आन्तरिक पार्टी जीवनका हिसाबले क्रान्तिकारी माओवादीको पछिल्लो स्थिति कस्तो छ ?
अहिले हामी तीन महिने अभियानमा छौं । अभियान कतै घनिभूत रुपमा चलेको छ, कतै मन्द गतिमा छ । जसरी चलेको भए पनि यस अभियानबाट पार्टी जीवनलाई सक्रिय बनाउने, कार्यकर्तालाई टिमबद्ध परिचालन गर्ने र राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुमा जनतासहितको सहकार्य बढेको छ । हामीले गर्ने कार्यक्रमहरुमा विस्तारै जनसहभागिता बढेर गएको छ । र, हाम्रो पार्टीप्रति विरोधीहरुले फिजाएको भ्रम तोडिदै गएको छ र अभियानले क्रान्तिकारीहरुबीचमा ध्रुवीकरण पनि बढाएको छ ।
ध्रुवीकरण बढाएको कुरा गर्नुभयो तर क्रान्तिकारी माओवादीबाट हुने पलायन त रोक्न सकिएको देखिएन नी ?
क्रान्तिको विजयोन्मुख अवस्थामा पार्टीको नेतृत्वमा रहेका प्रचण्ड–बाबुरामले पलायनको बाटो समातेपछि माओवादी आन्दोलनमा बढेको निराशाको बादल अझै फाटिसकेको छैन । जनताको व्यापक हिस्सामा पनि निराशा छ । यति ठूलो क्रान्ति र बलिदान हुँदा पनि जनताको समस्या हल भएनन् । जनयुद्धको बेला उठाएका मुद्दाहरु ज्युँका त्युँ छन् । नेताहरुले धोका दिए भन्ने जनतामा परिराखेको छ । प्रचण्ड–बाबुरामहरुले धोका दिएकै हुन् । यस्तो परिस्थितिमा संकटहरु बढ्दै जान्छन् । क्रान्तिकारी कित्तामा त्यो संकट बढेको छ । विचारको अन्त्य, शुन्य भएजस्तो स्थिति बनाइएको छ । यसले विचारको मूल्य, मान्यता, आदर्शलाई केन्द्रमा राखेर सोच्ने, दुरगामी भविष्यको चिन्ता गर्ने र रणनीतिक तयारी गर्नेभन्दा मान्छेहरु तत्कालको फाइदा खोज्नतिर लागेका छन् । त्यो रोगले माओवादी आन्दोलनलाई पनि गाँजेको छ । अहिले अधैर्यताको प्रवृत्ति हावी भएको छ । हिजो प्रचण्डहरुको अवसरवादी र संशोधनवादी प्रवृत्तिका विरुद्ध लडेका साथीहरु प्रचण्डहरुकै टाङमुनि छिर्न पुगेका छन् । भेडा भेडासित बाख्रा बाख्रासित हुने रहेछ । अवसरवादले अनुकूल परिस्थिति पाएपछि टाउको उठाउने रहेछ ।
चुनाव नजिकिदै गर्दा दल बदल्नेहरु बढ्न थाले नि ?
संसदवादीहरुलाई चुनाव चाड जस्तै भएको छ । उनीहरुले चुनावलाई रणनीतिक हिसाबले प्रयोग गर्छन् । तर क्रान्तिकारीहरुले यसलाई कार्यनीतिक हिसाबले उपयोग गर्छन् । क्रान्तिको रणनीतिलाई जोडेर चुनावको उपयोग र बहिस्कार दुवै गर्न क्रान्तिकारीहरु तयार रहनु पर्दछ । क्रान्तिकारीहरुले उपयोग गरेको आजसम्मको चुनावले मान्यताहरुलाई स्थापित गर्न सकेन । चुनावलाई उपयोग गर्न गएका नेताहरु नै अवसरवादी भैदिएपछि बुझाइ कस्तो भएको छ भने चुनाव लड्नु पर्छ, लडेपछि जसरी पनि जित्नुपर्छ, जित्ने पार्टी कुन हो भन्दै मान्छेहरु पार्टी चाहार्न थाल्छन् । यो भनेको विचारको शुन्यता हो । तर अहिलेको राजनीतिमा यो मात्रै छैन । सिद्धान्त र विचारलाई केन्द्रमा राखेर सोच्ने, क्रान्तिप्रति चिन्ता गर्ने, क्षणिक र तात्कालिक भन्दा पनि दीर्घकालीन भविष्यको चिन्ता गर्ने, व्यक्तिको भन्दा पनि वर्गको भविष्य खोज्ने पुस्ता पनि छ, व्यक्ति÷पार्टीहरु पनि छन्, उनीहरु क्रान्तिकारी धारामा ध्रुवीकृत हुँदै गएका छन् । यस्ता पार्टी र व्यक्तिहरुको ध्रुवीकरण हाम्रो पार्टीमा बढिरहेको छ । संख्यामा त्यो थोरै भए पनि गुणात्मक हिसाबले त्यो धेरै माथि छ ।
कम्युनिष्ट पार्टीभित्र किन अवसरवाद जन्मिरहन्छ, हुर्किरहन्छ र क्रान्तिकारीहरुमाथि हावी भइरहन्छ ? त्यसलाई वेलैमा किन लगाम लगाउन सकिन्न ?
हो, यो एउटा गम्भीर समीक्षा गर्नुपर्ने विषय भएको छ । कहिं न कहिं कम्युनिष्ट आन्दोलनमा समस्या छ । समस्याको खोजी विचारमै गर्नुपर्छ । अहिलेसम्म हामीले गरेको वैचारिक, राजनीतिक तथा सांगठानिक अभ्यासहरुमा रहेका अपुगताहरुको खोजी गर्न जरुरी छ । आधारभूत रुपमा विचार, नीति, योजना, संगठन र कार्यक्रममा समस्याको समाधान खोज्न आवश्यक छ । तर यो निमिट्यान्न हुने चिज होइन रहेछ । प्रतिक्रियावाद, अवसरवाद र संशोधनवादसँगको निरन्तर संघर्षको बीचबाट नै मालेमावादको विकास हुने रहेछ । क्रान्तिकारीहरुले वैचारिक राजनीतिक चेतना, आन्दोलन, आचरण र धैर्यताले त्यस्तो प्रवृत्तिलाई जित्नुपर्ने रहेछ । स्पष्ट दृष्टिकोण आफ्नो वर्ग, पार्टी, क्रान्तिप्रति दृढतापूर्वक लागेका मान्छेहरुले क्रान्तिमा हुने उतारचढावलाई सजिलै पचाउन सक्छन् । चढाव (बलियो) भएको बेला पनि उनीहरु मात्तिन्नन्, उतार (कमजोर) भएको बेला पनि उनीहरु आत्तिन्नन् । नेपालको कम्युनिष्ट आन्दोलनभित्र निम्न पुँजीवादी अधैर्यता यति धेरै छ कि चढावमा पूरै मात्तिने, उतारमा पूरै आत्तिने, पलायन हुने, छहारी खोज्ने गरेको देखिन्छ । यो प्रवृत्तिलाई निषेध गर्न सकिन्न नियन्त्रण भने गर्नुपर्छ, गर्न सकिन्छ । त्यसका निम्ति विचार संघर्षलाई घनिभूत बनाउन जरुरी छ । र, टिमबद्ध पहल लिएर नै अवसरवादी प्रवृत्तिलाई लगाम लगाउन सकिन्छ । अन्तर्राष्ट्रिय र राष्ट्रिय अभ्यासहरुबाट पनि पाठ सिकेर अगाडि बढुन जरुरी छ ।
माओवादी आन्दोलनभित्र देखारपरेको अवसरवाद र नवसंशोधनवादले नेपालको नयाँँ जनवादी क्रान्तिलाई कत्तिको क्षति पु¥यायो ?
