
काठमाडौं । कंचनपुरको आनन्दबजार हत्याकाण्डको घाउ सेलाउन नपाउँदै भारतीय प्रहरीले नेपाली भूमिमा प्रवेश गरेर मध्यरातमा अपहरण शैलीमा नेपालीलाई नै बन्धक बनाएका छन् । दिपायल–सिलगढी नगरपालिका–८ लडागडाका लालबहादुर आउजीलाई घरबाटै बन्धक बनाएर भारततर्फ लैजाने क्रममा स्थानीयले नेपाल प्रहरीलाई खबर गरेपछि भारतीय प्रहरीका डिएसपी नागराजसहित सातजनाको समूहलाई प्रहरीले पक्राउ परेको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय डोटीमा राखिएको छ । बन्धक बनाइएका आउजीलाई पनि प्रहरी कार्यालयमा छुट्टै हिरासतमा राखिएको छ । प्रहरीले घटनाबारे पत्रकारलाई कुनै सूचना दिएको छैन । जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक डिल्लीराज बिष्टले घटनाबारे जानकारी दिन नमिल्ने बताएका छन् । प्रहरीले घटनामा संलग्न गाडी त्रिपालले छोपेर राखेका छन् । पत्रकारहरुलाई फोटो खिच्न दिइएको छैन ।
डिएसपी नागराज सहितका पाँच जना भारतीय प्रहरीहरुले नेपालको सुरक्षा निकायसँग कुनै समन्वय नै नगरी नेपालीलाई घरबाटै मध्यराती अपहरण शैलीमा बन्धक बनाएर भारत लैजान लागेका थिए ।
भारतमा बैंक डकैतीको आरोप लागेका लालबहादुर आउजीलाई, भारतमा रहेका उनकै दुई जना साथीहरुहरुको सहयोगमा भारतीय प्रहरी डोटी पुगेको थियो । यसअघि २०७३ साल बैशाखमा पनि डोटी र अछामको सिमानामा पर्ने चौखुट्टे क्षेत्रबाट पाँच भारतीय सुरक्षाकर्मीहरु हतियारसहित पक्राउ परेका थिए ।
डोटी घर भएका दुई नेपालीको सहयोगमा भारतीय प्रहरी कैलालीको धनगढीस्थित पीएस टुर्स एण्ड ट्राभल्सको नामबाट स्कारपीओ रिजर्ब गरी डोटी पुगेका थिए । ट्राभल्सका सञ्चालक पदम सिंहले गाडी मिलाईदिन बारम्बार दवाव दिएपछि पर्यटकका रुपमा स्कर्पियोको ब्यवस्था गरिएको बताउनुभयो । लालबहादुरका छिमेकीकाअनुसार गएराती करिव २ बजे भारतमा मजदूरी गर्दै आएका लडागडाकै प्रसाद कार्कीलाई उतैबाट समातेर लाल बहादुर आउजीको घर देखाउन लगाएका थिए । प्रसादले मध्यरातमा ढोका खोल्न भनेपछि लालवहादुरकी श्रीमतीले ढोका खोलेको र घरभित्र प्रवेश गरी कुटपीट गर्दै लालबहादुरलाई गाडीमा राखेर लगेको स्थानीयबासीले बताएका छन् । घटना लगत्तै स्थानीयले लडागडा प्रहरी कार्यालयलाई जानकारी गराएका थिए । लडागडा प्रहरी कार्यालयले गाडी समात्न नसकेपछि जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिएका थिए । त्यसपछि प्रहरी कार्यालयले बन्धक बनाइएका आउजी सहितलाई पक्राउ गरेको थियो ।
यसअघि नवलपरासीको कुडिया गाविस–९, पथरकल्लाका अन्दाजी ५८ वर्षीय रामचन्द्र मल्लाहलाई भारतीय प्रहरीले पक्राउ गरी लगेको थियो । नेपाली सुरक्षा निकायलाई कुनै जानकारी नै नदिई भारतीय प्रहरीले २६ फागुन, ०७० मा बिहान ९ बजे मल्लाहलाई बन्धक बनाएर लगेका थिए । पाँच–छ जनाको संख्यामा आएका भारतीय प्रहरीले हतियार देखाई जबरजस्ती मल्लाहलाई त्रिवेणी ब्यारेज पुल हुँदै विहारतर्फ लगेको स्थानीय बासिन्दाले बताएका थिए । उनको हालसम्म कुनै अत्तोपत्तो छैन ।
प्रकाशमा आएका यस्ता कैयौं घटनाहरुप्रति नेपाल सरकार पूरै उदासिन रहँदै आएको छ भने भारतीय ज्यादती दिनानुदिन बढोत्तरी हुँदै गएको छ । भारतीय प्रहरीको आतंकबाट आक्रान्त सीमाका नेपालीहरुमाथि घटित यस्ता कैयौं घटना दबिएर रहेको सीमाविद्हरु बताउँछन् । भारतीय विस्तारवादी शासकहरुसँग लम्पसार पर्दै आएको प्रचण्ड नेतृत्वको सरकारले कंचनपुर हत्याकाण्डमा त भारतीय सरकारलाई माफी मगाउन सकेन भने डोटी काण्ड त सरकारको लागि सामान्य विषय बन्न पुगेको छ । तर एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रको भूमिमा प्रवेश गरेर विना अनुमति यी देशको नागरिक गिरफ्तार गरेर लैजानु भनेको नेपाली राष्ट्रियतामाथिको सिधा हस्तक्षेप हो । स्वाभिमानी नेपालीहरुले यस घटनाको कडा विरोध र भण्डाफोर गर्न जरुरी छ ।