काठमाडौं । नेकपा एमालेका कार्यकर्ताहरुले स्वास्थ्यमन्त्री गगन थापामाथि कपनमा शनिबार बिहान दुव्र्यवहार गरेका छन् ।
निजी गाडी चडेर एक स्थानीय कार्यकर्ताको घरमा पुगेका मन्त्री थापालाई ‘गगनेलाई लखेट् भन्दै’ सुकेधारासम्म लखेटेका थिए ।
निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभन दिएको आरोप लगाउँदै एमाले कार्यकर्ताले मन्त्री थापालाई घेराउ गरेर दुव्र्यवहार गरेका हुन् । एमालेले यसबारेमा निर्वाचन आयोगमा समेत उजुरी दिएको बताएको छ ।
एमाले कार्यकर्ताको बिरोध र नाराबाजी छलेर कपन जोरधारातिर जाने क्रममा मन्त्री थापाको निजी नम्बर प्लेटको गाडीमा ढुंगासमेत प्रहार भएको थियो ।
मन्त्री थापा बिहानै आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित जोरधारामा पुगेका थिए । त्यहीक्रममा उनलाई एमाले कार्यकर्ताले घेरा हालेका हुन् ।
एमाले कार्यकर्ताले मन्त्री थापा विरुद्ध अभद्र शैलीमा गाली गलौज र नाराबाजी गरेका थिए ।
मन्त्री थापाले भने आफूले आचारसंहिता उल्लंघन नगरेको र कार्यकर्ताको घरमा आएको बताएका थिए । उनले आफू यसरी घरमा जान पाइने प्रतिक्रिया गाडीभित्रैबाट दिए ।
लगत्तै एकजनाले ‘गगनेलाई लखेट’ भनेपछि एमाले कार्यकर्ताहरु मोटरसाइकल चढेर मन्त्रीको गाडीलाई पछ्याउदै सुकेधारासम्म पुगेका थिए ।
काठमाडौं क्षेत्र नम्वर ४ को कपनमा नातामा हजुरवा पर्ने एक आफन्तहरुलाई भेटेर फर्कने क्रममा जोरधारा पछाडि आदर्शनगर टोलमा पार्टीका एक कार्यकर्ताको घरमा निर्वाचनको बारेमा छलफल गरेर फर्कंदै गर्दा गाडी घेरेर बसेका एमाले कार्यकर्ताहरुले थापामाथि दुव्यवहार गरेको मन्त्री थापाका सहयोगीले बताएका छन् ।
थापाले आफूलाई निर्वाचन आचारसंहिताको राम्रो ज्ञान भएको र व्यक्तिगत भेटघाटलाई आचारसंहिताले पनि नरोकेको बताए । बरु आफूमाथि हुलहुज्जत गर्न पठाएर एमालेले आचारसंहिताको उल्लंघन गरेको थापाले प्रतिक्रिया दिएका छन् ।