वर्गदुश्मनसँगको लडाइँ एकदम सोझो हुन्छ । त्यहाँ विनामुलाइजा लड्न सकिन्छ । तर आफ्नै बीचका साथीहरु, पार्टीपंक्तिभित्र देखापर्ने जुन अवसरवाद हुन्छ, त्यसका विरुद्धको लडाइँ असाध्यै पेचिलो हुन्छ र असाध्यै गाह«ो ठीक विधि र पद्धतिभित्र रहेर समस्या हल गर्ने बेलासम्म चाहि त्यो लडाइँ मैत्रीपूर्ण नै हुन्छ, तर त्यो रुपमा एउटै कमिटिमा बसेको जस्तो सारमा दुश्मनको काम गरेजस्तो हुँदा अन्तरसंघर्ष र दुईलाइन संघर्षले वर्गसंघर्षको रुप लिन पुग्छ । हामीले यस्ता कष्टसाध्य लडाइँ लडेर क्रान्तिकारी धारालाई बचाएर यहाँसम्म ल्याएका छौं । तर क्रान्तिकारीहरुको आत्मगत अवस्था अहिले कमजोर छ । यसले नेपालको नयाँ जनवादी क्रान्तिलाई भयंकर ठूलो क्षति पु¥याएको छ । कहिलेकाहीं द्वन्द्ववादलाई ठीक ढंगले प्रयोग गर्न नसक्दा व्यक्तिको मूल्यांकन गर्ने सवालमा पनि कतिपय सन्दर्भमा फसेका छौं । ‘प्रचण्डपथ’ भनेर अधिमूल्यन गर्न पुग्यौं । यसले पनि क्रान्तिलाई क्षति पु¥यायो । हामी फेरि क्रान्तिको तयारी गर्नुपर्ने स्थितिमा पुगेका छौं । अब नयाँ ढंगले क्रान्तिको समग्र तयारी गरेर अगाडि बढ्नुको विकल्प छैन ।
अहिले क्रान्तिकारी धाराका विरुद्ध चौतर्फी आक्रमण भइरहेको छ । क्रान्तिकारी धारलाई समाप्त पार्ने प्रयत्न भइरहेको छ । र साम्राज्यवादको चाकडी गर्ने र कुनै न कुनै हिसाबले साम्राज्यवादीको प्यादा बन्ने प्रयासहरु भइरहेका छन् । अहिले प्रतिक्रियावादी क्याम्पमा पनि अन्तर्विरोध चर्किएको छ । सबै मूल्यमान्यताको राजनीति सिद्धिएका छन् । पार्टीहरुभित्र नेतृत्वका कामबारवाहीबाट ठूलो संख्यामा असन्तुष्टी छ । उनीहरु त्यहाँ विद्रोह बोल्न चाहन्छन् तर नेतृत्व नहुँदा विद्रोह गर्न सकिरहेका छैनन् । केही समयपछि यो स्थिति रहन्न । क्रान्तिकारीबीचमा ध्रुवीकरण हुन्छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको मुद्दामा फेरि एउटा ठूलो ध्रुवीकरण हुन्छ । हाम्रो पार्टीले क्रान्तिकारी धारको नेतृत्व गरेको छ । समस्याहरु झन झन विकराल बन्दै जाने, आवश्यकताका हिसाबले चुनौतीपूर्ण संघर्षको खाँचो छ ।
स्थानीय निकायको निर्वाचनलाई उपयोग गर्ने विषयमा पार्टीको धारणा के हो ?
आत्मगत अवस्था कमजोर रहेको अवस्था, तुरुन्तै वर्गसंघर्ष वा विद्रोहको पनि उठान गर्न नसकिने अवस्था, लामोसमयदेखि स्थानीय निकायको निर्वाचन नभएको अवस्था, चुनावबाट समस्याको समाधान हुन्छ कि भन्ने जनतामा पनि भ्रम नै सही मानसिकता बनेको अवस्था, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुमा जनताको सहभागिता बढाउनुपर्ने अवस्थालगायतको स्थितिमाथि ध्यानदिंदा चुनावलाई उपयोग गरेर जानु पर्छ कि भन्ने कोणबाट पार्टीभित्र छलफल चलिरहेको छ । तर त्यसलाई उपयोग गर्दा विगतका जनयुद्धकालीन एजेण्डालाई पनि हामीले जोडदार रुपमा उठाएर वर्गदुश्मनसँग आत्मसमर्पण गर्ने र वर्गसमन्वय प्रवृत्तिका विरुद्ध निर्मम बन्न जरुरी छ । त्यसो गर्दा हामी फेरि क्रान्तिको पहल लिने स्थितिमा पुग्न सक्छौं । जनताले आशा पनि गरेका छन् । हामी वर्गसंघर्षलाई अझ परिपक्व ढंगले लैजान चाहन्छौं ।
भनेपछि स्थानीय निकायको निर्वाचनलाई वर्गसंघर्षको रुपमा उपयोग गर्नुहुन्छ ?
हो, स्थानीय निकायको निर्वाचनलाई वर्गसंघर्षकै रुपमा उपयोग गर्नुपर्दछ । प्रतिक्रियावादी, अवसरवादी र संशोधनवादीहरुको भण्डाफोर गरेर जानुपर्दछ । संविधानको प्रतिगामी चरित्र, जनविरोधी चरित्रको भण्डाफोर, उनीहरुको भनाइ र गराइबीचको अन्तरको भण्डाफोर गरेर जानुपर्दछ ।
थ्रेसहोल्डलाई चाहिं कसरी लिएको छ क्रान्तिकारी माओवादीले ?
