(अम्बिका मुडभरीलाई एक जुझारु र प्रभावशाली महिला नेतृको रुपमा चितवनका आम जनसमुदायले मात्रै होइन, सिंगो माओवादी आन्दोलनले चिन्दछ । जनयुद्धका आँधिमय भीषण कालखण्डमा वर्गदुश्मनका यातना शिविरमा कष्टसाध्य जीवन बाँचिन् । तर वर्गवैरीसँग रतिभर पनि झुकिनन् । वर्गसंघर्षको भट्टीमा खारिएकी महिला नेतृ मुडभरी स्थापित मात्रै होइन, जनतबीचमा लोकप्रिय पनि छिन् । उनी माओवादी आन्दोलनभित्र भएका अन्तर्संघर्षमा क्रान्तिकारी कित्तामा उभिइन् । अहिले उनी मोहन वैद्य‘किरण’ले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय सदस्य, चितवन जिल्ला इन्चार्ज र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारीमा छिन् । उनले भरतपुर महानगरपालिकामा मेयरको पदमा उम्मेदवारी दिएकी छिन् । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहालसँग यस महानगरमा कडा प्रतिस्पर्धीको रुपमा अगाडि आएकाले पनि यतिखेर अम्बिका मुडभरीको चर्चा बाक्लिएको छ । उनीसँग चुनावी रौनक बढिरहेका बेला निर्वाचनसँग केन्द्रीत रहेर गरिएको कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ । – स.)
तपाईले भरतपुर महानगरपालिकामा मेयर पदको लागि आफ्नो उम्मेद्वारी प्रस्तुत गर्नुभएको छ, किन दिनुभयो उम्मेदवारी ?
राजनैतिक हिसाबले हामीले परिवर्तनका लागि गरिएका आन्दोलनसँगै आँधीमय यात्रा पुरा गर्दै हामी यहाँ आई पुगेका हौं । भलै हामीले उठाएका थुप्रै मुद्दा पूरा हुन सकेका छैनन् । हिजो हामीले जसलाई आन्दोलनको नायक बनायौं त्यहि नायक आज खलनायकको भूमिकामा छन् । जसले गर्दा जनताको अधिकार स्थापित हुन सकेका छैनन् । त्यसैले जनताका ती अधिकार स्थापित गराउनको निमित्त नयाँ खालको आन्दोलन अगाडि बढाउन, माथि बनेका नीति नियमलाई जनपक्षीय रुपमा कार्यान्वयन गराउनका लागि, स्थानीय तहमा जनतालाई ढाँटी छली हुने विकृति विसंगतिका विरुद्ध लड्नको निम्ति मैले मेरो उम्मेद्वारी दिएकी हुँ ।
मत परिणामले तपाईलाई मेयर बनायो भने तपाईले कस्ता कामहरु गर्नुहुन्छ ?
चितवन जिल्ला अन्यको तुलनामा राजधानी सँग टक्कर गर्न सक्ने जिल्ला हो । यस्तो जिल्लामा रहेको महानगरपलिकाको मेयर हुँदै गर्दा मैले गर्ने पहिलो काम भनेको संस्थागत रुपमा मौलाएको भ्रष्टाचार, विकृति, विसंगतिविरुद्ध काम गर्नेछु । यहाँका शैक्षिक संस्थाहरुको मनपरी, क्यान्सर हस्पिटल आफैंमा क्यान्सर लागेर थलिएको छ, सरकारी हस्पिटलको सेवा र त्यहाँका कर्मचारीको आफ्ना प्राइभेट हस्पिटलहरुसँगको सम्बन्ध र लापारवाहिपन, एक मात्र एएफयू भित्रको जर्जरता र विकृतिलाई हटाउने दोस्रो काम हुनेछ । त्यसै गरी अव्यवस्थित रुपमा छरिएर रहेका सुकुम्बासीहरुका लागि एकीकृत बस्ती निर्माण गरी बसाउने, युवा बेरोजगारीलाई हटाउन वा विदेश पलायनलाई रोक्न कृषिलाई नयाँ मोडलमा विकास गर्ने, धार्मिक आस्था राख्नेहरुको लागि देवघाटको स्तरोन्नति गर्ने, चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको हिसाबले पनि पर्यटन व्यवसायलाई प्रवद्र्धन र विकास गर्ने, नारायणी नदि किनारमा व्यवस्थित तटबन्ध गरेर त्यहाँको किनारमा सुहाउने सम्भवना खोजी गर्ने, महानगरपालिकाको सबै वडालाई छुने गरी रिङरोड निर्माण गर्ने र प्लटिड्डको नाममा उर्वर जमिनलाई सिध्याउने र खण्डिकरण गरी महानगरपालिकालाई जसरी कुरुप बनाउने काम भएको छ त्यसलाई सधैका लागि प्रतिबन्ध लगाउने जस्ता काम हाम्रो सुरुवाती कामहरु हुनेछन् ।
तपाइहरुको दल एउटा राष्ट्रिय दल भएर पनि चुनाव चिह्न नपाएको, किन ?
