ना नागरिक र लाखौं जनतामाथि कुनै असर हुन नदिने वचन दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो आधारहीन हो, जुन प्रकारको दाबी गरिएको छ, त्यसको कुनै औचित्य छैन । यो निर्णयले नागरिक र कतारबासीमाथि कुनै प्रभाव पर्ने छैन ।’

कतारी विदेशमन्त्रीद्वारा जारी विज्ञप्तिमा ‘यो हाम्रो राज्यमाथि आफूहरुको प्रभुत्व कायम गर्ने उद्देश्यले आएको हो र कतारको सम्प्रभुताको ठाडो उल्लंघन समेत हो ।’

कतारले आफ्नो समाज र अर्थतन्त्रलाई तहसनहस पार्ने षडयन्त्रबाट अरब राष्ट्रहरुको पछिल्लो निर्णय आएको उल्लेख गरेको छ ।

साउदी अरब, युएई र बहराइनले आफ्ना देशमा रहेका कतारी पर्यटकलगायत सबैलाई देश छाड्न दुई साताको समय दिएको छ । युएईले कतारी कूटनीतिज्ञलाई देश छाड्नका लागि ४८ घन्टाको समय दिएको छ ।

यसैगरी सम्बन्ध विच्छेदको घोषणा गरेसँगै इत्तिहाद, इमिरेड्स एयरलाइन्सका उडानहरु समेत रद्द भएका छन् भने कतार एयरवेजलाई एयरस्पेस नदिने भएपछि साउदीका उडानहरु रद्द भएका छन् । दुई साताअघि मात्रै इजिप्ट, साउदी अरब, बहराईन र युएईले कतारी अनलाईनहरु ब्लक गरेका थिए ।

यसअघि सन् २०१४ मा साउदी अरब, बहराईन र युएईले केही महिना आफ्ना राजदूतहरुलाई कतारबाट फिर्ता बोलाएका थिए । कतारसँगको यो सम्बन्ध विच्छेदको घटनाले सन् २०२२ मा अयोजना हुने विश्वकप फुटबललाई समेत असर पर्ने कतिपयको विश्लेषण रहेको छ ।

कतारमाथि लागेको यो प्रतिबन्धसँगै सोमबार त्यहाँको शेयर बजारमा गिरावट आएको छ भने खाद्यान्नको समेत समस्या हुने देखिएको छ । कतारमा आयात हुने खाद्यको ४० प्रतिशत साउदी अरबबाट लोरीमार्फत जाने अनुमान छ ।

सोमबार बिहानदेखि नै कतारमा खाद्यन्न तथा पानीको संचित गर्नका लागि सर्वसाधारणको बजारमा भिड लागेको छ ।

अमेरिकी विदेशमन्त्री रिक्स टिलरसनले भने अरब मुलुकहरुको यो समस्यालाई वार्ता र छलफलका माध्यमबाट समाधान गर्न आग्रह गरेका छन् ।

इरानले कतार र अन्य अरब मुलुकबीच देखिएकोे समस्या राजनैतिक वार्ता र शान्तिपूर्वक समाधान गर्न दुवै पक्षवीच सम्वाद गर्न आग्रह गरेको छ ।

कतार लगायत अन्य अरब मुलुकसँग सुमधुर सम्वन्ध भएको अर्को मुलुक टर्कीले अरब क्षेत्रमा देखिएको पछिल्लो समस्या समाधान गर्न टर्की तत्पर रहेको जनाएको छ ।

टर्कीका विदेशमन्त्री मेभलुट कभुसोग्लुले समस्यालाई सामान्य बनाउन इश्तानबुलले सबै किमिमको सहयोग गर्ने जनाएका छन् ।