काठमाडौं । आगामी बैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनबारे निर्णय लिनका लागि नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको बैठक बस्दैछ ।
सोमबारदेखि पुरानो बानेश्वरस्थित ओमशान्ति पार्टी प्यालेसमा बस्ने विस्तारित बैठकले स्थानीय तह निर्वाचन बहिस्कार गर्ने वा उपयोग गर्ने भन्नेबारेमा निर्णय लिनेछ ।
बैठकमा केन्द्रीय सल्लाहकार, पार्टीका जिल्ला सचिव/संयोजक, जबस मोर्चाका केन्द्रीय अध्यक्ष/संयोजकसम्मले सहभागिता जनाउने छन् ।
बैठकमा निर्वाचनलाई उपयोग या बहिस्कार के गर्दा पार्टी र क्रान्तिलाई फाइदा हुन्छ भन्नेबारेमा उचित निर्णय लिइने जनाइएको छ ।
यसैगरी नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको केन्द्रीय समितिको बैठक पनि पार्टी केन्द्रीय समितिको बैठक लगत्तै १६ गते बस्ने भएको छ ।