काठमाडौं । नेपालको एकमात्र क्रान्तिकारी पार्टी नेकपा (क्रान्तिकारी माओवादी) ले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई देशभक्त जनगणतान्त्रिक मोर्चाको नेतृत्वमा वैज्ञानिक ढंगले उपयोग गर्ने निर्णय गरेसँगै सत्तारुढ दल माओवादी केन्द्रमा खैलाबैला मच्चिन थालेको छ ।

क्रान्तिकारी माओवादीले दोश्रो संविधान सभाको निर्वाचनमा जस्तै यसपलिको स्थानीय निर्वाचन पनि वहिष्कार गर्ने र माओवादी विचार बोक्नेहरुको भोट आफ्नो पक्षमा आउने अपेक्षा गरेकोले क्रान्तिकारी माओवादीको यो निर्णयसँगै भोट बाँडिने भयले माकेमा खैलाबैला सुरु भएको हो ।

क्रान्तिकारी माओवादीले निर्वाचन उपयोग गर्ने भएपछि माकेमा रहेका केही नेताहरुले स्थानीय रुपमा क्रान्तिकारी माओवादीसँग तालमेल गर्नुको विकल्प नरहेको निष्कर्ष निकालेका छन् ।

“वैद्यजीहरुपनि चुनावमा उत्रने भएपछि हामीले केही स्थानहरुमा उहाँहरुसँग तालमेल गर्नुको विकल्प छैन,” माकेका एक नेताले मूलबाटोलाई बताए । यदि यसो नगरिएमा माकेले नराम्रो पराजय व्यहोर्ने उनको भनाई थियो ।

तर, क्रान्तिकारी माओवादीले भने नेका, माके, एमाले, राप्रपा लगायतका जनविरोधी शक्तिहरुसँग तालमेल तथा कार्यगत एकता नगर्ने जनाएको छ ।

बरु संसदवादीहरुले निर्वाचनका बारेमा छरेका विभिन्न भ्रमहरुलाई चिरफार गर्ने र उनीहरुका जनविरोधी गतिविधिको भण्डाफोर गर्दै निर्वाचनमा उपस्थिती हुने जनाएको छ ।

चुनावमा भोट बाँडिने त्रास त छँदै छ, क्रान्तिकारी माओवादीले दलाल, नोकरशाह, पूजीपति वर्गको प्रतिनिधित्व गर्ने शक्तिहरुको भण्डाफोर गर्ने नीति अख्तियार गरेकोले पनि माकेका नेताहरुलाई आफूहरु जनताको माझमा नांगिने डरले सताउन थालेको छ ।

क्रान्तिकारी माओवादीले राष्ट्रियता, जनजीविका र जनतन्त्र लगायतका मुद्दाहरुलाई ठीक ढंगले उठान गर्दै आन्दोलन गर्दै आइरहेको स्थितीमा जनताको ठूलो हिस्साले क्रान्तिकारी माओवादीलाई समर्थन गर्ने निश्चित छ ।

यदि यी मुद्दाहरु जनताको माझमा स्थापित गराउन सकियो र संसदवादीहरुको भण्डाफोर गर्न सकियो भने मात्र जनताको ठूलो हिस्सा क्रान्तिकारी माओवादीको पक्षमा देखिने छ ।

यदि यस्तो भएमा संसदवादभित्र डुबुल्की मार्दै देश र जनताको हितविरुद्ध काम गर्न पल्केको माकेका नेताहरु क्रान्तिकारी माओवादीको पुनरागमन पश्चात आफूहरुको अस्तित्व गुम्ने र वैचारिक रुपमा पतन हुने भयले केही नेताहरु पेरिसडाँडा धाउन थालको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर