‘च्याप्प हात समात्यो, अनि पाँच फन्का घुमायो, पछार्याे म डगमगाइन र हात चुँडेर लग्यो ’

‘च्याप्प हात समात्यो, अनि पाँच फन्का घुमायो, पछार्याे म डगमगाइन र हात चुँडेर लग्यो ’

चितवन । गोहीले हात चुडेर लगेपनि चितवनका प्रसाद महतो ज्यान बँचेकोमा खुसी छन् ।

पूर्वी चितवनको कुमरोज नजिकै रहेको इचर्नी खोलामा माछा मार्न जाँदा बुधबार अपराह्न गोहीको आक्रमणमा परेका ४६ वर्षीय प्रसाद महतोको भरतपुरस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको छ ।

गोहीको आक्रमणबाट उनको दाहिने हात गुमेको छ । गोहीले हात चुँडेर लगेपछि उनलाई उपचारका लागि अस्पताल ल्याइएको हो । खैैरहनी वडा नं १३ धर्मपुर घर भएका महतो बुधबार दिउँसो माछा मार्न गएका थिए ।

अपरान्ह साढे तीन बजे इचर्नी खोलामा तियारी जाल बिछ्याउँदै माछा मार्न थालेका थिए । उनका साथीहरु माइला र पलार सँगै थिए । दुई छेउबाट जाल बिच्छ्याउँदै जाँदा खोला छेउमै कहाँबाट मगरगोही आयो पत्तै भएन ।

‘च्याप्प हात समात्यो, तान्न थालिहाल्यो, अनि पाँच फन्का घुमायो, पछार्याे,’ प्रसाद महतोले घटना विवरण सुनाउँदै भने, ‘लान खोजेकोथ्यो, म डगमगाइन र हात चुँडेर लग्यो ।’

उनको भनाइअनुसार त्यो समयमा आफूले मुड्कीले हानेपनि लट्ठी नभएकाले हात लगेको हो । सँगै रहेका माइलाले पनि लात्ता र मुड्कीले हानेका थिए । तर केही सीप नलागेको प्रसाद बताउँछन् । अहिले एलाइभ अस्पतालमा मुख्य शल्यक्रिया सफल भएको छ ।

‘हड्डी लामो थियो । तीन सेन्टीमिटर हड्डी काटिएको छ,’ डा प्रमोद लामिछानेले भने । उनका अनुसार अस्पताल आउँदा रगत बग्ने नसा बन्द भएकोले उनी बाँच्न सफल हुनु ठूलो भाग्य हो ।

सिधा जोडिएको नसा खुलेको भए रगत बगेर ज्यानै जाने डा.लामिछाने बताउँछन् । अब करिब एक महिना अस्पताल बस्नुपर्ने उनको भनाइ छ । घरमा खानका लागि माछा मार्न गएको महतोको भनाई छ । उनी विदेशमा काम गरेर ९ महिनाअघि मात्रै घर फर्केका थिए ।