काठमाडौं । केही दिनयता नेकपा (क्रान्तिकारी माओवादी)प्रति चौतर्फी आक्रमण केन्द्रित गरिएको छ । कपोकल्पित र नियोजित रुपमा यस्ता प्रचारहरु भइरहेको पाइएको छ । तथ्यलाई बंग्याएर गोयबल्स शैलीमा क्रान्तिकारी माओवादीका विरुद्ध भ्रामक प्रचार अभियान चलाइएको छ । यसै विषयलाई लिएर नेकपा (क्रान्तिकारी माओवादी)ले एक वक्तव्य नै जारी गरेर यस्ता भ्रामक प्रचारको भ्रममा नपर्न आम पार्टीपंक्ति र जनपंक्तिलाई अपील गरेको छ र झुठा प्रचारको प्रतिवाद गर्न पनि आग्रह गरेको छ । पार्टीका प्रवक्ता हरिभक्त कँडेल‘प्रतीक’ले बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै यस्तो अपील एवम् अग्रह गरेका हुन् ।
यस्तो छ वक्तव्यको पूर्णपाठ :
“केही दिनयता विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जालमा ‘नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (माके) बीच एकता भएको, एकता हुन लागेको, कार्यगत एकता गर्न लागेको’ जस्ता कपोकल्पित र नियोजित भ्रामक समाचार प्रचार भएको प्रति हाम्रो पार्टीको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ । त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी)का पार्टी प्रवक्ता हरिभक्त कँडेल‘प्रतीक’ले “विप्लवलाई जिम्मेवारी दिन र वादललाई चिन्न नसक्नु कमजोरी भएको छ” भनी भन्दैनभनिएको भनाइलाई एक अनलाइनलाई दिएको अन्तर्वार्ता बंग्याएर भ्रामक प्रचार गरिरहेको पाइएकोले त्यसको खण्डन गर्दछ । यस्ता अविश्वसनीय, मिथ्या र आधारहीन समाचार सम्प्रेषण नगर्न पनि सम्बन्धित सञ्चार माध्यमहरुलाई अनुरोध गर्दछ । र, यस्ता गोयबल्स शैलीमा भएका प्रचारको भ्रममा नपर्न आम पार्टीपंक्ति तथा जनपंक्तिलाई आग्रह गर्दै त्यस्ता प्रचारको प्रतिवाद गर्न पनि अपील गर्दछ ।”