काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)ले सन् २०२६ मा हुने विश्वकप फुटबलका लागि ६ देशबीच प्लेअफ प्रतियोगिता गराउने प्रस्ताव ल्याएको छ ।
प्ले अफ प्रतियोगिताका उत्कृष्ट २ राष्ट्रलाई विश्वकपमा स्थान दिईने फिफाको योजना छ ।
फिफाले सार्वजनिक गरेको विज्ञप्तिमा ५ महादेशबाट १–१ राष्ट्र र ओसियाना समूहबाट एक राष्ट्र गरी ६ टिमले प्लेअफ प्रतियोगिता खेल्ने उल्लेख छ ।
गत जनवरीमा बसेको फिफाको बैठकले सन् २०२६ को विश्वकपदेखि सहभागी राष्ट्रको संख्या ३२ बाट बढाएर ४८ पुर्याउने निर्णय गरेको थियो । तर कुन महादेशलाई कति स्थान दिने भन्नेबारे अहिलेसम्म कुनै निर्णय भइसकेको छैन ।
सन् २०२६ को विश्वकपमा ४८ राष्ट्र सहभागी हुने भनिए पनि महादेशलाई कति कोटा दिने भन्ने अझै टुंगो लागेको छैन । यही विषय टुंग्याउन फिफाको बैठक मे ९ मा बस्दैछ ।
हाल विश्वकप फुटबलमा अफ्रिकाबाट ५, एसियाबाट ४ वा ५, दक्षिण अमेरिकाबाट ४ वा ५, मध्य तथा उत्तर अमेरिका र क्यारेबीयन समूहबाट ३ वा ४, युरोपबाट १३ र ओसीयाना समूहबाट बढीमा एक राष्ट्र सहभागि हुने गरेका छन् ।