६ वैशाख, सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् । यो मंगलबारसम्ममा सगरमाथा आरोहणका लागि ३९ टिमको ३६५ जनाले आरोहण अनुमति लिएका छन् । यो संख्या अहिलेसम्मकै बढी हो । गत वर्ष यो सिजनसम्म कुल ३४ टिमको २८९ जनाले आरोहणको अनुमति लिएका थिए ।

यो वर्षका सगरमाथा आरोहनका लागि अनुमति लिने क्रम चलिरहेको छ र वैशाख मध्यसम्म अनुमति लिन सकिने भएकाले सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । पर्यटन विभागबाट अनुमति लिएकामध्ये मङ्गलबारसम्ममा ३१ समूहका २९४ जना आरोही सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)को कार्यालय नाम्चेबाट अनुमति लिएर आधार शिविरतर्फ लागेका छन् ।

आरोही काठमाडौँबाट लुक्लासम्म हवाईजहाजमा तथा त्यहाँबाट नाम्चे पुगी एसपीसीसीको कार्यालयबाट अनुमति लिएर आधार शिविरतर्फ जाने गर्दछन् । केही आरोही दोलखाको जिरीहुँदै पैदल तथा सल्लेरीसम्म सडकमार्गबाट भएर त्यहाँबाट आधार शिविरतर्फ जाने गरेका छन् ।

यस वर्ष आरोहीको सङ्ख्या अत्याधिक भएपछि सगरमाथामा ट्राफिक जाम हुने सम्भावना बढेकाले आरोहणका लागि कुशल व्यवस्थापनमा लागेको सगरमाथा आरोही सङ्घका अध्यक्ष आङ छिरिङ शेर्पाले बताए । ‘यस वर्ष आरोहीको सङ्ख्या बढी भएकाले व्यवस्थापनमा विशेष ध्यान दिएका छौँ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार