काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी रहेका बेला माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोलले हार स्वीकार गरेका छन् ।

करिब २ लाख मत खसेको काठमाडौंमा १५ हजार मत गन्दा आफ्नो असाध्यै कम आएपछि उनले हार स्वीकार गरेका हुन् ।

संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले हालसम्म ४ सय ९४ मत मात्रै पाएका छन् । पहिलो स्थानमा रहेका ५ हजार ४ सय भन्दा बढी मत ल्याइसकेका छन् ।

माओवादी केन्द्रका डंगोललाई विवेकशील पार्टीकी रञ्जु दर्शना र साझा पार्टीका उम्मेदवार किशोर थापाले समेत पछि पारेका छन् । लगातार कम मत आएपछि माओवादी उम्मेदवार डंगोलले हार स्वीकार गरेका छन् ।

डंगोलले सुरुवाती मतको रुझानलाई हेर्दा आफ्नो मत निकै कम आएपछि हार स्वीकार गरेका हुन् । उनले काठमाडौंमा पार्टीको पराजयका पछि पार्टी कमजोर हुनु, स्थानीय मतदाता कम हुनु, संघीयता, गणतन्त्र लगायतका पार्टीका एजेण्डा स्थपित गर्न नसक्नु र पार्टीको नेतृत्वको असहयोगी भूमिका प्रमुख कारण रहेको औल्याएका छन् ।

सर्वोत्तम डंगोललाई काठमाडौंमा माओवादी केन्द्रले उम्मेदवार उठाएपनि काँग्रेस र माओवादी केन्द्रबीच तालमेलको खबर बाहिर आएको थियो । यद्यपि पोखरा र भरतपुरमा तालमेल भएपनि काठमाडौंमा तालमेल भएको थिएन ।

पछिल्ले समयमा काठमाडौंमा आएको मतलाई हेरेर माओवादी केन्द्रका कार्यकर्ताले सामाजिक सञ्जालमा गरेका नकारात्मक टिप्पणी बन्द गर्न र मतदाताको अपमान नगर्न पनि उनले आग्रह गरेका छन् ।

काठमाडौं देशको सबैभन्दा महत्वपूर्ण महानगरपालिका भएपनि माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी उम्मेदवार रहेको भरतपुर महानगरपालिकालाई बढी महत्व दिएको थियो ।

माओवादी केन्द्रभित्रै प्रचण्डपुत्री उम्मेदवार भएको स्थानलाई बढी महत्व दिएको र अन्य नेताहरु उम्मेदवार रहेका स्थानलाई कम महत्व दिएको भन्दै नेता कार्यकर्तामा असन्तुष्टि देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर