काठमाडौं । नेपाल र भारतबीच भएका सन्धि–सम्झौता पुनरावलोकनका लागि गठित प्रबुद्ध समूहको तेश्रो बैठक आज काठमाडौंमा सुरु हुँदैछ ।
वैठकमा सन् १९५० को शान्ति तथा मैत्रीसन्धि लगायत अन्य दुईपक्षीय सन्धि सम्झौताको पुनरावलोकनको आवश्यकता बारे छलफल हुने छ ।
राजधानीको एक होटलमा अबको केहीबेरमा बस्ने वैठकमा सन् १९५० को शान्ति तथा मैत्रीसन्धि, जलश्रोतको सहकार्य तथा नेपाल भारत सम्वन्धमा विभिन्न आयामबारे छलफल हुने नेपाली समूहका सदस्य निलाम्वर आचार्यले बताए ।
नेपाल र भारतबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको इतिहासमा दुई देशबीच हालसम्म भएका सन्धि–सम्झौताहरूको पुनरावलोकन गर्दै नयाँ सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ पहिलोपटक कुटनीति तथा दुई देशको सम्बन्धमा गहिरो ज्ञान राख्ने व्यक्तिको संलग्नतामा प्रबुद्ध समुह गठन भएको हो ।
भारतीय पक्षले सन्धि पुनरावलोकनका लागि आफू तयार रहेको भन्दै नेपालले के संशोधन चाहेको प्रस्ताव ल्याउनुपर्ने बताउँदै आएको छ ।
वैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्रविद् डा.भेषबहादुर थापाले गरेका छन् भने भारतीय टोलीको नेतृत्व भारतीय जनता पार्टीका नेता भगत सिंह कोशियारीले गरिरहेका छन् । नेपाल भारत सन्धि पुनरावलोकन सम्वन्धमो काठमाडौं र दिल्लीमा यसअघि दुई पटक वार्ता भईसकेपनि ठोस विषयमा सहमति भएको छैन ।