जेठबाट सवारीमा ‘इम्बोस्ट नम्बर प्लेट’

जेठबाट सवारीमा ‘इम्बोस्ट नम्बर प्लेट’

७ वैशाख, काठमाडौं । सरकारले सवारी सुरक्षा र व्यवस्थीकरणको निमित्त विभिन्न खालको नियम र प्रविधि ल्याईरहेको बेलामा फेरी जेठबाट सरकारले सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ लगाउने भएको छ । यसको सुरुवातमा सरकारी र कुटनीतिक सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जोड्ने भएको छ । सबै प्राविधिक तयारी सकाएको यातायात ब्यवस्था विभागले सवारी ब्यवस्था नियमावलीमा आवश्यक परिमार्जनका लागि प्रक्रिया अघि बढाएको छ ।
इम्बोस्ड नम्बर प्लेट लागू गर्ने जिम्मा पाएको बंगलादेशी र अमेरिकी संयूक्त कम्पनी डेकाटुर टाइगर आइटीले इम्बोस्ड नम्बर प्लेट छापेर डेमोस्ट्रेशन गरिसकेको छ । विभागको मिनभवनस्थित भवनमा मेसिन र उपकरण ल्याएर छाप्ने कामको सबै तयारी कम्पनीले सकाएको छ । अहिले इम्बोस्ड प्लेटको जडानबारे विभागका कर्मचारीहरुलाई तालिम दिने काम भइरहेको छ ।

यसअघि गत असोजबाटै इम्बोस्ड लागू गर्ने भनिएको थियो । तर, प्राविधिक कारण देखाउँदै विभागले इम्बोस्ड प्लेट बैशाखदेखि वितरण गर्ने जनाएको थियो । प्रक्रियाहरु लक्ष्यअनुरुप नै पुरा भए वैशाखभित्रै वितरण थाल्न समस्या नहुने भट्टराईले बताए ।
यो प्लेट लागू गर्न टाइगर डेकाटुरले भ्याटबाहेक ३८.७५० मिलियन अमेरिकन डलर अर्थात ४ अर्ब ५ करोड रूपैयाँमा ठेक्का पाएको हो ।
इम्बोस्ट प्लेट राख्न छुट्टै दस्तुर तिर्नुपर्छ कि पर्दैन ?
अहिलेको नम्बर प्लेट बदलेर इम्बोस्ड प्लेट राख्न छुट्टटै दस्तुर तिर्नुपर्ने छ । मोटरसाइकलमा दुई हजार सम्म र गाडीमा २५ सय देखि ३ हजारसम्म राजश्व लिनुपर्ने अनुमान गरिएको छ ।

‘कति लिने भनेर औपचारिक निर्णय भने गरिएको छैन, यसबारे अध्ययन गर्न मन्त्रालयका एउटा किमिटी बनेको छ’ महानिर्देशक भट्टराईले भने, ‘लागतका आधारमा मोटरसाइकल र गाडीमा फरक–फरक दस्तुर तोकिनेछ । लागतभन्दा एक रुपैयाँ पनि बढी शुल्क लिइनेछैन ।’ यो इम्बोस्ट नम्बर प्लेटका आयु १० वर्षको हुनेछ ।
के हो इम्बोस्ड ?
अनिवार्य रुपमा सबै सवारीमा राखिने भएकाले यो प्लेट लागू गरेपछि करको दायरामा नआएका सवारीलाई विभागमा पुगेर राजश्व बुझाउन बाध्यता पर्नेछ ।

यसमा धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखिन्छ । इम्बोस्ड नम्बरको अक्षर र अंक प्लेटको सतहभन्दा माथि उठेको हुन्छ । इम्बोस्ड नम्बरप्लेटमा चम्किलो नम्बर हुने भएकाले टाढैबाट पनि सजिलै नम्बर छुट्याउन सकिन्छ । यसमा लेखिएको नम्बरप्लेट उप्काउन र मेट्न नमिल्ने गरी जडान गरिएको हुन्छ ।

