
काठमाडौं । स्थानीय निकायको पहिलो चरणको निर्वाचनको मतगणना जारी रहेको छ । अत्यन्तै सुस्त गतिमा भइरहेको मतगणना निर्वाचन भएका चार महानगरपालिकाको मतगणना जारी रहेको छ ।
बिहान १० बजेसम्मको मत परिणामअनुसार सबै महानगरमा एमालेले अग्रता कायम गरेको छ । काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्य २१७ मत ल्याएर अग्रस्थानमा रहेका छन् ।
उनलाई साझा पार्टीका किशोर थापाले पछ्याइरहेका छन् । थापाले १४२ मत ल्याएका छन् भने कांग्रेसका राजुराज जोशीले १३५ मत पाएका छन् ।
चौथो स्थानमा रहेकी विवेकशील नेपालीकी उम्मेदवार रञ्जु दर्शनाले ११० मत पाएकी छन् ।
काठमाडौं महानगरपालिकाको उपमेयर पदमा कांग्रेसकी हरिप्रभा खड्गी १५८ सहित अग्रस्थानमा छिन् । राप्रपाका राजाराम श्रेष्ठको १२१, साझा पार्टीकी निरुपमा यादवको ९१ र माओवादी केन्द्रकी सुशीला पौडेलको ११ मत छ ।
ललितपुर महानगरपालिकामा एमालेका हरिकृष्ण व्यन्जनकारले अग्रता लिएका छन् । व्यन्जनकारले २ हजार ६२५ मत पाएका छन् । उनलाई कांग्रेसका चिरिबाबु महर्जनले २ हजार १७७ मतसहित पछ्याइरहेका छन् । माओवादीका दिनेश महर्जनले ८४७ मत पाएका छन् ।
कास्कीको पोखरा लेखनाथ महानगरपालिकामा पनि एमाले अघि छ । एमालेका मानबहादुर जीसीले १ हजार ६५, कांग्रेसका रामजी कुँवरले ७६७ मत पाएका छन् भने संघीय समाजवादीका हुमबहादुर तमुको १९६ र राप्रपाको गिता गुरुङको ८१ मत छ ।
उपमेयरमा एमालेकी मन्जु गुरुङको १ हजार ५४, कांग्रेसकी सरस्वती गुरुङको ८४६ मत छ । संघीय समाजवादीकी लक्ष्मी परियारले ९२ र राप्रपाका रमेश खत्रीले ८० मत पाएका छन् ।
चितवनको भरतपुर महानगरपालिकामा १ हजार १७५ मत गणना सकिएको छ । नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको भएको भरतपुरमा पनि एमालेले अग्रता लिएको छ ।
एमालेका देवी ज्ञवालीले ६८५ मत ल्याएका छन् भने माओवादी केन्द्रकी रेणु दाहालले ५२८ मत ल्याएकी छन् । राप्रपाका बद्री तिमिल्सिनाले ३४ मत ल्याएका छन् ।