प्रधानमन्त्री प्रचण्डको निष्कर्षः चुनाव नहुने तर हुन्छ भन्न नछाड्ने

प्रधानमन्त्री प्रचण्डको निष्कर्षः चुनाव नहुने तर हुन्छ भन्न नछाड्ने

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड आफ्नै नेतृत्वको सरकारले घोषणा गरेको स्थानीय निर्वाचन कुनै हालतमा नहुने निष्कर्षमा पुगेका छन् । पार्टीको उच्च श्रोतका अनुसार वैशाख ३१ गते हुने भनिएको चुनाव नहुने निश्चित प्रायः भएपनि चुनाव हुदैन भनेर भन्न नहुने भन्दै पार्टीका नेता कार्यकर्ताहरुलाई त्यही अनुसार जनतामा प्रस्तुत हुन निर्देशन दिएका छन् ।

“चुनाव त कुनै हालतमा हुदैन, तर हुन्न भन्न छाड्नु हुदैन” प्रधानमन्त्रीको भनाई उदृत गर्दै पार्टीका एक नेताले नाम नबताउने सर्तमा मूलबाटोसँग भने । “आफैले घोषणा गरेको चुनाव हुँदैन भन्दा जनतामा पार्टीप्रतिको धारणा नराम्रो पर्न जान्छ” उनको तर्क थियो ।
चुनाव नभएपछि मधेशी पार्टीहरुलाई सो को दोष जाने र आफु त्यो दोषबाट पन्छिने प्रधानमन्त्री प्रचण्डले आफु निकट नेताहरुलाई बताउने गरेका छन् । “पहिलो संविधान सभाको निर्वाचनबाट संसदमा प्रथम स्थान हासिल गरेको पार्टी दुई बर्षको अन्तरालमै दोश्रो संविधान सभाको निर्वाचनबाट तेश्रो स्थानमा आइपुग्यौं, यदि अब चुनाव भयो भने हाम्रो अस्तित्व नै गुम्ने खतरा छ,” ती नेताले मूलबाटोसँग भने ।

जनताको एमालेप्रतिको झुकाव बढ्दै गएको कारण पनि प्रचण्ड आफैले घोषणा गरेको चुनाव नगराउने मनसायमा पुगेका छन् । श्रोतका अनुसार गत बर्ष भारतको नाकाबन्दीको समयमा तत्कालीन प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली भारतसमक्ष नझुकी राष्ट्रियताको प्रश्नलाई दह्रोसँग पक्डिएपछि जनता एमालेप्रति आकर्षित हुँदै गएकोले आफ्नो अस्तित्व गुम्ने र एमालेको आगमन हुने भयले पनि प्रचण्डले चुनाव नगराउने मनस्थिती बनाएका हुन् ।

मधेशवादी दलहरुले संविधान संशोधन नगरी घोषणा गरिएको चुनावमा उपस्थिती नजनाउने अडानका कारण पनि प्रचण्डलाई चुनाव नहुने र नगराउने मनसायमा पुग्न बल गरेको छ । चुनाव नभएपछि मधेशी पार्टीहरुका कारण चुनाव हुन दिइएन भनेर सिधै पन्छिन पाइने भएकाले पनि प्रचण्डले मधेशवादी दलहरुको माग सम्बोधन गर्छु भन्दै टार्दै आएको माओवादी केन्द्रका नेताहरु बताउँछन् ।

एमालेको चुनाव हुनैपर्छ भन्ने अडान र मधेशवादीहरुको संविधान संशोधन नभएसम्म चुनावमा नजाने दुई अतिको फाइदा प्रचण्डले लिने श्रोतको दाबी छ । तर यी दुईबीचको अतिमा प्रधानमन्त्री प्रचण्डले चतुर्याई गर्न सकेनन् भने आफ्नो लगायत सिंगो माओवादी केन्द्रको अस्तित्व धरापमा पर्ने डर भने माओवादी नेताहरुमा छ ।

यसैबीच मधेशवादी दलहरुले मधेशका केही जिल्लाहरुमा चुनाव हुन नदिने निष्कर्षमा पुगेको देखिन्छ । तर प्रधानमन्त्री प्रचण्डले भने मधेशका केही जिल्लाहरुमा निर्वाचन थाँती राखेर पहाडी जिल्लाहरुमा मात्र चुनाव गराउनु पर्छ भन्दै आएको पनि श्रोतले बतायो । यदि यसो भयो भने सिंगो नेपालबाट मधेश राज्य अलग्याउने भारतीय शासकवर्गको सदियौंदेखिको चाहना पुरा हुन सक्ने राजनीतिक विश्लेषकहरुको ठहर छ ।