सर्वहारावर्ग अरु वर्गहरुभन्दा बढी प्रगतिशिल भएकोले, त्यसले अरुहरुको नेतृत्व गर्नुपर्छ, र त्यो कमरेड माओ चतुङको शब्दमा, “कमान गर्ने अधिकारी” (Commanding Officer) बन्नुपर्छ । तर सर्वहारावर्गले कमानको स्थिति आफसेआफ प्राप्त गर्दैन । किसानवर्गदेखि ठूला पुँजीपतिवर्ग सबै हाम्रो पक्षमा छन् र हामीलाई कमान गर्ने अधिकारी मान्छन् भन्न सकिदैन । महान् क्रान्तिको बेलामा, पेङ शूचि नाउँ गरेका एकजना मानिसले लेखेको एउटा लेखमा के भनियो भने सर्वहारावर्ग आफसेआफ नेता हुन्, त्यसैले नेतृत्वको लागि संघर्ष गर्नमा कुनै आधार छैन । उक्त धारणा नेतृत्वको लागि संघर्षसम्बन्धी कमरेड माओ चतुङको विचारको पूरै विपरीत छ । सर्वहारावर्ग र कम्युनिष्ट पार्टीले संघर्षमार्फत् नेतृत्व हासिल गर्नुपर्छ, किनभने अरुहरु पनि, ठूला पुँजीपतिवर्ग मात्र होइन, उदार पुँजीपतिवर्ग र निम्न–पुँजीपतिवर्ग पनि नेतृत्वको लागि लडिरहेका छन् । तर नेतृत्वको लागि हामीसित लडिरहेको मुख्य शक्ति ठूला जमिन्दार र ठूला पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने शासक समूह, क्वोमिन्टाङ हो । तसर्थ, संयुक्त मोर्चाको नेतृत्वका लागि एक अर्कोसित संघर्ष गर्ने शक्ति मुख्यरुपले क्वोमिन्टाङ र कम्युनिष्ट पार्टी हुन् । ठूला पुँजीपतिवर्ग हाम्रो प्रमुख प्रतिद्वन्द्वी हो । किनकि एउटा इकाइमा दुईजना कमान गर्ने अधिकारी भएमा, तिनीहरुमा मुक्कामुक्की चल्नु स्वभाविक छ, र एकजनाले सो स्थितिलाई छाड्नै पर्छ । महान क्रान्तिको सुरुका दिनहरुमा एक समय क्वोमिन्टाङ र कम्युनिष्ट पार्टी एउटै शक्तिमा एकताबद्ध थिए । क्रान्तिको असफलतापछि, ती दुइटा शक्तिमा विभाजित भए र ती आजसम्म विभाजित रहेका छन् । एउटा हो सर्वहारावर्गको प्रतिनिधित्व गर्ने कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको शक्ति— यस्तो शक्ति जुन अहिले एउटा जनसेना मुक्त इलाकाहरु भएको विन्दुसम्म विकसित भएको छ । अर्को हो ठूला जमिन्दार र ठूला पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने क्वोमिन्टाङको नेतृत्वमा रहेको शक्ति— यस्तो शक्ति, जसले अठाह्र वर्षसम्म एक– पार्टी तानाशाही शासन चलाएको छ । यी दुई शक्तिहरु एक अर्कोसित लडिरहेका छन् र दुवै किसानवर्ग, निम्न–पुँजीपतिवर्ग र उदार पुँजीपतिवर्गलाई आफ्नो पक्षमा तान्न खोजिरहेका छन् । कोही मानिसहरु के भन्छन् भने हामी किसान र निम्न–पुँजीपतिहरुको मात्र समर्थन पनि प्राप्त गर्न चाहन्छौं । त्यो कुरा साँचो होइन । हामी उदार पुँजीपतिवर्गको समर्थन प्राप्त गर्न चाहन्छौं । जनतालाई आफ्नो पक्षमा तान्न र तिनको नेतृत्व गर्न त्यसको प्रत्येक पक्षद्वारा अपनाइएका तरिकाहरु फरक छन् । क्वोमिन्टाङले दमनको सहारा लिन्छ । त्यसले मजदुर र किसानहरुलाई मात्र होइन, निम्न–पुँजीपतिवर्ग र उदार पुँजीपतिवर्गलाई पनि दबाउँछ । हाम्रो तरिका भनेको हामीले तान्नसक्ने सबैसित सहयोग गर्नु हो । किसानवर्गसित हाम्रो सम्बन्ध उत्कृष्ट छ र निम्न–पुँजीपतिवर्गसित सम्बन्ध पनि धेरै राम्रो छ । उदार पुँजीपतिवर्गसित हाम्रो सम्बन्ध अरुसितको सम्बन्ध जस्तो छैन । सो सम्बन्ध महान क्रान्तिको सुरुको र मध्य अवधिमा मैत्रीपूर्ण सैनिकहरुसितको हाम्रो सम्बन्ध जस्तो छ । यहाँ समस्या के छ भने उदार पुँजीपतिवर्ग सँधै हाम्रो कुरा सु्न्दैन र अक्सर आफ्नो स्वाधीनतामा जोड दिन्छ । त्यसैले, सबै कुरामा होइन कि ठूल–ठूला सवालको सम्बन्धमा मात्र उदार पुँजीपतिवर्गको नेतृत्व गर्न सक्छौं । निश्चय पनि, भिन्ना–भिन्नै परिस्थितिमा उदार पुँजीपतिवर्गसितको व्यवहारमा हामी सारतत्व मात्र होइन, नेतृत्वको रुप पनि पाउन सक्छौं । उदाहरणका लागि, मुक्त क्षेत्रहरुमा उदार पुँजीपतिवर्ग हाम्रो औपचारिक नेतृत्वलाई स्वीकार्न सक्छ, हुन त त्यो अझ पनि आफ्नो स्वाधीनता कायम राख्न चाहन्छ ।

