लामो समय विद्यार्थी राजनीति गर्दै २०६२/६३ को जनआन्दोलनपछि मजदुर संगठनमा क्रियाशील भएका क्रान्तिकारी माओवादीका नेता केशर प्रधानले टोखा नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । हाल अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनको सचिवालय सदस्य तथा अखिल नेपाल औद्यगिक मजदुर संघका संयोजक समेत रहेका प्रधानसँग स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नुको कारण र योजनासँग संबन्धित रहेर गरिएको कुराकानीको सारसंक्षेप :
टोखा नगरपालिकाको मेयरमा तपाईले किन उम्मेदवारी दिनुभएको हो ?
टोखा नगरपालिका विकासको अधिक सम्भावना बोकेको नगरपालिका हो । तर यो क्षेत्रले विगतमा र अहिलेपनि उचित नेतृत्व नपाएको अवस्था छ । स्थानीय निकायलाई भ्रष्टाचारको अखडामा परिणत गरेको पुराना र नयाँ संसदवादी दलले यसलाई विकृत बनाएका छन् । विगतदेखि नै यो क्षेत्रका जनताले क्रान्तिकारीहरुलाई माया गर्ने गरेका छन् ।
अहिले पनि खासगरी माओवादी केन्द्रले हाम्रा समर्थकहरुलाई भ्रमित पार्ने कोशिस गरिरहेको छ । त्यसलाई चिर्दै अहिले हामीले जनताको पक्षमा वकालत गर्ने एक मात्र पार्टी क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रिक मोर्चाका तर्फबाट यहाँका जनताका समस्यालाई हल गर्नका लागि र यो क्षेत्रको समुन्नत नगर निर्माणका लागि मैले उम्मेदवारी दिएको हुँ ।
टोखा नगरपालिकाका समस्याहरु के के हुन जस्तो लाग्छ ?
टोखा नगरपालिकाका राज्यबाट अनावश्यक रुपमा जनतालाई भार पर्ने गरी कर लगाइएको छ, सडक, वत्ती, खानेपानी, शिक्षा, स्वास्थ्य, ढललगायतको समस्या पनि यहाँको प्रमुख समस्या हो । टोखा ऐतिहासिक क्षेत्र पनि हो, यहाँका मौलिक सांस्कृतिक सम्पदाहरुको उचित संरक्षण हुन सकिरहेको अवस्था छैन ।
सुकुम्बासी र भूकम्प पीडितको उचित व्यवस्थापनको पहल अहिलेसम्म पनि हुन सकिरहेको अवस्था छैन । विकासका नाममा यहाँ भ्रष्टाचार हुने गरेको छ भने विकास बजेटको २५ प्रतिशत खर्च गर्ने र बाँकी यहाँका ठूला भनिएका राजनीतिक दलले भागबण्डा गर्ने प्रचलन छ । त्यसको अन्त्य हुन आवश्यक छ । यहाँका माथिल्लो क्षेत्रका जनताहरु कृषि पेशामा आबद्ध छन् । उनीहरुले उत्पादन गरेका वस्तु बिक्रीका लागि समस्या छ भने किसानले उचित मूल्य नपाएको अवस्था छ । त्यसलाई व्यवस्थित गर्नुपर्छ ।
शिक्षा र स्वास्थ्यका क्षेत्रमा देखिएका समस्या समाधानमा तपाईले के योजना बनाउनु भएको छ ?
टोखा नगरपालिकामा मात्रै नभएर काठमाडौं उपत्यमा नै शिक्षण संस्थाहरु र स्वास्थ्य संस्थाहरु पनि धेरै रहेका छन् । तर अहिलेसम्म पनि आम जनताले सुलभ स्वास्थ्य सेवा र शिक्षा पाइरहेको अवस्था छैन । स्वास्थ्यलाई निशुल्क बनाउनुपर्छ भन्ने हाम्रो जोड छ । सरकारी विद्यालयहरु नाममात्रका बन्दैछन् ।
निजी विद्यालयमा महंगो शुल्क तिरेर पढ्न बाध्य बनेका विद्यार्थीलाई सरकारी विद्यालयमा फर्काउनुपर्ने चुनौती हाम्रा सामु छ भने सरकारी अस्पताललाई व्यवस्थित गर्दै निजी स्वास्थ्यसंस्थामा बस्ने चिकित्सकहरुलाई त्यहाँ राख्ने वातावरण बनाउनु आवश्यक छ । यसका लागि हामी निर्वाचनलगत्तैदेखि काम अघि बढाइहाल्छौं ।
टोखा क्षेत्रको समग्र विकासका लागि तपाईका योजनाहरु के के छन् ?
