काठमाडौं । आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रचार प्रसारको अवधि सम्पन्न भई मौन अवधि सुरु भएको छ ।
चुनावका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
पहिलो चरणमा निर्वाचन हुने तीन वटा प्रदेशका १३ हजार ५ सय ५५ पदका लागि आवश्यक सबै निर्वाचन तयारी पूरा भएको आयोगले जनाएको हो ।
बैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का २८३ वटा स्थानीय तहमा निर्वाचन हुन लागेको हो । जसमा नगर प्रमुख र उपप्रमुख ९७, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष १८६ निर्वाचित हुनेछन् ।
यसैगरी महिला सदस्य २ हजार ५ सय ९८, दलित महिला सदस्य २ हजार ८ सय ९८ र दुई जना वडा सदस्य ५ हजार १ सय ९६ जना चुनिने छन् ।
राति १२ बजेदेखि सुरु भएको मौन अवधिभर उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न÷गराउन निर्वाचन आयोगले निषेध गरेको छ ।
मौन अवधिभर मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न नपाइने पनि आयोगले प्रष्ट गरेको छ ।
यसैगरी मतदान हुने दिनभन्दा ४८ घन्टा अघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अरु कुनै प्रकारले प्रचारप्रसार गर्न वा गराउन निषेध गरिएको आयोगले जनाएको छ ।