के हामी कहिले काहीं ठूला जमिन्दारहरु र ठूला पुँजीपतिहरुको नेतृत्व गर्न सक्छौं ? ऐतिहासिक अनुभवले के दोखाउँछ भने हामीले सामुहिक रुपमा वा कुनै खास सवालमा तिनीहरुको नेतृत्व गर्नु सम्भव छ । सामान्य रुपमा भन्ने हो भने, आफू कमजोर हुँदा तिनीहरुले हाम्रो नेतृत्वलाई सकार्न सक्छन् । उदाहरणार्थ, १९२६ मार्च २० तारिखपछि, च्याङ काई शेकले हाम्रो नेतृत्वलाई सकार्न चाहेनन्, तर उनमा उत्तरी अभियानलाई अघि बढाउने तागत थिएन, त्यसैले उनले हामी र सोभियत संघसित मद्दत मागे । हाल उनले हाम्रो नेतृत्वलाई स्वीकारे, तर लामो समयको लागि होइन, किनभने देखावटी रुपमा हामीलाई नेतृत्व गर्न दिएको भए पनि उनले हामीबाट पृथक हुन तयारी गरिरहेका छन् । हिजो प्रस्तुत गरिएको कमरेड चुतेको प्रतिवेदनमा अर्को दृष्टान्त दिइएको छ । जब कोमिन्टाङ सैनिकहरु निकै कठिन स्थितिमा परे र तिनीहरु उत्तरी चीनमा अघि बढिरहेको नौ वटा शत्रु–सैनिक डफ्फाको घेराबन्दीमा परे, तिनीहरु प्रधान सेनापति चुतेको नेतृत्वलाई स्वीकार्न इच्छुक भए । तर त्यो क्षणिक मात्र रह्यो । आफ्नो पृष्ठ भागसँग सम्पर्क बनाएपछि, तिनीहरु भाग्नेछन् र अनि फर्केर हामीमाथि हमला गर्नेछन् । त्यसैले हामीले निरन्तर आफ्नो रखबारी गर्नुपर्छ । जब प्रतिरोध युद्धमा लाग्ने च्याङ काई–शेकले निर्णय ग¥यो, हामीले उनलाई युद्धतिर लगायौं वा धकेलिदियौं । तर युद्धको सञ्चालन गर्ने सम्बन्धमा, उनी हाम्रो तरिकाले होइन कि आफ्नै तरिकाले सञ्चालन गर्न चाहन्छन् । उनी हाम्रो नेतृत्वलाई सकार्दैनन् । सकार्नैपर्ने भएपछि, ठूला जमिन्दारहरु र ठूला पुँजीपतिवर्ग कुनै विशेष सवालमा मात्र हाम्रो नेतृत्वलाई स्वीकार्छन् । आफू तागतिलो भएपछि वा आवश्यक विदेशी सहायता पाएपछि, तिनीहरु हामीसित छुट्टिन्छन् । सारांशमा, सर्वहारावर्ग किसान वर्ग र निम्न–पुँजीपतिवर्गलाई निकै राम्ररी नेतृत्व गर्न र तिनीहरुसित ज्यादै घनिष्ट सम्बन्ध बनाउन समर्थवान छ । उदार पुँजीपतिवर्गले सदा आफ्नो स्वाधीनतामा जोड दिइरहे पनि, सर्वहारावर्गले त्यसको पनि नेतृत्व गर्न सक्छ, तर, सामान्यरुपमा भन्दा, त्यसले विशेष सवालमा वा कुनै निश्चित अवधिमा बाहेक ठूला जमिन्दारहरु र ठूला पुँजीपतिवर्गको नेतृत्व गर्न सक्दैन ।

नेतृत्वको सवाल सम्बन्धी कमरेड माओ चतुङका विचार र कार्यदिशाको कार्यान्वयनद्वारा इतिहासका भिन्ना–भिन्नै अवधिमा हाम्रो पार्टीले धेरै सफलताहरु हासिल गरेको छ । “बामपन्थी” र दक्षिणपन्थी अवसरवादीहरुले अन्य कुनै सवालमा भन्दा यस सवालमा बढी भूल गरेका छन् । संघर्षबाट मात्र नेतृत्व हासिल गर्न सकिन्छ भन्ने कुरालाई उनीहरु बुझ्दैनन् ।

दक्षिणपन्थी विचलनवादी दृष्टिकोण भएका व्यक्तिहरु नेतृत्वमा जोड दिदैनन् । चेन तु श्यूले महान क्रान्तिको पछिल्लो अवधिमा त्यस्तै काम गरे । उनले आफसे आफ हुने नेतृत्वबारे केही चुलबुले कुरा गर्नु नै पर्याप्त ठाने । वास्तवमा उनलाई कस्तो लागेको थियो भने यो एउटा पुँजीवादी क्रान्ति भएकाले, नेतृत्व पुँजीपतिवर्गले गर्नुपर्छ र सर्वहारावर्गको भूमिका, हद भए “ताम्दानी बोक्नु” र सभा, संगठन र भाषण, स्वतन्त्रता र हड्ताल गर्ने हक प्राप्त गर्न कोशिस गर्नु रहन्छ । किसान सवालमा, उनले, भूमि समस्या समाधान गर्ने कुरा त छाडिदिऊँ, कूत र ब्याज घटाउने कुरालाई समेत स्वीकृति दिएनन् । दुईवटा नारा लेखेर धेरै पोष्टरहरु टाँसिए । एउटामा “सर्वहारावर्गको नेतृत्व स्थापित गर” र अर्कोमा “अपुँजीवादी भविष्यको लागि प्रयास गर” भन्ने लेखिएको थियो । हाम्रो पार्टीको पाँचौ महाधिवेशनमा पनि उक्त नाराहरु खूब देखिए । तर नारा नारामात्रै रह्यो, र वास्तवमा हामी नेतृत्व छाडिरहेका थियौं । कस्तो विश्वास गरियो भने नेतृत्व हाम्रो हातमा आफसेआफ आउँछ, त्यसैले त्यसको लागि संघर्ष गर्नाको कुनै आधार छैन । तसर्थ, नीतिको रुपमा, मजदुर–किसान सशस्त्र सेनाको निर्माण गर्नु वा मजदुर र किसानको नेतृत्वमा सरकारको स्थापना गर्नु कुनै आवश्यकता छैन । हुनान, शियाङशी र हुप जस्ता प्रान्तहरुमा र अन्यत्र केही काउन्टीहरुमा त्यसबेला राजनीतिक सत्ता उहान सरकारको हातमा भए पनि, चेन तश्यूले मजदुर र किसानको संघर्षलाई दबाए र सारा कुरा छाडिदिए । त्यसरी छाडिदिनाको परिणाम महान क्रान्तिको असफलता रह्यो । पहिलो उहान अवधिमा गरिएको गल्ती त्यहीं थियो ।