थ्रेसहोल्ड सिन्डिकेट राजनीतिको अभिव्यक्ति हो । सिन्डिकेटवालाहरु निरन्तर आफ्नो लुटको स्वर्गलाई कायम राख्न चाहन्छन् । सत्तामा सँधै आफ्नो हालीमुहाली चाहन्छन् । अहिलेको कथित लोकतन्त्र कत्ति नक्कली छ भन्ने कुराको गतिलो उदाहारण नै थ्रेसहोल्ड हो । हामीले यसलाई त्यति ठूलो रुपमा लिएका छैनौं । जे गरे पनि जतिपटक चुनाव गरेपनि चुनावदेखि चुनावसम्मले अहिलेको मुलुकको समस्या कदापि हल गर्न सक्दैन । चुनाव भन्ने चुनावदेखि नै डराउने गरिरहेका छन् कथित लोकतन्त्रवादीहरु । थ्रेसहोल्ड जनताको विरुद्ध छ, जनवादका विरुद्ध छ । संसदवादीहरु प्रजातन्त्रको नाममा यसरी प्रजातन्त्रकै घाँटी निमोठीरहेका छन् ।
तपाईंहरुले स्थानीय निकायको निर्वाचनमा भाग लिने मनस्थिति बनाउँदै गर्दा के कस्ता चुनौतीहरुको सामना गर्नुपर्ने देख्नुहुन्छ ?
चुनावको कुरा गर्दा प्रवृत्तिगत कुरा पनि गर्नुपर्छ । खासगरी तीन खाले प्रवृत्ति देखिन्छ । पहिलो, चुनाव लडेपछि जित्नैपर्छ, जित्नका लागि जे पनि गर्नुपर्छ भन्ने प्रवृत्तिले विचार, सिद्धान्त, नैतिकता, आदर्श, मूल्य, मान्यताहरुलाई ध्वस्त पारिदिन सक्छ । त्यस प्रवृत्तिका विरुद्ध सचेत र सतर्क रहन जरुरी छ । अर्को संसदीय व्यवस्थामा गरिने प्रतिक्रियावादी चुनाव बहिस्कार गर्नुपर्छ, भाग लिनै हुँदैन भन्ने अर्को प्रवृत्तिले ठोस परिस्थितिको ठोस विश्लेषण नगरी रणनीतिको सेवा गर्ने गरी चुनावको उपयोग गर्न सकिन्छ भन्ने कार्यनीतिक स्टेपलाई नमान्ने गर्छ । यो प्रवृत्तिलाई पनि क्रान्तिकारीहरुले सही अर्थमा बुझ्नुपर्दछ । त्यसैगरी अर्को प्रवृत्ति भनेको परिस्थितिको ठोस अध्ययन गरी द्वन्द्वात्मक रुपले सोच्ने हो । परिस्थितिलाई द्वन्द्वात्मक ढंगले बुझ्ने र कार्यनीतिक स्टेप चाल्ने प्रवृत्ति नै वास्तवमा क्रान्तिकारी प्रवृत्ति हो । यही प्रवृत्तिलाई पार्टी र क्रान्तिमा हावी गराउने चुनौती छ ।
चुनाव उपयोग गर्ने भए माकेसँग बहिस्कार गर्ने भए नेकपासँग सहकार्य गरेर जानुपर्छ भन्ने प्रवृत्ति पनि त होला ?
हो , यस्तो प्रवृत्ति पनि छ । अझ एउटै मान्छेले दुईटा कुरा गर्छ । यो भनेको राजनीतिक वितण्डतावादी प्रवृत्ति हो । यी दुवै सोच आपसमा अन्तरविरोधी र मेल नखाने गलत सोच हो । यो प्रवृत्ति राजनीतिक प्रवृत्तिको सोच होइन । यो प्रवृत्ति संसदवादी प्रवृत्ति हो । यी दुवै पार्टी संसदवादी सोच राख्ने पार्टीहरु नै हुन् । हामीले चुनावमा भाग लिने भनेको क्रान्तिकारी तरिकाले उपयोग गर्ने कुरा हो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरु यो चुनावबाट समाधान हुन सक्दैनन्, त्यसका लागि नयाँ जनवादी क्रान्तिकै आवश्यकता पर्दछ भन्ने कुरा जनतालाई बुझाउन सक्नु पर्दछ । चुनावदेखि चुनावसम्मबाट नेपालमा नयाँ जनवादी सत्ताको स्थापना अर्थात् जनताको गणतन्त्र स्थापना सम्भव छैन । त्यसका लागि क्रान्ति अनिवार्य छ । असफल भइसकेको संसदीय व्यवस्थालाई प्रचण्डले बचाउन सक्दैनन् ।