काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले स्थानीय तहको निवार्चानसम्बन्धी निर्णय लिन बोलाएको केन्द्रीय समितिको विस्तारित बैठक मंगलबार सकिदैछ । दुई दिनका लागि बोलाइएको बैठकको पहिलो दिन सोमबार पार्टी अध्यक्ष मोहन वैद्य‘किरण’ले पाँच पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । दिउसो १ बजेबाट सुरु भएको बैठकको संचालन पार्टीका बरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले गर्नुभएको छ । ६ वटा समूह बनाएर अध्यक्षले बैठकमा प्रस्तुत गरेको प्रतिबेदनमाथि छलफल जारी रहेको पार्टी प्रवक्ता हरिभक्त कँडेलले मूलबाटोलाई जानकारी दिनुभयो ।
तात्कालिक राजनीतिक परिस्थिति, पार्टी कामको सामान्य समीक्षा, स्थानीय निर्वाचनबारे र आगामी पार्टी कामबारे गरी चार उपशिर्षकमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफलमा उठेका विषयहरु समूह नेताले प्रस्तुत गर्ने र अध्यक्ष किरणले उठेका विषयहरुलाई स्पष्ट पारेपछि बैठक सकिने पनि प्रवक्ता कँडेलले बताउनु भयो ।
बैठकले स्थानीय तहको निर्वाचनलाई क्रान्तिकारी तरिकाले उपयोग गरेर जाने निर्णय लिनसक्ने तर्फ पनि नेता कँडेलले संकेत गर्नुभयो । स्थानीय निर्वाचन प्रदेशको मातहतमा गरिने भनिएकोमा सो नगरिएको, विशेष, संरक्षित तथा स्वायत्त क्षेत्रहरुको व्यवस्था भई नसकेको, पहिचानसहितको संघीयतातर्फ पनि ध्यान नदिइएको, श्रमिक वर्ग तथा उत्पीडित जनसमुदायका हक अधिकार सुनिश्चित भै नसकेको स्थितिमा स्थानीय निर्वाचनको औचित्य नरहेको पार्टीको विश्लेषण रहेको पनि नेता कँडेलले बताउनु भयो ।
स्थानीय निर्वाचन जनताका अत्यावश्यक तथा दैनिक कामहरुको व्यवस्थापनसित जोडिएको, अहिले उभारको अवस्था नरहेको, क्रान्तिको तयारीका लागि जनाधार तयार पार्न आवश्यक बन्न गएको, जनताको एउटा ठूलो हिस्सामा निर्वाचनप्रति चासो देखिएको र सत्ता तथा व्यवस्थाको विरोध एवम् भण्डाफोर गर्ने एउटा उपयुक्त माध्यम हुने भएकोले स्थानीय तहको निर्वाचन पार्टीको नभई मोर्चाको नेतृत्वमा उपयोग गरेर जानुपर्छ भन्ने बहस पनि पार्टीभित्र चलेको नेता कँडेलले बताउनु भयो ।
आम क्रान्तिकारी जनपंक्तिले क्रान्तिकारी माओवादीको यो विस्तारित बैठक र यसले गर्ने निर्णयलाई निकै उत्सुकतापूर्वक हेरिरहेका छन् । नेपालको कम्युनिष्ट आन्दोलन तथा माओवादी आन्दोलनमा बँचेको एकमात्र क्रान्तिकारी राजनीतिक पार्टी भएकोले पनि यो पार्टीले गर्ने निर्णयले नेपालको नयाँ जनवादी क्रान्तिको राजनीतिक रणनीतिलाई प्रभावित तुल्याउने हुँदा यो पार्टी र क्रान्तिप्रति सहानभूति र समर्थन गर्ने जनपंक्तिले रणनीतिको सेवा गर्ने खालको कार्यनीतिक स्टेप चालोस् भन्ने अपेक्षा गरेको देखिन्छ । यो क्रान्तिकारी धारालाई सिध्याउन खोज्ने देशी विदेशी प्रतिक्रियावादी वर्गले पनि निकै नजिकबाट महत्व दिएर यो बैठकलाई हेरेको देखिन्छ ।