दोस्रो उहान अवधिमा पनि गल्ती गरियो, किनभने हामी नेतृत्वको सवाललाई बुझ्न असफल भयौं । एउटा तर्क कस्तो रह्यो भने प्रतिरोध रहेसम्म एकता रहन्छ, च्याङ काई–शेकको सरकार एकीकृत भएको छ, उनको ठूलो–पुँजीवादी सरकार जनवादी हुँदै छ र जनताले पूर्ण स्वतन्त्रता पाएका छन् । अर्को शब्दमा, ठूलो पुँजीपतिवर्ग अनौठो, ज्यादै जनवादी, एकदमै एकीकृत थियो । यो ठूलो पुँजीपतिवर्गको नेतृत्वलाई मान्नु बराबर थियो । तसर्थ, नीतिको रुपमा, जनवादी सुधार वा जन–जीवनमा सुधारको माग गर्नुपर्ने आवश्यकता छैन । तर हाम्रो पार्टीको केन्द्रीय कमिटीले जनवादी सुुधार र जनताको निम्ति अधिक राम्रो जीवनमा ठूलो जोड दियो । हामीले नेतृत्व छाडिरहेको तथ्यले आफूलाई अन्य तरिकाबाट पनि अभिव्यक्त ग¥यो । हामीले शत्रुपछाडिको पंक्तिको विकास गर्नमा बेवास्ता ग¥यो, त्यहाँ राजनीतिक सत्ताको स्थापना गर्न आव्हान गरनौं, र सबै कुरा संयुक्त मोर्चामार्फत् गरियोस् भन्नेमा जोड दियौं । यदि संयुक्त मोर्चा हाम्रो नेतृत्वमा भएको भए, त्यो अवश्य पनि राम्रो हुने थियो । तर वास्तवमा क्वोमिन्टाङले हाम्रो नेतृत्वलाई मानेन । क्वोमिन्टाङलाई स्वीकार्ये हुने संयुक्त मोर्चामा, हाम्रो नेतृत्वमा रहेका सैनिकहरु त्यसको सैनिक तथा सरकारी आदेश अन्तर्गत एकबद्ध हुने थिए । त्यसैले, सारा कुुरा संयुक्त मोर्चामार्फत् गरिनु पर्छ भन्नुको वास्तवमा अर्थ सारा कुरा क्वोमिन्टाङको सैनिक तथा सरकारी आदेश अन्तर्गत गरिनुपर्छ भन्नु थियो । सातवटा कुराको एकीकरण गर्नुपर्छ भन्ने प्रस्तावित गरियो । कमान, सांगठनिक पंक्तिवद्धता, हातहतियार, अनुशासन, तलब, कार्ययोजना र युद्धकार्य । त्यसको अर्थ सारा कुरा क्वोमिन्टाङको हातमा छाड्नुपर्ने र त्यसको सैनिक आदेश अन्तर्गत एकीकृत हुनुपर्ने भन्ने थियो । शान्शी–चाहर–हुपी सीमान्त क्षेत्रको स्थापनामा क्वोमिन्टाङको स्वीकृति हुनुपर्छ भन्ने प्रस्ताव पनि राखियो । त्यसको अर्थ सारा कुरा क्वोमिन्टाङको सरकारी आदेश अन्तर्गत स्वीकृति गरिने भन्ने थियो । उक्त चित्त बुझाउने (Conciliationist) नीतिको नतिजास्वरुप, उहानमा तीनवटा जनसंगठनहरुको विघटन गरियो । अनि मध्यचीनमा दक्षिणी आन्हयू घटना भयो । यो सब अरुहरुबाट हुने हमलाविरुद्ध निरन्तर सतर्क रहने कमरेड माओ चतुङको सल्लाहको अनुशरण नगर्नाको परिणाम थियो । हामीले क्वोमिन्टाङलाई हाम्रो स्तरसित त्यसको स्थितिलाई मिल्दो पार्न लगाएनौं, बरु हामीले तिनीहरुको इच्छा पु¥याउन आफ्नो स्तरलाई तल खसाल्यौं । त्यो नेतृत्वको लागि संघर्षमा गरिएको एउटा दक्षिणपन्थी गल्ती थियो ।

