‘जनताले खोजेको विकल्प हामी हौं, त्यसैले चुनाव जित्छौं’

‘जनताले खोजेको विकल्प हामी हौं, त्यसैले चुनाव जित्छौं’

तारकेश्वर नगरपालिकामा तपाईको उम्मेदवारी किन ?

विगतदेखि यो क्षेत्रका जनताले धेरैलाई आफ्नो अमूल्य मत दिएर जिताएर राज्यको महत्वपूर्ण पदमा स्थापित गर्दै आएका छन् । तर जनताले दिएको मतको अहिलेसम्म पनि सही सदुपयोग हुन सकेन ।

चुनावका समयमा विकासका, प्रगतिका, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका समस्याहरु सम्बोधन गर्नेलगायत जतिपनि प्रतिबद्धता गरिएका हुन्छन्, ति प्रतिबद्धताहरु पूरा गरेको हामी पाउँदैनौं ।

विकासका लागि आएको बजेटमा समेत स्थानीय राजनीतिक दलले भागबण्डा गर्ने गर्नेजस्तो घृषित काम यहाँ हुँदै आएको छ । जनताले जहिलेपनि यी संसदवादी राजनीतिक दलहरुबाट धोका मात्रै पाए । पछिल्लो समयमा माओवादी केन्द्रसमेत त्यहि कित्तामा उभिन पुग्दा जनताका आवाजहरु झनै कुन्ठित भएका छन् । तसर्थ मैले आम जनताको भावनाको कदर गर्दै तारकेश्वर नगरपालिकाको समग्र विकासका लागि उम्मेदवारी दिएको हुँ ।

तारकेश्वर नगरपालिकामा तपाईले जित हासिल गरेको खण्डमा के कस्ता कामहरु गर्नुहुन्छ ?
पहिलो कुरा त म यो नगरपालिकामा जित हासिल गर्न सफल भए भने यहाँका जनताले पानी किनेर खान नपर्ने वातावरण सिर्जना गर्छु । यो नगरपालिकाका यस्तो क्षेत्र हो, जहाँबाट काठमाडौं उपत्यकाका अधिकांश भागहरुको अवलोकन गर्न सकिन्छ । त्यसकारण यसलाई आन्तरिक र बाह्य पर्यटकको गन्तव्य स्थलको रुपमा विकास गर्न सकिने अवस्था यहाँ छ ।

काठमाडौं उपत्यकाभित्र रहेर पनि यहाँका जनताले सधैं पिछडिएको अनुभूति गर्ने गरेका छन् । रोल्पा, रुकुम या कर्णालीजस्तो जुन व्यवहार यो क्षेत्रका जनताले भोग्नुपरेको अवस्था छ, त्यसलाई हल गर्ने र हामी पनि उपत्यकाबासी हौं भन्ने अवस्थाका सिर्जना गरिनेछ । यो कृषकहरुको क्षेत्र पनि हो । यहाँका किसानहरुले उत्पादन गरेको वस्तुहरुलाई सरल ढंगले बजारमा पु¥याउने र सुरक्षित भण्डारणको व्यवस्था गर्ने काम म बाट हुनेछ ।

तपाईलाई तारकेश्वर नगरपालिकाका जनताले किन भोट हाल्ने ?
हेर्नुहोस, म यसै क्षेत्रमा जन्मिएर हुर्किएको मान्छे हुँ । मलाई यहाँका समस्याहरु के छ भन्ने मात्रै होइन त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने दीर्घकालीन योजनाहरु समेत छन् । यहाँ चुनावका बेला पैसा लिएर आउने, जनतालाई प्रलोभन देखाउने र चुनाब जितिसकेपछि तिनै जनतालाई बेवास्ता गर्ने उम्मेदवार र राजनीतिक पार्टी छन् ।

उनीहरुलाई अब जनताले चिन्नुपर्छ र पुराना संसदवादी दलको विकल्प अब खोज्नुपर्छ । चुनावमा गरेको अनावश्यक खर्च चुनाव जितिसकेपछि तिनै जनतामाथि कर लगाएर या विकास बजेटमा भ्रष्टाचार गरेर उठाउने परिपाटी संसदवादी दलहरुले चलाउँदै आएका छन् । अब जनताले सचेत रुपमा आफ्नो मताधिकारको प्रयोग गर्नु आवश्यक छ । अब जनताले तिनै जुकाहरुलाई राज्य चुस्ने मौका दिनुहुदैन ।

जसले जे दाबी गरेपनि अब पुरानो रुपबाट मतपरिणाम आउनेवाला छैन । किनकी यहाँ धेरै स्वतन्त्र उम्मेदवार पनि बलियो अवस्थामा छन् । अब एजेन्डा र उद्देश्य बुझेर आफ्नो मताधिकारको प्रयोग गर्ने अवस्थाको निर्माण गर्नुपर्छ । यहाँको विकास, समृद्धि र समतामूलक समाज निर्माणका लागि पनि क्रान्तिकारी माओवादीको यो संयुक्त मोर्चा देजमोका उम्मेदवारलाई जनताले भोट हाल्नेछन् भन्ने मेरो विश्वास छ ।

यो क्षेत्रमा जन्मेर यति लामो समय विताउनुभयो, यहाँका समस्याहरु के रहेछन् ?
यहाँ सबैभन्दा ठूलो कुरा भने जनताको चेतनास्तर माथि उठाउन आवश्यक छ । राजनीतिक परिवर्तन भएपनि पुरानै अवस्था र सोच भएकाहरुले यो क्षेत्रको नेतृत्व गर्ने र परिणाम चाँहि केही पनि नआउने अवस्थाको अन्त्य गर्न जरुरी छ । मैले अघि पनि भने र फेरि जोड दिएर के भन्न चाहन्छु भने यो क्षेत्र काठमाडौं उपत्यकाभित्र रहेपनि यहाँ शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत समस्याहरु अझै छन् । यो क्षेत्रमा यातायातको समस्या छ भने कतिपय क्षेत्रमा सडक समेत दयनीय अवस्थामा छ । त्यसलाई समाधान गर्नुपर्ने, विकाससँग जनतालाई जोड्नुपर्ने आवश्यकता छ ।

यो नगरपालिकाका जनताले सुलभ स्वास्थ्य सेवा पाउने अवस्थाको सिर्जना गर्न तपाईले के सोच्नुभएको छ ?
यो अत्यन्तै महत्वपूर्ण कुरा छ । ‘स्वास्थ्य नै धन हो’ भनिन्छ । तर स्वास्थ्यका दृष्टिकोणले यहाँ जटिल प्रकारको समस्या पनि छ । यतिधेरै स्वास्थ्यसंस्थाहरु भएपनि त्यहाँ आम जनताले सुलभ रुपमा स्वास्थ्य सेवा पाइराखेको अवस्था छैन । सरकारी स्वास्थ्यसंस्थामा कार्यरत डाक्टरहरुले आफ्ना विरामीलाई निजी क्लिनिकहरुमा बोलाउने र त्यही स्वास्थ्य सेवा महंगोमा दिने गरेको पाइन्छ ।

हामीले त्यसलाई समाधान गर्ने सोचेका छौं । आजसम्म त्यस क्षेत्रतर्फ राज्यका आँखा पुग्न सकेका छैनन् या पुगेपनि समाधान गर्न सकेको छैन । अब त्यही प्रकारको लुटतन्त्र मच्चाउन दिइराख्न सकिदैन । हामी आम जनतालाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि प्राथमिकताका साथ काम गर्छौ ।