चार महानगरपालिकामध्ये एमाले तीन र काँग्रेस एक स्थानमा अगाडि

चार महानगरपालिकामध्ये एमाले तीन र काँग्रेस एक स्थानमा अगाडि

काठमाडौं । आइतबार भएको स्थानीय तहको निर्वाचन अन्तर्गत चार वटै महानगरपालिकामा मतगणना जारी रहेको छ ।

बिहीबार बिहानसम्मको मतगणनाको पछिल्लो परिणामअनुसार चार महानगरपालिकामध्ये तीन वटामा एमाले र एउटा महानगरपालिकामा काँग्रेस अघि रहेको छ ।

काठमाडौं, पोखरा र भरतपुर महानगरपालिकामा एमालेले अग्रता कायम गरेको छ भने ललितपुर महानगरपालिकामा नेपाली काँग्रेस अघि रहेको छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले ५ हजार ४५८ मत पाएका छन् भने कांग्रेसका उम्मेदवार राजुराज जोशीको ३ हजार २३५ मत छ ।

काठमाडौंमा विवेकशिल नेपालीकी रन्जु दर्शनाको मत २ हजार २०१ र साझा पार्टीका किशोर थापाको १ हजार ४९८ मतका साथ पछ्याइरहेका छन् । माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोलको मत भने ४९४ छ ।

ललितपुर महानगरपालिकामा कांग्रेसका चिरिबाबु महर्जन र एमालेका हरिकृष्ण व्यन्जनकारबीच प्रतिस्पर्धा देखिएको छ । महर्जनको ९ हजार ४३२ र व्यन्जनकारको ९ हजार २७८ मत छ । माओवादीका दिनेश महर्जनले १ हजार ३५२ मत पाएका छन् ।

ललितपुरमा साझा पार्टीका रमेश महर्जनले ४ हजार २८१ मत र नयाँ शक्तिका मदन महर्जनले १०८ मत ल्याएका छन् ।

यसैगरी पोखरा महानगरपालिकामा एमालेका मानबहादुर जिसीले ९ हजार ३१७ मत छ । कांग्रेस–माओवादी गठबन्धनबाट मेयर उम्मेदवार बनेका कांग्रेसका रामजी कुँवरले ८ हजार ९३१ मत पाएका छन् ।

चितवनको भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवालीले अग्रता कायम राखेका छन् । माओवादी उम्मेदवार रेणु दाहालभन्दा ज्ञवाली २ हजार बढी मतअन्तरले अगाडि छन् । ज्ञवालीको ६ हजार ७३५ र दाहालले ४ हजार ९८७ मत पाएकी छन् ।