“बामपन्थी” अवसरवादीहरुले पनि नेतृत्वको सवालमा भूल गरेका छन् । छोटोमा भन्ने हो भने, तिनीहरुले चिनियाँ क्रान्तिको नौलो–जनवादी स्वरुपलाई बुझेनन् । तिनीहरुको कस्तो विश्वास थियो भने हामीले १९०५ र १९०७ का बीच रुस जुन चरणमा रहेको थियो, सो चरणलाई पार गरिसकेका छौं, र तिनीहरु तत्काल संक्रमण र गैर–पुँजीवादी भविष्यका लागि अधिर थिए । तिनीहरुले सर्वहारा नेतृत्वको बारेमा खोक्रा वाक्यांशहरु भट्याए । नीति “बामपन्थी” हुँदा, हामी निम्न–प्ुँजीवादी जनसमुदायबाट मात्र होइन, बरु मजदुर–किसान जनताबाट पनि अलग्गियौं, र त्यसले गम्भीर नोक्सानी पैदा ग¥यो । प्रतिरोध युद्धको बेलामा “बामपन्थी” दृष्टिकोण भएका केही व्यक्तिहरु यी सवालहरुमा पनि दिग्भ्रमित रहेका छन् । तिनीहरु संघर्ष मात्र चाहन्छन् र एकता चाहँदैनन् । तिनीहरु कमरेड माओ चतुङद्वारा प्रस्तुत गरिएका यस्ता कार्यनीतिक सिद्धान्तहरुलाई बुझ्न सक्दैनन्, जुन सिद्धान्त अनुसार संयुक्त मोर्चामा एकता र संघर्ष दुवै छन् र संघर्ष न्यायोचित आधारमा, हाम्रो फाइदाका लागि र संयमपूर्वक चलाइन्छ ।

तसर्थ, नेतृत्वको सवाल संयुक्त मोर्चाको केन्द्रीय समस्या हो । दक्षिणपन्थी विचलनवादीहरु नेतृत्व छाड्छन् भने “बामपन्थी” आफूलाई अलग्याउँछन् र “विनासेनाको कमाण्डर” बन्छन् । त्यसलाई हामी यस रुपमा राख्न सक्छौं; दक्षिणपन्थी विचलनवादीहरु पूरै सेनालाई त्यागिदिन्छन् भने “बामपन्थी” विचलनवादीहरु त्यसलाई पर धकेलिदिन्छन् ।

यो ऐतिहासिक अनुभवको जाँचबुझको आधारमा प्राप्त संयुक्त मोर्चासम्बन्धी मेरो सर्वोपरी समझदारी हो । म आफैले पनि उक्त तीन अवधिमा, र खासरुपले वितेका दुई अवधिमा कतिपय गल्तीहरु गरें । आज, उक्त अनुभवबारे चर्चा गर्दा, मलाई के लाग्छ भने हामीले आफ्ना गल्तीहरुको गम्भीरतालाई बुझ्नुपर्छ । अवश्य पनि तिनलाई सच्याइ सकिएको छ । भविष्यमा, यदि हामी शत्रु, हाम्रो आफ्नै पंक्ति वा नेतृत्वको सवालबारे स्पष्टसित बुझ्न असफल भयौं भने, यदि हामी ती विषयमध्ये कुनै एउटा पनि विषयमा असावधान वा अन्धो भयौं भने, त्यस स्थितिमा हामीले गल्तीहरु गर्नेछौं । यो कुरा मेरो सम्बन्धमा र हाम्रो पार्टीका सबै कमरेडहरुको सम्बन्धमा साँचो रहन्छ । (अनु.कृष्णदास श्रेष्ठ)

प्रतिक्रिया

सम्बन्धित खवर