यो सन्दर्भका कुरा गर्नु पर्दा नेपालमा फेरि अर्को एउटा तानाशाही र फाँसिवादी चरित्र देखा परेको छ । प्रजातान्त्रिक भनिएको व्यवस्थामा राजनीतिक पार्टीलाई निर्वाचन चिन्हबाट बञ्चित गरिनुलाई हामीले नयाँ स्वरुपको फाँसिवाद भनेका छौं । जसरी आफूले जनतामा गरेको प्रतिबद्धताबाट भागेको विषयलाई छोप्नको निम्ति, हामीले उनका सक्कली रुप जनतामा देखाई दिन्छौं भनी आतकिंत भएर हामीलाई स्वतन्त्र हुन बाध्य पारियो । जसले हामीलाई आप्नो कर्तुत छोप्न चुनावबाट बाहिर राख्ने षणयन्त्र गर्यो, त्यसको विरुद्ध हामीले स्वतन्त्रबाट भने पनि निर्वाचनमा जाने निर्णय गरेका छौं । हामीलाई फरक–फरक चुनाव चिन्ह दिएका छन् तर पनि चितवनका जनता सचेत छन्, हाम्रो मत सुरक्षित छ ।
तपाईहरुको चुनाव चिह्न उम्मेद्वारै पिच्छे फरक छ भने, यो छोटो समयमा मतदातालाई कसरी बुझाउनु हुन्छ त ?
हो, षड्यन्त्रपूर्वक ढिलो गरी आएको चुनाव चिन्ह जनताको बिचमा लानको लागि निकै ठूलो चुनौति छ । तर पनि हामी त्यो चुनौतिको सामाना गर्न तयार छौं । जस्तो हाम्रो चुनाव चिन्हहरु दलहरुको चुनाव चिन्ह सकिने बित्तिकै १७ नम्बरको लाइनमा हामीहरुको चुनाव चिन्हहरु छन् । १७ नम्बर भनेको स्वतन्त्र उम्मेद्वारहरुको चुनाव चिन्ह सुरु भएको पहिलो लाईन हो । त्यसमा मेरो चुनाव चिन्ह ब्याडमिन्टनको कक र उप–मेयरको चिन्ह क्याप टोपी छ, त्यसैगरी हामी महानगरपालिकाको १० ओटा वडाहरुमा उम्मेद्वारी दर्ता गराएका छौं । जस अन्तर्गत अध्यक्षको चिन्ह बच्चाको फ्रक, महिला सदस्यहरुको गितार र दलित महिलाहरुको मुला रहेको छ त्यसै गरी खुल्ला तर्फका सदस्यहरुमा सेफ्टी पीन र सियो धागो रहेको छ । यी चुनाव चिन्हहरु लिएर हाम्रा कार्यकर्ता र समर्थकहरु जनताको धरदैलोमा जाने छन् । जसले गर्दा जनताले परिवर्तनकामी शक्ति र यथास्थितिवादीलाई चिनेर आफ्नो मत दिने हुँदा जनताको मतमा ध्रुवीकरण हुने विश्वास हामीले लिएका छौं ।
तपाईको पार्टीले २०७० को दोस्रो संविधानसभाको निर्वाचन त बहिस्कार गरेको थियो तर यो निर्वाचनलाई चाहिं किन उपयोग गर्दै हुनुहुन्छ ?