विभागका प्रवक्ता टोकराज पाण्डेकाअनुसार नम्बरप्लेटको कुनामा साना सातवटा संकेत अक्षर राखिन्छन्, जसलाई मेसिनले मात्र पढ्न सक्छ । प्लेटको पछाडि ‘बार कोड’समेत समावेश हुन्छ । जसमा कम्पनीको नाम, मिति, संकेत हुन्छ ।

इम्बोस्ड प्रविधिमा चार प्रकारका मात्र नम्बर प्लेट मात्रै कार्यान्वयनमा आउनेछन् । सरकारी सवारीसाधनमा सेतो प्लेटमा रातो अक्षर र अंक तथा निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर र अंक हुनेछन् । कूटनीतिक सवारीसाधनका लागि सेतो प्लेटमा निलो अक्षर र अंक हुनेछ ।

यो प्लेटमा रेडियो फ्रिक्वेन्सी इन्फर्मेसन डिभाइस पनि जोडिएको हुन्छ । यसले सवारीसाधन कहाँ र कुन अवस्थामा छ भन्नेबारे सो डिभाइस निगरानी गर्ने प्रविधियुक्त गेटले नजिकको टावरलाई जानकारी दिने पाण्डेले बताए । प्लेटमा जोडिएको चिप्सलाई मेसिनको सहायताले ‘रिड’ गरी सवारीसाधनको विवरण हेर्न सक्छन् । यो लागू भएपछि देशभर भएका सबै सवारीको विद्युतीय रेकर्ड सरकारसँग हुनेछ ।

सुरक्षामा अब्बल
यो प्लेट बलियो र किफायती हुनेछ । एकपटक जडान गरेपछि निकाल्न मिल्दैन । निकालेमा त्यसलाई काट्नैपर्छ । त्यसैकारण कसैले पनि सवारी चोरी गरेर चलाउन सक्दैन । किनभने यो प्रविधिको नम्बर प्लेट जडान गर्न यातायात कार्यालय पुग्नैपर्छ । साथै भन्सार छलेर ल्याइएका सवारीहरु पनि यो प्रणाली लागू भएपछि फन्दामा पर्नेछन् ।

इम्बोस्ड नम्बर प्लेट जडान भएका सवारीमा विभागले एउटा चीप्सस टाँस्नेछ । त्यो स्टीकरमा सवारीका विस्तृत विवरणहरु राखिन्छन् । संघीयतामा गएपछि पनि सवारी दर्ता प्रणालीलाई यसै स्टीकरमार्फत व्यवस्थित गर्न सकिने विभागले जनाएको छ ।

यो नम्बर प्लेटमा राखिने प्रविधियुक्त चीप्स भित्र पनि सवारी धनी र सवारीका विभिन्न विवरणहरु हुन्छन् । जसका आधारमा प्रहरीले सवारीको डिटेल तुरुन्त लिन सक्छ ।

प्रहरीले हातैमा बोक्ने रिडर मेसिनले इम्बोस्ड नम्बर प्लेटलाई सहजै चेकजाँच गर्न सक्छ । यस्तै शहरका विभिन्न भाग र राजमार्गहरुमा इम्बोस्ड नम्बर प्लेटलाई रिड गर्ने मेसिनसहितको गेट राखिने छ । जसलाई पार गर्ने जुनसुकै सवारीका सबै विवरणलाई मेसिनले रिड गरेर कम्प्युटरमा ‘अटो इन्ट्री’ गर्नेछ । यसबाट कुन सवारी कुन क्षेत्रमा छन् भन्ने थाहा पाउन समय लाग्दैन ।

काठमाडौंमा मात्रै ५ वटा स्थानमा नम्बर प्लेट रिड गर्ने मेसिनसहितको गेट राख्ने विभागको योजना छ । विशेषगरी शहरी क्षेत्रका नाका तथा राजमार्गका विभिन्न ठाउँमा यस्ता मेसिनसहितका गेटहरु जडान हुनेछन् ।

यसैका माध्यमबाट कुन नम्बरको गाडी, कुन समयमा, कुन ठाउँका पुग्यो भन्ने सुचना नम्बर प्लेटकै सहयोगमा प्रहरी र विभागले प्राप्त गर्न सक्छ । यो सुविधाले प्रहरीलाई अपराध नियन्त्रणमा सहयोग गर्ने विभागको विश्वास छ ।