३४ जिल्लामा आज निर्वाचन, विहान ७ बजेदेखि मतदान सुरु

३४ जिल्लामा आज निर्वाचन, विहान ७ बजेदेखि मतदान सुरु

काठमाडौं । पहिलो चरणको निर्वाचन अन्तर्गत आज संघीय प्रदेशहरु ३, ४ र ६ का ३४ वटा जिल्लामा आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार विहान ७ बजेदेखि सबै मतदान केन्द्रहरुमा मतदान सुरु भएको छ ।

२८३ स्थानीय तहमा स्थानीय जनप्रतिनिधि चयनका सुरु भएको मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ । मतदानका लागि आवश्यक सबै तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।

पहिलो चरणमा गरिने निर्वाचनमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाताले मतदान गर्दै छन् । मतदानका लागि झण्डै चार हजार मतदान स्थल तोकिएको छ भने ३ हजार ९२२ मतदान स्थलका ६ हजार ६४१ मतदान केन्द्रबाट मतदाताहरुले आफूले चाहेको उम्मेदवारलाई मत दिन सक्ने छन् ।

१३ हजार ५६५ पदमा हुन लागेको निर्वाचनमा झण्डै ५० हजार उम्मेदवार चुनावी मैदानमा रहेका छन् । 

भयरहित वातावरणमा चुनाव गराउन सरकारले झण्डै ६८ हजार सुरक्षाकर्मी परिचालन गरेको छ । नेपाली सेनालाई ब्याकअपका रुपमा खटाइएको छ ।

गृह मन्त्रालयले जनाए अनुसार ६७ हजार ९१६ सुरक्षाकर्मी परिचालन गरिएको छ । २२ हजार ५७५ नेपाल प्रहरी, १७ हजार ३५६ सशस्त्र प्रहरी परिचालन गरिएको छ । ३८३ राष्ट्रिय अनुसन्धान विभाग र २२ हजार ६०२ म्यादी प्रहरी परिचालन गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना रहनेछ । हवाई गस्ती र पैदल गस्ती पनि गरिने भएको छ ।