यो निर्वाचनलाई हामीले क्रान्तिकारी उपयोग गर्ने निर्णय गरेका छौं । २०७० को दोस्रो संविधानसभाको निर्वाचनको जसरी तयारी गरियो त्यो नीतिगत त्रुटीका कारण बहिस्कार गर्यौं । जसरी २०६३ सालमा अन्तरिम संविधान बन्यो त्यो संविधानको बलमा पहिलो संविधानसभाको निर्वाचन भई सके पछि जनपक्षीय मुद्दा उठान गर्दै गर्दा बिना कारण मध्यरातमा विघटन गर्नु र दोस्रो संविधानसभामा निर्दलीय सरकारको नेतृत्वमा निर्वाचनमा जाने निर्णय गरियो । त्यसप्रति हाम्रो घोर आपत्ति थियो त्यसै अनुसार हामीले त्यस निर्वाचन बहिस्कार गरेका हौं । तर यस निर्वाचनको कुरा गर्नु पर्दा यो आम जनताको दैनिकीसँग जोडिएका, जनताको सामान्य भन्दा सामान्य मुद्दा मामिलासँग जोडिएको साथै जनताको विकास निर्माण सँग जोडिएको हुँदा र हामी जनता थियौं र छौं भन्नको लागि हामीले यस निर्वाचनको उपयोग गरेका हौं ।
चितवन सहित केहि जिल्लामा कांग्रेस र माआवादी साथै एमाले र राप्रपा बीचमा निर्वाचन तालमेल भएको विषयलाई कसरी लिनुभएको छ ?
अहिले चुनावलाई लक्षित गरेर विपरीत वर्गहरुको बिचमा र विपरीत एजेण्डा बोक्नेहरुको बिचमा जुन तालमेल भएको छ, यसले के देखाउँछ भने पद र कुर्चीका निम्ति आफ्ना सम्पूर्ण ऐजेण्डालाई तिलाञ्जली दिएर यो अप्राकृतिक र अपवित्र तालमेल भयो भन्ने देखाउँछ । एमालेको बहुदलीय जनवाद र राप्रपाको हिन्दु राज्यसहित राजा फिर्ता गर्ने भन्ने बिच कहाँनेर एकता वा तालमेल छ ? हिजो सर्वहारा वर्गको नेतृत्व हुँ भन्ने माआवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पुँजीवादी व्यवस्थाको नेतृत्व गर्ने काँग्रसका बिचमा कहाँनेर एकता र तालमेल छ ? यसरी यो आफ्ना वर्ग र जनताप्रति भएको धोका र गद्दारी हो । यो तालमेल अपवित्र र अनैतिक नै हो । यो तालमेल सत्ता, स्वार्थ र कुर्सी मोहले मात्र भएको तालमेल हो भन्ने हाम्रो बुझाई छ ।
तपाईहरुको चुनावी प्रचार कसरी गराई रहनु भएको छ ?
खास कुरा के छ भने जनताले माओवादी बिग्रियो भनेर भनेका छन् । माओवादी कांग्रेस सरह भयो भन्ने जनताको बुझाई छ । तर हामी बिग्रिएका छैनौं, प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्रका कार्यकर्ताहरु बिचलित भएका हुन् । हामी जनतास“गै छौं र हामीले जनतास“ग हिजो गरेका बाचाबाट हामी पछाडि हटेका छैनौं भन्ने सन्देश लिगेर हामी जनताको घर दैलोमा गईरहेका छौं । हामीलाई आशा छ, जनताले सहि, गलत छुट्याएर हामीलाई मत दिनेछन् । हामी जनताको पहिलो रोजाइमा पर्छौं ।