पहिलो कुरा त हामीले यस क्षेत्रलाई शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा अब्बल नगरपालिकाको रुपमा विकास गर्ने सोचेका छौं । यहाँका युवाहरुलाई उचित सिपमुलक तालिमहरु प्रदान गरि बेरोजगारी समस्या हल गर्ने र बेरोजगार युवालाई भत्ताको व्यवस्था गर्नेछौं । राष्ट्रिय उद्योग, व्यवसाय र व्यापारको वृद्धि, संरक्षण र विस्तारका साथैं प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण गरी जनताको जीवनस्तर माथि उठाउने, यसैगरी खानेपानी, ढलनिकास र फोहोर व्यवस्थानको जुन समस्या रहेको छ ।
यसका लागि हामीले घरघरमा खानेपानी पु¥याउने, फोहोरको पुनः प्रयोगलगायतमा प्रोत्साहित गर्ने र सफा, स्वच्छ र हराभरा नगरको रुपमा यसलाई विकास गर्ने हाम्रो योजना रहेको छ । यसैगरी यो क्षेत्रमा अझैपनि सडकको उचित व्यवस्थापन हुन सकेको छैन, भएका सडक पनि खाल्डा परेका, धुलाम्मे छन् भने सडक विस्तारका नाममा यहाँका आदिवासी जनतालाई जुन किमिमको दुःख दिइएको छ । त्यसलाई हामी समाधान गर्छौ, सडक विस्तारका क्रममा कसैको जग्गा त्यहाँ परेमा उसलाई उचित मुआब्जा र पुर्नवासको व्यवस्था गरिनेछ ।
भूकम्प गएको दुई वर्षभन्दा लामो समय भइसकेपनि अहिलेसम्म उनीहरुको उचित व्यवस्थापन र पुनर्बासको काम हुन सकेको छैन । हामी भूकम्प पीडितको व्यवस्थापनका लागि नगरबाट नै स्रोत साधनको उचित प्रयोग गर्नेछौं भने भूकम्पबाट क्षति पुगेका मन्दिर,पाटीपौवा, स्तुपा, कलासंस्कृतिका तथा पुरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माण र संरक्षणमा उचित कदम तत्काल चाल्नेछौं । यसैगरी यो क्षेत्रमा पार्क, खेलमैदानको निर्माण लगायतका विषयलाई पनि प्राथमिकतामा राखेका छौं ।
आम मतदाताको घरघरमा मत माग्न हिँडिरहनुभएको छ, कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
हामीले टोखा नगरपालिकाका धेरै स्थानमा चुनावी कार्यक्रम लिएर गएका छौं । हामीले जनतासँग प्रत्यक्ष कुराकानी र संवाद गर्दा जनतामा एउटा नयाँ आशाको किरण पलाएको अनुभूति हामीले गरेका छौं । जनताले हामी क्रान्तिकारी माओवादीहरुले यो निर्वाचनलाई उपयोग गर्ने जुन नीति लिएका छौं, यसबाट खुसी भएका छन् ।
उनीहरुले हामीलाई हरेक कोणबाट सहयोग गर्ने वचन समेत पाएका छौं । अन्य दलले अहिलेसम्म जनताको पक्षमा कुनै पनि काम नगरेको अवस्थामा हामी नयाँ एजेन्डा र विचारसहित जनताको माझमा पुग्दा जनतामा अपनत्वको महसुस भएको छ । यदी हामीले जित हासिल गरेको खण्डमा हामीले पाउने तलबभत्तासमेत वडावडामा लगेर जनताको शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताको परिपूर्तीका लागि खर्च गर्ने हामीले घोषणा पनि गरेका छौं ।
हामी कुनै तलबभत्ताका लागि होइन साँच्चै जनताको सेवा गर्नका लागि र यो नगरमा सबै जनताको स्वामित्व स्थापित गराई मेरै नगर हो भन्ने अनुभूति गराउनेछौं । हामी सबै आम जनतालाई यो नगरलाई एउटा समुन्नत र सुसंस्कृत नगरको रुपमा विकास गर्नका लागि देजमोका सबै उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउन अनुरोध समेत गर्दछौं ।